७ वैशाख २०८१ शुक्रबार
राजनीति

धरानमा १७ वर्षीया र १६ वर्षीया दुई किशोरी बने मेयर र उपमेयर

धरान उपमहानगरपालिकामा १६ वर्षीया र १७ वर्षीया दुई किशोरी मेयर र उपमेयर बनेकी छिन्। धरान वडा नं ६ की १६ वर्षीया गीता तिरुवा र धरान १७ पटनालीकी १७ वर्षीया रेशिका दाहाल क्रमशः मेयर र उपमेयर भएकी हुन्। 

अन्तर्राष्ट्रिय बालिका दिवसको अवसर पारेर सोमबार प्लान इन्टरनेशनल, धरान उपमहानगरपालिका र नेतृत्व निर्णय परियोजनाको साझेदारीमा दुई किसोरीलाई मेयर र उपमेयरको जिम्मेवारी दिइएको हो। उनीहरु दुवैलाई धरानका निवार्चित मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीले पदभार ग्रहण गराएका थिए।

पदभार ग्रहण गरेपछि मेयर तिरुवाले धरान उपमहानगरपालिकालाई यही आर्थिक वर्षको असा भित्र सबै सुचकहरु पूरा गरी बालमैत्री नगर घोषणा गर्ने निर्णय गराउन आगामी कार्यपालिका बैठकमा प्रस्ताव लैजाने निर्णय गरेकी थिइन्। धरानमा १४ वटा वडाहरु बालमैत्री वडा घोषणा भइसकेको छ भने बाँकी ६ वटा वडाहरु पनि बालमैत्री घोषणा हुने क्रममा छन्। 

यस्तै, मेयर तिरुवा र तिलक राई दुवैले बालबालिका तथा किशोर किशोरीहरुको इन्टनेट पहुँच र अनलाइन माध्यमबाट हुनसक्ने दुर्व्यवहार रोकथाम र यसबाट सुरक्षा तथा संरक्षण प्रदान गर्न प्रतिवद्धता पनि व्यक्त गरेका छन्।

पदस्थापन कार्यक्रममा सहभागी किशोर किशोरीहरुले बालविवाह, बालबालिकामा इन्टरनेटको लतको कारण निम्तिएको समस्यालगायत बिषयमा मेयर उपमेयरलाई प्रश्न गरेका थिए। दुवैले धरानलाई चाँडै बालमैत्री नगर घोषणा गर्ने र इन्टरनेटलाई दुरुपयोग नगरी सदुपयोग गर्नुपर्ने बिषयमा सर्वसाधारण, किशोरकिशोरीहरुमा जनचेतना फैलाउनुपर्ने धारणा राखेका थिए।  

जननिवार्चित मेयर राईले पद हस्तान्तरण गर्दै गर्दा कुनै दिन नगर प्रमुखको पदबाट विदा लिनुपर्छ भन्ने अनुभूति भएको बताए। उनले किशोर किशोरीहरुमा सकारात्मक सोचको विकास हुनुपर्ने धारणा राखे। उपमेयर सुवेदीले अन्तरक्रियामा उठेका प्रश्नहरु आम मानिसको प्रश्नहरु भएकोले आफूहरुलाई पनि सजग बनाएको बताइन्। 

उनले बालमैत्री नगर घोषणा गर्दा बालबालिका, किशोर किशोरीहरुको धेरै समस्या हल हुने पनि बताइन्।

प्रकाशित: २५ आश्विन २०७८ ११:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App