कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा जुट्न मातहतका कार्यालयलाई निर्देशन दिएका छन्।
कर्णालीका १० वटै जलस्रोत तथा उर्जा विकास कार्यालयका प्रमुखहरुसंग फोनबाट कुराकानी गर्दै तत्काल उद्धार तथा राहतजन्य कार्यमा लाग्न निर्देशन गरेका हुन्। उनले हरेक जिल्लामा बाढी तथा पहिरोले पुर्याएको क्षतिको बारेमा जानकारी लिए।
उनले भने, ‘बाढी पहिरो र निरन्तरको वर्षाले पुर्याएको क्षति न्यूनीकरण गर्ने कार्यमा जुट्न निर्देशन दिएको छु। कार्यालयमा भएको साधनस्रोतको उपयोग गर्दै अवस्था अनुसारको व्यवस्थापन अघि बढाउन भनेको छु।’
उनले खानेपानीमा क्षति पुगेको ठाउँमा तत्काल पाइपको व्यवस्थापन गर्न र बाढी रोक्न तत्काल तटबन्धको व्यवस्था मिलाउनको लागि निर्देशन गरेका हुन्। उनले भने, ‘तत्काल बाढी पहिरो प्रभावित क्षेत्रमा पुग्न सकिने अवस्था छैन। मैले मातहतका कार्यालय प्रमुखहरुलाई भोलिदेखि नै परिचालन हुन भनेको छु। उनीहरु फिल्डमा गएर जलस्रोत तथा उर्जा विकासका क्षेत्रमा भएको क्षति रोक्न तत्काल पहल थाल्ने छन्।’
उनले बाढी प्रभावितहरुको राहत तथा बढी प्रभावित क्षेत्रको विकासका लागि तीनै तहको सरकारसंग समन्वय गरेर प्रभावितहरुको व्यवस्थापनमा जुट्ने बताए। उनले भने, ‘जुम्लाका प्रमुख जिल्ला अधिकारीसंग फोन सम्पर्क गरेर क्षतिको विवरण बुझेको छु। सबै मिलेर राहत तथा उद्धारमा लाग्न आग्रह गरेको छु।’
बाढी प्रभावित क्षेत्रको राहतका लागि एक साताभित्र स्थलगत अनुगमन गर्न आफू नै गाउँबस्तीमा पुग्ने उनले बताए। तत्काल गर्नु पर्ने र मातहतका कार्यालयले गर्न सक्ने काम अघि बढिसकेका छन्। दिर्घकालीन समाधानका लागि मन्त्रालयबाटै टोली आउने छ। कर्णाली प्रदेशको मन्त्रिपरिषद र संघीय सरकारसंग समन्वय गर्ने कुरामा आफू लाग्ने बताए।
उनले बाढी पहिरोले पुर्याएको क्षति प्रति दुःख व्यक्त गरे। बाढी पहिरो प्रभावितका लागि सधैँभरी लाग्ने उनले प्रतिबद्धता व्यक्त गरेको स्वकीय सचिव महेन्द्र कार्कीले जानकारी दिए। जुम्लामा बाढी पहिरो र वर्षाले धान बालीमा क्षति पुग्नुका साथै जमिन कटान गर्नेदेखि पहिरोले बस्ती नै जोखिममा परेको देखिएको छ।
प्रकाशित: २ कार्तिक २०७८ १४:०५ मंगलबार