०७७ बैशाख १० गते उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी रेणु कुमारी यादवको नेतृत्वमा फुट्न लागेको चर्चाले राजनीतिक वृत तरंगित बनेको थियो। त्यो तरंगले समाजवादीलाई फुटबाट मात्र जोगाएन, राजपासँग रातारात एकिकरणको वातावरण समेत बनायो। पार्टी फुटाउन नेतृत्व गरेकोमा रेणुसँग चिढिएका उपेन्द्र अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारमा महत्वपूर्ण मन्त्रालय दिएर उनीप्रतिको विश्वास प्रर्दशन गरेका छन्।
गत प्रतिनिधिसभा निर्वाचनमा उपेन्द्र यादव सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन्। उनको जीतमा रेणुको भूमिका महत्वपूर्ण ठान्छन क्षेत्रबासी। उनको साथ सहयोग र समर्थनका कारण उपेन्द्रको जीत सुनिश्चित भएको बताउने धेरै छन्। यो क्षेत्र रेणुको आधार क्षेत्र मानिन्छ।
०५६ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट टिकट पाएकी रेणु यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएको स्थानीय बैद्यनाथ यादव बताउँछन्। ‘गत प्रतिनिधिसभा निर्वाचनमा उपेन्द्रजीमा प्रमुख भूमिका रोणुजीकै थियो’, उनले भने। जसपाले पाएको महत्वपूर्ण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रेणुलाई दिएर उपेन्द्र यादवले उनको योगदानको कदर गरेको यादव बताउँछन्।
२०६३ सालको मधेश विद्रोहपछि तत्कालीन मधेशी जनअधिकार फोरम नेपालमा प्रवेश गरेकी यादव संघीय समाजवादी पार्टीको उपाध्यक्ष बनेकी थिइन्। नयाँ शक्ति पार्टी र संघीय समाजवादीबीच एकीकरणपछि गठन भएको समाजवादी पार्टीमा समेत उनी केन्द्रीय उपाध्यक्ष भएकी थिइन्। ०६४ को संविधानसभा निर्वाचनमा फोरमबाट टिकट पाएर सप्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित उनी २०६५ मा शिक्षामन्त्री बनेकी थिइन्।
यादव २०४७ देखि नेपाली कांग्रेसबाट राजनीतिको सुरुवात गरी नेपाली कांग्रेसको महिला संघको अध्यक्षसमेत भएकी थिइन्। उनले पछि कांग्रेस परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्दा सहायक महामन्त्रीको जिम्मेवारी पाएकी थिइन्। २०७४ मा संघीय समाजवादी पार्टीबाट समानुपातिक सांसद चयन भएकी हुन।
मधेस आन्दोलनको एजेन्डाप्रति प्रतिवद्ध उनले नेतृत्वको आलोचना गर्न पनि नडराउने पात्रको रुपमा परिचित छिन्। केपी ओली नेतृत्वको पछिल्लो सरकारमा सहभागी उपेन्द्र यादव सहभागी सप्तरीको एक कार्यक्रममा रेणुले मञ्चबाटै माग सम्बोधन गराउन नसके सरकारबाट ब्याक भएर संघर्षमा उत्रीनुपर्ने विचार राखेर चर्चामा आएकी थिइन्।
संविधानको केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै उनले ०७५ साल असोज ३ गते लाई ‘कालो दिन’कै रूपमा मनाउने निर्णय गरेपछि पार्टीमा हलचल पैदा भएको थियो। उनी त्यो बेला संघीय समाजवादी फोरम नेपालको उपाध्यक्ष एवं प्रदेश २ संयोजक थिइन्। उनले जारी गरेको असोज ३ लाई ‘कालो दिन’कै रूपमा मनाउने निर्णयसहितको प्रेस विज्ञप्तिले पार्टीभित्रै धुव्रीकरण पैदा गरिदिएको थियो। संविधान दिवसको दिन बत्ती बालेर स्वागत गर्ने कि बत्ती निभाएर विरोध गर्ने भन्ने विषयले ध्रुवीकरण ल्याइदिएको थियो।
यादवको निर्णयलाई चुनौती दिँदै समाजवादी फोरमका उपमहासचिव(केन्द्रीय कार्यालय प्रमुख) प्रकाश अधिकारीले विज्ञप्ति जारी गरी ‘पार्टीले कालो दिवस मनाउने जस्ता कार्यक्रममा सहभागी हुन पार्टीले तत्काल कुनै निर्णय नगरेको हुँदा त्यस्ताखालका कार्यक्रममा सहभागी नहुन आग्रह गरिन्छ,’ भनियो। रेणु यादव पार्टीभित्र सशक्त विचार राख्ने नेता कहलिन्छ।
प्रकाशित: २२ आश्विन २०७८ १५:४० शुक्रबार