१६ चैत्र २०८० शुक्रबार
राजनीति

जंगलमा यत्रतत्र छरिएका काठको उचित व्यवस्थापन हुन्छः मन्त्री हमाल

पत्रकार भेटघाटमा बोल्दै लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमाल। तस्बिरः नागरिक

लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमालले जंगलमा यत्रतत्र छरिएर रहेका काठको उचित व्यवस्थापन गरिने बताएका छन्। नेपाल प्रेस युनियन बाँकेले शनिबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले जंगलभित्र सढे गलेका काठको व्यवस्थापन नहुँदा राज्यले ठूलो नोक्सानी बेहोर्नु परिरहेको बताए।

‘प्रदेशका १२ वटै जिल्लामा काठ जुन रुपमा यत्रतत्र छरिएका छन्, त्यो काठहरु व्यवस्थापन गर्न जति हामीले ढिला गर्छौ, त्यति राज्यको लागि नोक्सानदायी हुन्छ, त्यसले राज्यलाई फाइदा गर्दैन,’ मन्त्री हमालले भने। काठको व्यवस्थापन नहुँदा त्यसै कुहिएर जाने र त्यसबाट राज्यले आर्थिक रुपमा ठूलो नोक्सानी बेहोर्नुपर्ने हुँदा चाडो व्यवस्थापन गर्नका लागि मन्त्रालयले प्रक्रिया अगाडि बढाउने बताए।  

प्रदेशका विभिन्न जिल्लामा सामुदायिक वन र डिभिजन वन कार्यालयले काटेर घाटगद्दी गरेका काठ वर्षौ भइसक्दा पनि उचित व्यवस्थापन हुन सकेको छैन। समयमा काठ बिक्री, वितरण नहुँदा गुणस्तर खस्किनुका साथै कुहिएर जाने अवस्था रहेको देखिन्छ। मन्त्री हमालले काठको व्यवस्थापन गर्न आफूले १२ वटै जिल्लाबाट यसको तथ्यांक संकलन गर्न निर्देशन दिइसकेको बताए। प्रदेश सरकारले खाली रहेको जमिनमा वृक्षारोपन गर्ने योजना बनाएको पनि जानकारी दिए।

मन्त्रालयले वातावरण र भू संरक्षण गर्नका लागि धेरै काम गर्ने सोच बनाएको हमालले बताए। वृक्षारोपन गर्दा एकातिर हरियाली हुने र अर्कोतिर वातावरण संरक्षणमा टेवा पुग्ने उनको विश्वास छ। नेपालगन्ज–कोहलपुर, तुलसीपुर–घोराही र भैरहवा–बुटवलको सडक खण्डको बीच भागलाई हरियाली क्षेत्र बनाउने विषयमा आफूले छलफल र समन्वय गरिरहेको जानकारी दिए।

‘त्यसमा सुझाव लिइरहेको छु, हामीले एक/दुई महिनाको रुख लगाउने होइन, कम्तिमा पनि ५/७ फिट अग्लो रुख लगाउने हो, वयस्क रुखहरु रोप्ने हो,’ उनले भने, ‘खर्च लगभग त्यस्तै होला, एक/दुई महिनाको रुख लगायौं भने त्यसलाई संरक्षण गर्नका लागि कम्तिमा पनि दुई लाग्छ, तर ठूलो रुख यदी हामीले लगायौं भने तीन/चार महिनाको संरक्षणले २० महिनाको संरक्षणको खर्चलाई हामीले बचाएर हामी शत प्रतिशत उपलब्धि हासिल गर्न सक्छौं।’

प्रदेशभित्र भू संरक्षण अन्तर्गत नदी कटान, बाढी पहिरो नियन्त्रण गर्न खालका योजना बनाउन आफू छलफलमै रहेको मन्त्री हमालले बताए। अविरल रुपमा आएको वर्षाले किसानको धान बालीमा ठूलो क्षति पुर्‍याएकोमा लुम्बिनी प्रदेश सरकार चिन्तित भएको भन्दै उनले किसानलाई प्रदेश सरकारले अवश्य पनि राहत उपलब्ध गराउने बताए।

‘किसान दाजुभाई, दिदी बहिनीले मेहेनत गरेको धान काटेर घर भित्र्याउने क्रममा हुँदा वर्षाले क्षति गरिदिएको छ, प्रदेशको एउटा मन्त्री भएको नाताले म विश्वास दिलाउन चाहन्छु, प्रदेश सरकारले खुला हृदयका साथ सहयोग पुर्‍याउनेछ,’ उनले भने।

प्रकाशित: ६ कार्तिक २०७८ १३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App