१५ चैत्र २०८० बिहीबार
राजनीति

सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता

नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच वार्ता भएको छ। २०७७ फागुन २० गते भएको तीनबुँदे सहमति कार्यान्वयनबारे गृहमनत्रालयका छलफल भएको हो।  

छलफलमा दुवै पक्षले तथ्यांक संकलन गरी ‘भेरिफाइ’गर्ने र कानुनसम्मत नेकपाका विभिन्न घटनामा पक्राउ परेका बन्दीहरूलाई रिहाइ गर्ने तथा मुद्दा फिर्तालाई अगाडि बढाउन दुवै पक्ष सहमत भएका छन्।  

बैठकमा सरकारका तर्फबाट गृहमन्त्री खाण, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू र महान्यायाधिवक्ता खम्मबहादुर खाती तथा नेकपाको तर्फबाट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागी थिए।  

महान्यायाधिवक्ता खातीले विभिन्न स्थानमा रहेका कानुनसम्मत फिर्ता लिनमिल्ने मुद्दा फिर्ता लिने र कैदीबन्दीलाई रिहाइ गर्ने विषय सकारात्मक रूपमा अघि बढेको जानकारी दिए। खातीले आजको छलफलमा नेकपाले पार्टीका विभिन्न जेलमा रहेका कैदीबन्दी र मुद्दाको सूची सरकारालाई जानकारी गराउने बताएको पनि उल्लेख गरे।

बैठकमा नेकपाका तर्फबाट आफूहरू अब संविधान र कानुन बमोजिम पार्टीको संगठन निर्माणमा जुट्ने र त्यसमा सहयोग गर्न सरकारलाई आग्रह भएको महान्यायाधिवक्ता खातीले बताए। नेकपाका प्रवक्ता प्रकाण्डले बैठक सकारात्मक रूपमा अघि बढेको र केही दिनमै नतिजा निस्कने जानकारी दिए।

यसअघि कात्तिक २ गते गृहमन्त्री खाणको पहलमा नेकपा र नेपाल सरकारबीच तीनबुँदे सहमति कार्यान्वयनका सन्दर्भमा छलफल भएको थियो।  

०७७ फागुन २० गते सरकारका तर्फबाट वार्ता टोलीका संयोजक तत्कालिन गृहमन्त्री रामबहादुर थापा र सदस्य तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई तथा नेकपाको तर्फबाट वार्ता टोलीका संयोजक पार्टी प्रवक्ता प्रकाण्ड र सदस्य पार्टी केन्द्रीय समिति सदस्य दिपकले तीनबुँदे सहमतिमा हस्ताक्षर गरेका थिए।

प्रकाशित: ७ कार्तिक २०७८ १४:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App