७ वैशाख २०८१ शुक्रबार
राजनीति

ओलीजस्तो नकच्चरो भएर संसद्मा बस्दैनौं : मन्त्री खतिवडा

पोखरामा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा। तस्बिरः सन्देश/नागरिक

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले केपी ओलीजस्तो नकच्चरो भएर संसद्मा नबस्ने बताएका छन्। दसैं, तिहार, नेपाल सम्वत्, छठलगायतका चाडपर्वको अवसरमा नेकपा एकीकृत समाजवादी (नेकपा एस) कास्की जिल्ला कमिटीले शनिबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले सर्वोच्च अदालतले आफूहरूलाई अवैध भनेको खण्डमा केपी ओलीजस्तो केपी ओलीजस्तो नकच्चरो भएर संसद्मा नबस्ने बताएका हुन्।

तर संसद्मा नारा लगाएको भरमा भने आफूहरूले संसद् नछाड्ने उनले स्पष्ट पारे। ‘जसले संसद् भंग गर्‍यो त्यो चाहिँ संसद्मा बसिरहनु पर्ने? अनि जसले संसद् ब्युँताउन लड्यो त्यो चाहिँ निस्किनुपर्ने?,’ उनले भने,‘ सर्वोच्च अदालतले हामीलाई अवैध भन्छ भने हामी एक सेकेण्ड पनि बस्दैनौं। केपी ओलीजस्तो नकच्चरो भएर दुईतिहाइको मत गुमाउने, दुईतिहाइको कम्युनिस्ट आन्दोलन, दुइतिहाइको सरकार गुमाउने। त्यही पनि प्रधानमन्त्रीको कुर्सीमा बसिरहने? एक सय ७४ सिट घटेर ८३ मा झरिसक्यो तै पनि उपरखुट्टी लगाएर बसिरहने? हामी त्यस्तो गर्दैनौं।’

नेता खतिवडाले संसद्मा नारा लगाएकै भरमा संसद्बाट सांसद निकाल्न पाउने हो भने केपी ओलीसहितका एमाले सांसदविरुद्ध सत्तापक्षका सबै सांसदले नारा लगाउने चेतावनी दिए। ‘संसद्मा नारा लगाएको भरमा कसैले कसैलाई निकाल्न पाउने हो भने हामी पनि सत्तापक्षबाट एक सय ५५ जनाले नारा लगाउँछौं। त्यसबेला केपीसमेतका मान्छेलाई निकाल्न मिल्छ कि मिल्दैन? त्यसकारण यस्ता नारा पाँच दिन, १५ दिन होइन पाँच सय दिन लगाए पनि कानुनमा नभएका कुरा हुँदैन,’ उनले भने। उनले सभामुखले आफूहरूलाई निकाल्न भने नसक्ने बताए।

नेकपा एसका नेतासमेत रहेका मन्त्री खतिवडाले केपी ओलीको छुद्र बोली र व्यक्तिगत अहंकार, घमण्ड र व्यक्तिवादी चरित्रले एमाले र स्वयम् ओली पतनको बाटोमा गएको बताए। उनले यस्तै चरित्र हाबी भइरहे सिंहदरबारबाट बालकोट हुँदै बार्दली पुगेका केपी ओली बगरमा पुग्ने टिप्पणी गरे। ओलीलाई जाली, झेली र बेइमानीको उपमा दिँदै उनले भने, ‘ओलीको छुद्र शब्दका कारण एमाले पतनको बाटोमा गइरहेको छ अहंकार, घमण्ड, व्यक्तिवादी चरित्रका कारण उनी बालुवाटारबाट बालकोट, बालकोटबाट बार्दली पुगेका छन्, अब पनि यही पार्टी, यही बोली रहिरह्यो भने बार्दलीबाट बगरमा पुग्न बेर लाग्दैन।’ 

उनले ओलीको चरित्र ढिला भएको टिप्पणी गरे। उनले भने, ‘कहीँ न कहीँ ढिला नभएको भए एकातिर निस्केर जा भन्ने। अनि निस्केर जाँदा किन निस्केर गयो भनेर कोकोहोलो मच्चाउने काम हुँदैनथ्यो।’ केपी ओलीले जबजलाई गजब बनाएको उनले आरोप लगाए। मुखले जबज भने पनि गतिविधि चाहिँ त्यसविपरीत हुने गरेको उनको भनाइ थियो।

खतिवडाले ओलीविरुद्ध सँगै लडेपनि एमालेमै रहेका १० भाइको स्थिति अहिले न हाँस्ने न रुने स्थितिमा पुगेको टिप्पणी गरे। दस बुँदे सहमतिका नाममा बसेका साथीहरू अहिले कसरी बस्न सकेका होलान् भन्ने उनको प्रश्न थियो। उनले भने, ‘न केपी ओलीले गल्ती स्विकार्ने, माफी माग्ने काम गरेका छन् न त विधि विधान नै मान्छु भनेका छन्, बरु उल्टै त्यो ठीक थियो, मेरोविरुद्ध जानेहरू गद्दार हुन्, कुलंगार हुन्, तिनलाई कहिल्यै माफी दिन सकिन्न भन्दा लत्रक्क परेर बसेका छन्।’ उनले वर्तमान सरकार परमादेशबाट नभई सांसदहरूको दस्तखतबाट बनेको बताए। ‘केपी ओलीलाई दस्तखत गर्दा बैधानिक हुने, क्रान्तिकारी हुने, अनि अरूलाई गर्दा काइते, किर्ते, झूठो, बेइमानी र असंवैधानिक हुन्छ? त्यस्तो हुँदैन,’ उनले भने।

मन्त्री खतिवडाले केपी ओलीले पार्टीमा दासताको विकास गरेको आरोप लगाए। उनले भने, ‘त्यहाँ नेकपा एमाले जिन्दावाद भनेको एक शब्द पनि कतै सुन्न पाउनुहुन्न। सुन्नुभयो भने त्यहाँ आइएम विथ फलानो, केपी ओली जिन्दावाद मात्र हो र यो भनेको पार्टीको विधि, विधान, नीति, विचार, सिद्धान्त होइन व्यक्तिलाई मात्रै प्रधानता दिइएको हाे।’

मन्त्री खतिवडाले अबको चुनाव पनि बाम लोकतान्त्रिक गठबन्धनबाट लड्ने बताए। उनले भने, ‘लोकतन्त्रको सर्तमा, गणतन्त्रको सर्तमा। दुई दुईवटा संविधानसभाले बनाएको संविधान जोगाउने सर्तमा। आवश्यक परे गठबन्धनबाट चुनाव लड्छौं।’ उनले आगामी निर्वाचनमा केपी ओली र राप्रपाबीच गठबन्धन हुने बताए।

‘केपी ओलीले एमाले कार्यकर्तालाई एकातिर गाई र अर्कोतिर सूर्य चिह्न काँधमा बोकाएर आगामी चुनाव लडाउँछन् र त्यसलाईचाहिं उनले पवित्र र क्रान्तिकारी गठबन्धन भन्छन्,’ उनले भने। उनले अहिले पनि केपी ओलीलाई घोच्यो भने कमल थापालाई दुख्ने गरेको टिप्पणी गरे।

प्रकाशित: २४ आश्विन २०७८ ०१:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App