६ चैत्र २०८० मंगलबार
राजनीति

भारतको सकारात्मक धारणाकै कारण हामी अहिले यहाँ छौँः प्रचण्ड

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालमा चलेको दशवर्षे जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याउनका लागि भारतको सकारात्मक धारणा भएका कारणले सम्भव भएको बताएका छन्।

सोमबार नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रेद्वारा लिखित पुस्तक ‘काठमाण्डू डिलेमा : रिसेटिङ इन्डिया–नेपाल टाइज’को सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भारतको सकारात्मक धारण नभइदिएको भए माओवादी वा तत्कालीन सात दलको मात्रै चाहानले मात्रै शान्ति प्रक्रियामा आउन सम्भव नहुने बताए।

‘नेपालको राजनीतिक शक्तिहरु, लोकतान्त्रिक राजनीतिक शक्तिहरु र हाम्रा छिमेकीहरु यो प्रक्रिया अगाडि आओस् भन्ने सहयोगको भावना नभएको भएपनि हामीले माओवादीले चाहेर मात्रै पनि यो ठाउँमा आउन सकिदैनथ्यो त्यो कुरापनि म सिन्सियर्ली राख्न चाहान्छु,' उनले भने, 'त्यो माओवादीले मात्रै चाहेर या त्यतिबेलामा सात राजनीतिक दलले मात्रै चाहेर मात्रै पनि त्यो सबै सहज ढंगले सम्पन्न हुन सक्दैनथ्यो। हाम्रा छिमेकीहरुको, अझ त्यसमा भारतको सकारात्मक धारणा हुनैपथ्र्यो, भयो। त्यसकारण हामी अहिले यहाँ छौँ।’

यस्तै, अध्यक्ष प्रचण्डले नेपाल हालसम्म स्वतन्त्र राष्ट्रको रुपमा रहेको उल्लेख गर्दै नेपालको स्वतन्त्रता र सार्वभौमिकताको भारत सरकारले सम्मान गर्नुपर्ने बताए। उनले भारतीय प्रधानमन्त्रीले संविधान सभामा आएर नेपाल स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो भन्दा नेपालका सांसदहरुले तालि बजाएको कुरालाई स्मरण गर्दै उनले नेपाल स्वतन्त्र राष्ट्र हो भन्दा तालि बजाउनेहरुलाई तालि बजाइरहने बनाउन पनि उनले आग्रह गरे। नेपाल भारत सीमा समस्या रहेको उल्लेख गर्दै उनले सीमा समस्यालाई सम्वादको माध्यमबाट समाधान गर्न सकिने तर्क गरे।

उनले नेपालको राष्ट्रिय स्वार्थमा भारतले बाधा नपुर्‍याएमा भारतसँग मित्रता हुने पनि बताए। नेपाल र भारतले एक अर्काको राष्ट्रिय स्वार्थमा बाधा नपुर्‍याई सहयोग गर्ने प्रक्रियाको सुरुवात गरेमा दुई देशबीचको सम्बन्ध सुदृढ हुने उल्लेख गरे।

अध्यक्ष प्रचण्डले माओवादी जनयुद्ध भारतको सहयोगमा भएको भन्ने प्रचारबाजी झुठो भएको पनि उल्लेख गरे। माओवादी जनयुद्धलाई भारतको कुनैपनि प्रकारको सहयोग नरहेको उनले स्पष्ट पारे।

प्रकाशित: ८ कार्तिक २०७८ १२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App