८ वैशाख २०८१ शनिबार
राजनीति

आफ्नो कामको समीक्षा गरेर संवादमा आउन एमालेलाई सभामुखको आह्वान

प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटाले संसद संचालन गर्न नेकपा एमालेसँग छलफलको लागि तयार रहेको बताएका छन्। संसद चलाउनका लागि संवादको विकल्प नभएकोले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने उनले बताए।

संसदको गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै आफू प्रतिपक्ष दल नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताएका हुन्। सभामुख सापकोटाले आफूले सकेसम्म तटस्थ बसेर निर्णय लिएको दाबी गर्दै आफ्नो कामको समीक्षा गरेर संवादमा आउन एमालेलाई आह्वान समेत गरेका छन्।

‘मैले फेरि फर्केर सबै कामको समीक्षा गर्ने कुरा हुन्छ, उहाँहरुले पनि समीक्षा गर्नुहुन्छ भन्ने आशा छ,’ सभामुख सापकोटाले भने, ‘हामी सबैले समिक्षा गरौं र सकारात्मक सोचका साथ संवाद थालौं।’ जतिसुकै ठूलो समस्या भएपनि संवादको विकल्प नभएको उनको भनाइ थियो।

सभामुख सापकोटाले राजनीतिमा आग्रह, पूर्वाग्रह हुनु सामान्य भएको बताउँदै विजया दशमीले सकारात्मक सोचको विकास गराउने विश्वास व्यक्त गरे। सभामुख सापकोटाले भने, ‘राजनीतिमा आग्रह, पूर्वाग्रह, हुन्छ, प्रतिशोध सोच्न पनि सकिँदैन, यी सबै आग्रह पूर्वाग्रह मेटिँदै जानेछन्, सकारात्मक सोचको विकास हुनेछ, अझ निस्कर्षमा पुग्नका लागि सबै औपचारिक, अनौपचारिक,ट्रयाक वान, टू, सबै उपायहरु अवलम्बन गर्नका लागि मैले सकेजति मिहेनत गर्दछु।’

नेकपा एमालेलाई फुटाउन सभामुख सापकोटाले भूमिका खेलेको आरोप लगाउँदै एमालेले निरन्तर संसदमा विरोध जनाउँदै आएको छ। संसद सञ्चालनको विषयमा सुरुमा सभामुखले र त्यसपछि प्रधानमन्त्रीले आह्वान गरेको सर्वदलीय बैठकसमेत एमाले अध्यक्ष केपी शर्मा ओलीले बहिस्कार गरेका थिए।

प्रकाशित: २७ आश्विन २०७८ ०६:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App