१९ मंसिर २०७८ आइतबार
राजनीति

बर्खास्तमा परेका सिलवालकाे प्रश्नः कुलमानको भन्दा अब्बल कार्य सम्पादन गर्ने म कसरी असक्षम?

हालसालै मात्र बर्खास्तमा परेका राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले आफूलाई अपमानजनक ढंगबाट बर्खास्त गरेको गुनासो गरेका छन्। उच्च शिक्षालय तथा माद्यमिक विद्यालय संघ नेपाल (हिसान) गण्डकी प्रदेश समितिको प्रथम साधारण सभा तथा अधिवेशनको उद्घाटन सत्रमा बोल्दै हिसानका केन्द्रीय अध्यक्षसमेत रहेका बर्खास्तमा परेका निवर्तमान राखेप सदस्य सचिव सिलवालले आफूले राम्रो गर्दागर्दै आफूलाई अपमानजनक ढंगले बर्खास्त गरेको गुनासो गरेका हुन्।

उनले सामाजिक सञ्जालमा देशभरको समर्थन र वाहवाही पाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भन्दा आफ्नो कार्य सम्पादन क्षमता अब्बल रहेको दाबी गरे। कुलमानको कार्यसम्पादन क्षमता ७९ प्रतिशत रहेको बताउँदै उनले भने, ‘मेरो कार्य सम्पादन क्षमता अघिल्लो कार्यकालमा ९५ प्रतिशत र दोश्रो कार्यकालमा ९६ प्रतिशत थियो।’ उनले कयौं सदस्य सचिव हुँदा नबनेको पोखरा रंगशाला आफू सदस्य सचिव भएको बेला ३ महिनामा नै बनाएको दाबी गरे।

सिलवालले कुनै पनि मान्छेलाई अपमानजनक ढंगले बर्खास्त गर्ने अधिकार कसैलाई पनि नभएको बताए। आफूलाई गल्ती, कमजोरी नगरिकन नै कारबाही गरिएको प्रति आक्रोस पोख्दै उनले गल्ती कमजोरी गरेकालाई भने कारबाही नभएको बताए। ‘सरकार गठन भएको ८८ दिनमा मन्त्रीमण्डल गठन भो। ३ महिनामा ३.६ प्रतिशत विकास बजेट खर्च भो। त्यस्तो कार्य क्षमतालाई चाहिं के सजाय दिने?’ उनले भने।

सिलवालले आफूलाई सम्मान गर्ने हो भने अर्कोलाई पनि सम्मान दिइनुपर्ने तर अरुलाई अपमान गरेर आफूलाई सम्मान गर भनेर सम्मान नपाइने बताए। उनले आफूले गल्ती, कमजोरी गरेको भए स्वीकार्ने भएपनि त्यस्तो गल्ती, कमजोरी नगरेकाले बर्खास्त गर्ने निर्णयको प्रतिवाद गर्ने बताए। तर के गर्ने भन्नेबारेमा उनले केही पनि खुलाएनन्।

सिलवालले आफूलाई कारबाही नगरी राजीनामा दिन आग्रह गरेको भए तत्काल राजीनामा दिने मनस्थितिमा आफू रहेको बताए। तर प्रत्यक्ष भेट्दा केही पनि नभनेको तर एक्कासी ‘तपाईंको कार्य सम्पादन कमजोर भएकाले बर्खास्त गरियो’ भनेर चिठी पाउँदा आफू आश्चर्यमा परेको उनको भनाई छ।

‘पोलिटिकल सिनारियो चेञ्ज भयो, अब हाम्रो सरकारलाई सहयोग गर्दिनुस, राजीनामा दिनूस् भनेको भए म पनि राजनीति बुझेको मान्छे हुँ, तत्कालै राजीनामा दिन्थेँ, तर त्यो मौका पनि नदिई एक्कासी बर्खास्त गरियो भनेर अपमानजनक ढंगले निकालियो’, उनले भने। उनले आफ्नो कार्य सम्पादन क्षमता कमजोर भयो कि भएन भनेर मूल्यांकन गर्न पाउनुपर्ने भन्दै त्यो काम प्रतिष्ठाका लागि भएपनि गर्ने बताए। उनले आरोप लगाउनेले सत्यता पनि पत्ता लगाउनु पर्ने बताए।

प्रकाशित: ६ कार्तिक २०७८ १७:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App