८ वैशाख २०८१ शनिबार
राजनीति

लोकतान्त्रिक गठबन्धनले देशलाई ठूलो दुर्घटनाबाट बचाएको होः उपेन्द्र यादव

जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष एवम् लोकतान्त्रिक गठबन्धनका नेता उपेन्द्र यादवले लोकतान्त्रिक गठबन्धनले देशलाई ठूलो दुर्घटनाबाट बचाएको बताएका छन्।

रौतहटको सुकदेव चौकमा शनिवार आयोजित बृहद् पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले वर्तमान लोकतान्त्रिक गठबन्धनले देशलाई ठूलो दुर्घटनाबाट बचाएको बताएका छन्।

लोकतान्त्रिक संघीय गणतन्त्रलाई कमजोर बनाउने, समावेशीतालाई कमजोर बनाउने, संसदलाई कमजोर बनाउने, संवैधानिक निकायलाई कब्जा गर्ने, निर्वाचन आयोगलाई कब्जा गरी स्वेच्छाचारी ढंगबाट शासन चलाउने केपी शर्मा ओलीको कुत्सित मानसिकतालाई विफल पार्दै अहिलेको लोकतान्त्रिक गठबन्धनले सरकार गठन गरेर देशलाई ठूलो दुर्घटनाबाट बचाएको स्पष्ट पारेका छन्।

संघीय शासन व्यवस्थालाई नै धरापमा पार्ने षड्यन्त्र केपी शर्मा ओलीले गरेको र उक्त षड्यन्त्रलाई लोकतान्त्रिक गठबन्धनले चिरेर संसदलाई जोगाई संस्थागत बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउँदै देशको संघीय लोकतन्त्रलाई बचाउनु वर्तमान लोकतान्त्रिक गठबन्धनको दायित्व भएको बताएका छन्।

महन्थ ठाकुर पक्षको कडा आलोचना गर्दै नेता यादवले जसपा नेपालको नेतृत्वमा सरकार गठन गर्ने पहल गरी महन्थ ठाकुरलाई पिएम बनाउने अभियानमा लाग्दा उनलाई केपी ओलीको पिएन बन्नु मन लागेको कारण ठाकुर एण्ड कटम्पनी घरको न घाटको बनेको आरोप लगाएका छन्। प्रतिगमनको मतियार बनेका ठाकुरजी मधेशको मागलाई वेवास्ता गर्दै ओलीको काँखमा गएर बसेको आरोप पनि नेता यादवले लगाएका छन्।

मुलुकको शासकीय स्वरुपलाई परिवर्तन गर्नु नितान्त आवश्यक रहेको बताउँदै सिधै जनताबाट निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली हुनुपर्ने र सांसदहरुको काम नीति नियम बनाउने व्यवस्था कायम गर्नुपर्नेमा नेता यादवले जोड दिएका छन्। अहिलेको निर्वाचन प्रणाली खर्चिलो एवं भड्किलो भएको हुँदा समानुपातिक प्रणालीबाट संसदको निर्वाचन भए कसैको रकम खर्च पनि नहुने जनता पनि ठगिने नेता यादवको भनाइ छ। अहिले जुनसुकै तहको निर्वाचन हुँदा लाखौं करोडौ खर्च गर्ने परिपाटी हावी रहँदा खसी, कुखुरासहित मदिरा भट्टीहरुको विगविगी बढ्ने भएको हुँदा निर्वाचन प्रणालीलाई परिवर्तन गर्दै समानुपातिक बनाउनु पर्ने कुरा नेता यादवले दोहोर्‍याएका छन्।

किसानलाई व्यवस्थित एवं बजारीकरण गर्न आधुनिक कृषि प्रणाली माथि जोड दिँदै उनीहरुको उत्पादनको बजारीकरण भएमा मात्रै किसानको हित हुने तथा उनीहरु कृषि पेशाबाट विस्थापित हुने अवस्था आउने छैनन्। ७० लाख युवायुवतीहरु राेजिरोटीको तलासमा कतार, मलेशिया, दुवई लगायतका मुलुकहरुमा रहेको हुँदा उनीहरुलाई स्वदेशमै रोजगारीको व्यवस्थापन गर्दा विदेसिनु पर्ने अवस्था आउने छैनन्। उनीहरुलाई राजगारीका लागि कृषिको आधुनिकीकरण, पर्यटनको विकास, उद्योग कलकारखानाको स्थापना गर्नुपर्ने तर्फ सबै दलको ध्यान केन्द्रित हुनुपर्ने नेता यादवको भनाइ छ।

शिक्षामा आमुल परिवर्तन गरी सबैको लागि एउटै शिक्षाको व्यवस्थापन, समुचित स्वास्थ्यको अवधारणा जस्ता कार्यहरु भएमा राम्रो जनशक्ति उत्पादन भई मुलुक समृद्ध एवं सुखी बन्ने नेता यादवको धारणा रहेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले परम्परागत पार्टीबाट हुने गरेको भेदभाव, छुवाछुतबाट जोगिने एक मात्र दल जसपा नेपाल रहेको बताउँदै पार्टी संगठनलाई बलियो बनाएर मधेशको नाममा विभिन्न पार्टीहरु रहेको हुँदा गोलबन्द बनाउनु पर्नेमा जोड दिएका छन्। केन्द्रीकृत एकात्मक राज्य प्रणालीको महत्वाकाँक्षाबाट प्रदेश २ को जनताहरु पीडित बन्दै गएको बताउँदै मुख्यमन्त्री राउतले ओली मात्रै प्रतिगामी नभई उनलाई साथ दिने लोसपा पनि प्रतिगामी रहेको टिप्पणी गरेका छन्।

प्रदेश सरकारको प्रमुख प्राथमिकता सामाजिक रुपान्तरणलाई बढावा दिई लोकप्रिय कार्यक्रम बेटी बचाउ बेटी पढाउ कार्यक्रमबाट प्रतिगामीहरु आत्तिएर विभिन्न षड्यन्त्र गरी कार्यक्रमलाई बिफल पार्ने अभियानमा जुटेको हुँदा त्यस्ता षड्यन्त्रलाई पर्दाफास गरेर जनता समक्ष नंग्याउनुपर्नेमा मुख्यमन्त्री राउतले जोड दिएका छन्।

कार्यक्रममा संघीय मन्त्री रेणु यादव, राजेन्द्र श्रेष्ठ, प्रदेश २ का विकास एवं योजना प्रमुख शेख अब्दुल कलाम, गोविन्द चौधरी, इष्तियाहक राई लगायतका नेताहरुले सम्बोधन गरेका थिए। विभिन्न पार्टी परित्याग गरेर जसपा प्रवेश गरेका ५ सय भन्दा बढी कार्यकर्ताहरुलाई पार्टीको सदस्यता प्रदान गरिएको नेता वृजकिशोर यादवले जानकारी गराएका छन्।

प्रकाशित: ६ कार्तिक २०७८ १४:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App