१६ चैत्र २०८० शुक्रबार
राजनीति

भ्रष्टाचार मुद्दा उठाएर राजनीतिमा स्थापित हुने दाउ

साइकल खरिदमा अनियमितता भएको उजुरी परेपछि असोज १३ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएको विरोधमा जनता सामाजवादी पार्टी आन्दोलनमा उत्रियो। लगत्तै सिके राउत नेतृत्वको जनमत पार्टीले मुख्यमन्त्री लालबाबु राउतको विरोधमा जनकपुरधाममा विरोध जुलुस मात्र निकालेन अख्तियारको बर्दिवास कार्यालयअगाडि प्रदर्शन गरी दोषीउपर छानविनका लागि दबाब दियो।

मूलधारको राजनीतिमा अवतरित भएपछि जनमत पार्टी सुषुप्त रूपमा बसेको थियो। जनमतका कार्यकर्ता पालिकाकाहरूमा भएको भ्रष्टाचारको मुद्दा छिटफुट रूपमा उठाउँदै आएका थिए। तर अख्तियारले प्रदेश सरकारको मुख्यालयमाा छापा मारेपछि जनमत पार्टी जुरमुराउँदै प्रदेशका विभिन्न जिल्लामा लालबाबु राउत सरकारविरुद्ध खनिएका छन्।

जनमतका कार्यकर्ताले प्रदेश सरकार मुख्यालयको मूल गेटमा मुख्यमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए। प्रदेश २ सरकार भ्रष्ट भएको भन्दै सो पार्टीले मुख्यमन्त्रीको राजीनामासमेत मागेको छ। जनमतले भ्रष्टाचार गर्नेउपर निष्पक्ष र निडर छानविन गरी कारबाहीका लागि दबाबमूलक कार्यक्रम जारी राख्ने जनाएको छ। कारण दबाबमा परेर अख्तियारले छानविन तथा कारबाही प्रक्रियालाई सेलाई नदेओस्।

जसपा केन्द्रदेखि प्रदेशसम्म अख्तियारको कारबाहीको विरोध र मुख्यमन्त्रीको बचाउमा उभिएको छ। ‘बेटी पढाऊ, बेटी बचाऊ’ जस्तो जनलोकप्रिय कार्यक्रमलाई बदनाम गराउन छापामार शैलीमा छिरेर सरकार प्रमुखको शक्ति तथा गरिमामै आघात पुर्‍याउने काम अत्यन्त आपत्तिजनक र दुराशयपूर्ण छ। यस्ता कार्यले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई धरापमा पार्ने, प्रदेश सरकारहरूमा नैराश्यता र हीनताबोध हुने, राष्ट्रनिर्माणका लागि गरिने लोककल्याणकारी कार्यमा प्रतिकूल असर पर्ने हुँदा अख्तियारका यस्ता कार्य र कार्यशैलीप्रति जसपा नेपाल घोर विरोध, भत्सर्ना र आपत्ति प्रकट गर्दछ,’ जसपाको केन्द्रीय कार्यालयप्रमुख प्रकाश अधिकारीद्वारा असोज १५ गते जारी विज्ञप्तिमा उल्लेख छ।

जसपाले असोज १६ र १७ गते प्रदेशका आठवटै जिल्लामा मसाल जुलुस प्रदर्शन गरेर अख्तियारले गरेको कारबाहीको विरोध गरेको थियो। सोही दिन जसपाको मधेस प्रदेश समितिले पनि मसाल जुलुस र विरोध प्रदर्शन गर्‍यो। अख्तियारको यस कारबाहीको परिणाम प्रतीक्षाकै विषय हो। तर यस कारबाहीले सिके राउत नेतृत्वको जनमत पार्टीको राजनीति मधेसमा चर्चित बनेको छ। यसै घटनालाई मुद्दा बनाएर जनमतले मधेसमा आफ्नो राजनीति चम्काउँदै छ। अख्तियारको अनुसन्धानबाट कोही दोषी ठहर भए/नभए पनि यस मुद्दालाई उचालेर जनमत मधेसमा जोडदार प्रवेश गरेको छ।

‘पछिल्लो समय मधेस सबैभन्दा पिरोलिएको भ्रष्टाचारले हो,’ सर्लाहीका बुद्धिजीवी रजनीकान्त झा भन्छन्, ‘भ्रष्टाचारविरोधी मुद्दालाई प्राथमिकतामा राखेर राजनीतिमा आउने जोकोही ‘नेता’ले लिडरले मधेसमा पकड बनाउन सक्ने अवस्था छ। चुनावी हार/जित फरक राजनीति हो।’ मधेसमा अहिले ‘निष्कलंकित’ नेतृत्वको खाँचो छ। जसलाई सिके राउतले कूटनीतिक कुशलतासँग अघि बढाएको उनले बताए। स्थानीय तहदेखि प्रदेशसम्म अनियमितताका घटना सार्वजनिक भइरहँदा यस मुद्दालाई बोकेर अघि बढ्नु राजनीतिक रूपमा पनि सिके राउतको कुशलता मान्नुपर्छ।

भ्रष्टाचारको पीडाले निस्सासिएका मधेसी जनता यसबाट पार पाउन सुशासनप्रति दृढ नेतृत्वको तलासमा छन्। भ्रष्टाचार, अनियमितताप्रति कठोर र अनुदार चेहरातिरै मधेसी जनताको रुझान हुने झाको विश्लेषण छ। बोलीमा सुशासन तर काममा अनियमितता गर्ने चेहराहरू बिस्तारै मधेसी जनताको साम्मुने उदांगिसकेको उनको भनाइ छ।

प्रकाशित: २४ आश्विन २०७८ ०३:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App