८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकका विभिन्न क्षेत्रमा भारी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट प्रभावित भएकाको तत्काल उद्धार र राहतको व्यवस्था मिलाउन निर्देशन दिएका छन्।  

प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँडलाई सो निर्देशन दिएका हुन्। त्यसपछि गृहमन्त्री खाँडले विपद्को जोखिम कम गर्न र विपद्जन्य घटनाबाट मानिसको जीउज्यानको सुरक्षा गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्। उनले उद्धार तथा राहत कार्यमा कुनै कमी हुन नदिई काम गर्न सबै सुरक्षा निकाय र स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्। गृहमन्त्रीको निर्देशनसहित राहत तथा उद्धार कार्यका लागि मन्त्रालयबाट पूर्ण सहयोग रहने आश्वासन आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए।

सुरक्षा निकाय र प्रभावित जिल्लाका सम्बद्ध स्थानीय प्रशासनहरु विपद् व्यवस्थापन कार्यमा जुटेका छन्। विभिन्न जिल्लामा मानिसहरु फसेको क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धारको अनुरोध आएको र सोही मागअनुसार आवश्यक प्रक्रिया अघि बढाइएको प्राधिकरणका प्रमुख पोखरेलले जानकारी दिए। उनका अनुसार यही असोज ३१ गतेदेखि मुलुकभर मौसम बदली भई नेपालको पश्चिम क्षेत्र बढी प्रभावित बनाएको छ। सेती, महाकाली, कर्णाली, पश्चिम राप्तीलगायत ठूला र तिनका सहायक नदीमा बाढी आएको छ।

विपद्का कारण डडेल्धुरा र कालीकोटमा एक÷एकजनाको मृत्यु र एक÷एकजना घाइते भएका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिकामा २०० घर डुबानमा परेका छन्। सोही क्षेत्रका बासिन्दाको उद्धार प्रयास जारी रहेको स्थानीय प्रशासनले जनाएको छ।महाकालीको बहाव उच्च रहेको र आसपासका क्षेत्रका जोखिम बस्तीका मानिसलाई सुरक्षित ठाउँमा सारिएको प्राधिकरणकाप प्रमुख पोखरेलले बताए। बझाङको एक गाउँपालिकाको प्रहरी कार्यालय नै डुबानमा परेको र प्रहरी सुरक्षित ठाउँमा  सरेका जनाइएको छ।

कर्णालीको बहाव बढेपछि बर्दियाका केही तटीय क्षेत्रका मानिस प्रभावित भएका छन्। प्राप्त विवरणअनुसार बेनी–मुस्ताङ, डोटीको भीमदत्त राजमार्ग, अछामको चौखुट्टे–अछाम–बाजुरा सडकखण्ड, बझाङको जयपृथ्वी राजमार्ग, बाजुराको मार्तडी–कोल्टी र साँफे–मार्तडी सडक बाढी पहिराका कारण अवरुद्ध भएको गृह मन्त्रालयले जनाएको छ। भोलिसम्म नै वर्षाको सम्भावना रहेकाले सुरक्षित भएर बस्न मन्त्रालयले स्थानीय नागरिकमा अनुरोध गरेको छ। विभिन्न क्षेत्रमा काटेर राखेको धान नै वर्षा र बाढीले डुबाएको छ। भित्रिने बेलाको धानमा क्षति पुगेपछि किसान नराम्ररी प्रभावित भएका छन्।  

प्रकाशित: २ कार्तिक २०७८ ०७:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App