coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

देशलाई निकास दिन सरकारमा जानु पर्‍योः गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले मुलुकलाई निकास दिन काँग्रेसले नचाहँदा नचाहँदै सरकारमा जानु परेको बताएका छन्। तत्कालीन नेकपा र प्रधानमन्त्री केपि शर्मा ओलीले आफ्नै पार्टीभित्रको झगडा मिलाउन नसकेर देश चलाउन नसकेपछि काँग्रेसले देशको बागडोर सम्हाल्नु परेको बताएका हुन्।

गृहमन्त्री भएपछि पहिलोपटक सोमबार गृह जिल्ला रुपन्देही आएका गृहमन्त्री खाँणले भैरहवामा नेपाली काँग्रेस रुपन्देहीले गरेको स्वागत सम्मान कार्यक्रममा बोल्दै भने, ‘बहुमत पाएको पार्टी र प्रधानमन्त्रीले आफ्नै घर झगडाका कारण देश चलाउन नसकेपछि नचाहँदा नचाहँदै अरु दलसंग गठबन्धन गरेर सरकारमा गएका हौं।’ नेपाली काँग्रेसको काँधमा आएको जिम्मेवारी र चुनौती पूरा गर्दै गठबन्धनप्रति पनि सम्मान व्यक्त गर्नु र्ने उनले बताए।

गृहमन्त्री खाँणले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै संचालनमा ल्याउन सार्थक प्रयास भइरहेको बताए। रुपन्देहीको विकासले देशकै विकासको आधारशिला तयार गर्ने भन्दै उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको एकीकृत भन्सार चौकीको विकासको कार्ययोजना तयार पारेको बताए। बेलहियामा मालबाहक गाडीहरुको पार्किङको समस्या समाधान गर्न आइसीपीको लागि खाली रहेको जग्गामा व्यवस्थापनको तयारी अगाडि बढीसकेको बताए।

पश्चिम तराईलाई काठमाडौंसंग सहज र छिटो जोड्न गल्छी–चितवन सुरुङ्गमार्गको विषयमा पनि सरकारले प्रयत्न गरेको उनले बताए। गृहमन्त्री खाँणले बुटवलको ज्योतीनगरमा गएको पहिरो निरीक्षण गर्दै पहिरो पीडितहरुको समुचित व्यवस्थापनमा ध्यान दिन सम्बन्धित निकायहरुलाई निर्देशन दिए।

नेपाली काँग्रेसका महासमिति सदस्य प्रेमनारायण खरेलको शोक सभामा भाग लिन गृह जिल्ला आएका खाँणले पार्टीले भैरहवामा गरेको स्वागत सम्मान कार्यक्रममा भाग लिनुको साथै, स्वर्गीय नेता खरेलको श्रद्धान्जली सभामा भाग लिए। त्यसलगत्तै उनी बुटवल ज्योतीनगरको पहिरो क्षेत्रको अवलोकनमा पुग्नुका साथै यहाँका सुरक्षा निकायका प्रमुखहरुसहितको बैठकमा भाग लिए।

प्रकाशित: १ कार्तिक २०७८ १५:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App