८ वैशाख २०८१ शनिबार
राजनीति

नवनियुक्त प्रदेश मन्त्री हमालको संघर्ष

नेपाली समाजमा यि शब्द सधैँ दोहोरिन्छन्, ‘संघर्ष नै जीवन हो, जसले धेरै संघर्ष गर्छ, उसले प्रतिफल पनि पाउँछ।’ हो, यस्तै मध्येका एक संघर्षशील पात्र हुन, सुरेन्द्र हमाल। जसले खेलकुद र राजनीतिलाई सँग–सँगै अगाडि बढाए र सफल पनि भए। यिनै हमाल लुम्बिनी प्रदेश सरकारको वन, वातावरण तथा भू–संरक्षण मन्त्री बन्न सफल भएका छन्। उनले आइतबार पद तथा गोपनियताको सपथ लिएका छन्।

२०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसले बाँकेको अन्य सबै निर्वाचन क्षेत्रमा हार बेहोर्दा पार्टीको तर्फबाट निर्वाचित हुने जिल्लाका एकमात्र सांसद थिए, सुरेन्द्र। यिनैले बाँके–२(ख) बाट चुनाव जितेर बाँकेमा नेपाली कांग्रेसको ‘बीउ’ जोगाएका थिए।

परिवारका ६ दाजुभाई मध्ये राईलो छोरा हुन्, सुरेन्द्र। नेपालगन्ज–२ घरबारीटोलमा २०१९ सालमा जन्मिएका उनी नेपाली काँग्रेसका सभापति स्वर्गीय रणेन्द्र हमाल ‘भाईराजा’ का सहोदर भाइ हुन्। भाइराजा २०३३ देखि २०४४ सालसम्म नेपाली कांग्रेस बाँकेको सभापति भएका थिए।

१३ वर्षको कलिलै उमेरमा खेलकुद क्षेत्रमा प्रवेश गरेका सुरेन्द्रले खेलकुद र राजनीतिलाई सँगै अगाडि बढाए। पारिवारिक वातावरणका कारण उनलाई पनि राजनीतिको नशाले छोयो। नेपाली काँग्रेसको आर्दश र सिद्धान्तबाट उनी प्रभावित भए। ‘मेरो परिवारै राजनीतिक परिवार हो, पञ्चायत कालमा पनि मेरो परिवारमा स्वर्गीय रणेन्द्र हमाल ‘भाईराजा’ हुनुहुन्थ्यो, जसले एक दशकसम्म नेपाली कांग्रेसमा योगदान पुर्याउनु भयो, मलाई पनि राजनीतिक नशाले छोयो, मैले खेलकुद र राजनीतिलाई सँग–सँगै अगाडि बढाएँ,’ हमाल सम्झन्छन्।

२०३५ सालको विद्यार्थी आन्दोलनले झनै उनलाई राजनीतिमा डोर्यायो। विद्यार्थी जीवनबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका उनी नेपाल विद्यार्थी संघको तर्फबाट महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्ववियु सचिव हुँदै सभापति भएका थिए।

२०३७ सालमा म.ब. क्याम्पसको पहिलो सचिव र त्यसपछि २०४१ मा स्ववियु सभापति भएका थिए, उनी। २०४४ सालमा युवराज शर्मा नेतृत्वको नेपाली कांग्रेस जिल्ला कार्यसमितिमा उनी सदस्य भएका थिए। २०४४ सालमै पार्टीले टिकट दिएपछि स्थानीय निकायको चुनाव लडे, तर वडाध्यक्ष हारेका थिए। त्यसपछि युवक संगठनको सभापति जितेर नगर पञ्चायतको सदस्य भए।

‘पार्टीले खटाएपछि म वडाको चुनाव लडेँ, वर्गीय संगठनको चुनाव लडेँ, युवक संगठनको नगर सभापति भएँ,’ हमालले भने, ‘पढेर जागिर खानुभन्दा पनि राजनीतिलाई सेवकको रुपमा अगाडि बढाउन म अग्रसर भएको हुँ।’ २०५१ सालतिर कांग्रेस जिल्ला कार्यसमितिको उनी कोषाध्यक्ष भएका थिए। पार्टीले टिकट दिएपछि नेपालगन्ज नगरपालिकाको उपमेयरमा निर्वाचित भए। उनले २०४९ देखि २०५४ सम्म उपमेयर भएर काम गरेका थिए।  

खेलकुदमा संघर्षः  

हमालले खेलकुद क्षेत्रमा पनि धेरै नै संघर्ष गरे। परिणाम स्वरुप उनी ओलम्पियन बन्न सफल भए। उनी २०३२ सालमा खेलुकुद क्षेत्रमा छिरेका हुन्। सोही वर्ष पहिलो पटक टेवुल टेनिस प्रतियोगितामा उनले सहभागिता जनाए। 

२०३३ सालमा राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता खेल्ने अवसर पाएका हमालको टोली २०३५ मा टेवुल टेनिस टिम इभेन्टमा तेस्रो, क्रिकेटतर्फ २०३७ सालमा पहिलो भयो। त्यसपछि हमालको रुची भारत्तोलन खेलतिर गयो। प्रथम राष्ट्रिय खेलकुद प्रतियोगिता २०३८ मा पहिलो, दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता २०४० मा पहिलो, धनगढीमा आयोजित प्रथम स्ट्रङगेष्टम्यान २०४१ मा वेष्ट लिफ्टर भए।

सिरियाको दमस्कसमा आयोजित ३५ औं एशियन च्याम्पियनसिप २०४१ मा स्नेचतर्फ तेस्रो, प्रथम दक्षिण एशियाली खेलकुदमा दोस्रो, दोस्रो दक्षिण एशियाली खेलकुदमा दोस्रो, चौथो दक्षिण एशियाली खेलकुदमा तेस्रो, पाँचौं दक्षिण एशियाली खेलकुदमा तेस्रो भएका थिए।

हमालले २०४५ देखि २०४८ मा दाङ र नेपालगन्जमा आयोजित भारत्तोलनको राष्ट्रिय प्रतियोगितामा गोल्ड मेडल ल्याएका थिए। यसका साथै भारतको दिल्लीमा आयोजित एशियन खेलकुद सन् १९८२, लास्एन्जेल्स ओलम्पिक सन् १९८४ र एशियन गेम बेजिङ सन् १९९० मा उनले पोजिसनको लागि डिप्लोमा उपाधि प्राप्त गरेका थिए।

२०४८ सालमा नेपालगन्जमा आयोजित भारत्तोलनको राष्ट्रिय प्रतियोगिता खेलेर उनले खेलबाट शन्यास लिए। ‘नेपालगन्जको प्रतियोगितापछि मैले खेल खेल्न छाडेँ, तर खेलकुदको विकासका लागि व्यवस्थापकीय रुपमा सहभागी हुँदै आएको छु,’ उनले भने।

हमाल राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्ष समेत भएका थिए। राखेप कोषाध्यक्ष जस्तो उच्च पदमा नियुक्त भएपनि उनी प्रायः नेपालगन्जमै बसेर काम गथ्र्ये। आफ्नो कार्यकालमा पश्चिम क्षेत्रको खेलकुद पूर्वाधार जोड्न आवश्यक पहल गरेका थिए। उनकै सक्रियतामा नेपालगन्ज रंगशाला क्षेत्रमा भारत्तोलन एकेडमी निर्माण भएको छ। ‘खेलकुद भनेको पपुलर ठाउँ हो, यो निस्वार्थ पनि हुन्छ, राजनीति पनि निस्वार्थ रुपले लड्नुपर्छ भन्ने मेरो मान्यता हो,’ हमाल भन्छन्।

हमालले क्यान्सर जस्तो रोगलाई समेत जित्न सफल भएका थिए। क्यान्सरको लामो उपचारपछि उनी पूर्ण रुपले निको भएका थिए। जसका कारण उनी शारीरिक, आर्थिक, मानसिक रुपले पीडित बन्न पुगे। आन्द्राको क्यान्सर भएर मृत्युको मुखमा पुगेका हमाल लामो उपचार पश्चात बाँच्न सफल भएका व्यक्ति हुन्।

विगतलाई स्मरण गर्दै उनी भन्छन्, ‘मलाई क्यान्सर लागेपनि सबैको माया, सद्भाव प्रेम पाएर मैले जित्न सफल भएको हुँ।’ हमाल यस्तो व्यक्ति हुन्, जसले नेपालकै पहिलो खेलाडीका रुपमा आफ्नो जीवनमा आधारित आत्मकथा पनि लेखिसकेका छन्। प्रदेश मन्त्रीको जिम्मा लिएपछि प्रदेशको अवस्था र आवश्यकता हरेर काम गर्ने उनले बताए।

‘केही नयाँ काम गरौं जस्तो भएको छ, तर मन्त्रालयमा गएर पहिला बुझ्नुपर्यो, त्यसपछि प्रदेशको अवस्था र आवश्यकता हेरेर काम गर्ने सोच बनाएको छु,’ उनले नागरिकसँग भने।

प्रकाशित: २५ आश्विन २०७८ ०६:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App