८ वैशाख २०८१ शनिबार
राजनीति

‘मान–सम्मानको लागि मन्त्री त्यागेँ’ : गजेन्द्र हमाल

पूर्व उद्योग तथा वाणिज्यमन्त्री एवम् नेपाली कांग्रेसका नेता गजेन्द्र हमालले पदभन्दा मान–सम्मान ठूलो भएकाले मन्त्री पद त्यागेको बताएका छन्। गृहनगर नेपालगन्ज आइपुगेका हमालले बुधबार नेपाली कांग्रेस बाँकेको कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै आफूले स्वविवेकले नै मन्त्री पद त्यागेको स्पष्ट पारे।  

‘मैले मन्त्री पद पाए, जुन हिसाबमा मैले मन्त्री पद त्याग गरे, त्यो मा म बहुद खुसी छु, मलाई लाग्छ, मेरो खुसीमा तपाईहरु पनि खुसी हुनुस्,’ उनले भने ‘पद कुनै ठुलो कुरा होइन, पद त तपाईले भोलि पनि पाउन सक्नुहुन्छ, म पनि पाउन सक्छु, पद भन्ने कुरा ठूलो हुन्न, तर मान पाइँदैन, सम्मान पाइँदैन, सम्मान र मान मैले तपाईहरुको लागि जर्गेना गर्देको छु।’

बाँके स्वर्गीय सुशील कोइराला र भाइराजा(रणेन्द्रबहादुर हमाल)को जिल्ला भएकाले बाँके जिल्लाबासीलाई पदको कुनै लोभ नभएको पूर्वमन्त्री हमालले बताए।  

कार्यकर्तालाई उनले भने, ‘त्यसकारण एकदमै मन फुकाएर जानुस्, एकदमै खुसी भएर जानुस्, मैले जे गरे, राम्रो गरे, देशको हितको लागि गरे, जनताको हितको लागि, बाँके जिल्लाको बासीको लागि गरेको छु  र भविष्यमा पनि यदि बाँके जिल्लाको लागि मैले केही गर्नुपर्छ भनेपछि म आफ्नो शरिरको यति थोपा रगत यस पृथ्वीमा चुहाएर पनि म तपाईहरुको सेवा गर्छु।’  

मन्त्री पदबाट राजिनामा कसैको दबाबले नगरेको प्रष्ट्याउँदै भने, ‘म बिहान सधैं पुजा गर्ने मान्छे हुँ, पुजा गर्दाखेरी मेरो आत्माले अब मन्त्री पदमा  बस्नु उचित छैन, मैले मनमा संकल्प गरिसके, अब म राजिनामा दिन्छु, मैले मन, वचन र कर्मलाई साक्षी राखेर राजिनामा दिएँ।’  

उनले आफू उद्योगमन्त्री भइसकेपछि बन्द भएका उद्योग सञ्चालन गर्ने वातावरण तयार गरिदिएको र अन्य महत्वपूर्ण निर्णय गरिएको जानकारी दिए। नेता हमालले आगामी चुनावमा नेपाली कांग्रेसले बहुमत ल्याउने ठोकुवा गरे। नेपाली कांग्रेस बाँकेका पुर्वसभापति समेत रहेका हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले गत असोज २२ गते उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रीमा नियुक्त गरेका थिए। प्रधानन्यायायधिश चोलेन्द्र सम्शेर राणासँग जोडेर उनको चौतर्फी बिरोध भएपछि दुई दिनमै मन्त्री पदबाट राजिनामा दिएका थिए।  

मन्त्री पदबाट राजिनामा दिएपछि पहिलो पटक गृहनगर नेपालगन्ज आएका हमाललाई बुधबार नेपालगन्ज विमानस्थलमा कांग्रेसका कार्यकर्ताले स्वागत गरे। उनलाई स्वागत गर्न कांग्रेस कार्यकर्ताहरु गाउँ–गाउँबाट ठूलो संख्यामा विमानस्थल पुगेका थिए।

हमाललाई नेपालगन्ज विमानस्थलदेखि कार्यकर्ताले र्यालीसहित पार्टी कार्यालयसम्म ल्याएका थिए। 

प्रकाशित: ३ कार्तिक २०७८ १३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App