१६ चैत्र २०८० शुक्रबार
राजनीति

आज पाउला त मन्त्रिपरिषद्ले पूर्णता

सत्तारुढ चार राजनीतिक दलका शीर्ष नेताले शुक्रबार साँझसम्म मन्त्रिपरिषद्–लाई पूर्णता दिने समझदारी गरेका छन्। शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको ९० दिन हुन लाग्दा बिहीबार बसेको शीर्ष नेताहरूको बैठकले उपसभामुख, प्रदेश एक र वाग्मती प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रालय भागबन्डामा सहमति जुटाएको दाबी गरिएको छ।

यसअघि भएको मन्त्रालय भागबन्डामा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले चित्त नबुझाएपछि बिहीबार पुनः बसेको शीर्ष नेताहरूको बैठकले मन्त्रालय र मन्त्रीको संख्या टुंगो लगाएको स्रोतको दाबी छ। 

गठबन्धनका सबै दलले आआफ्नो तर्फबाट सरकारमा सहभागी गराउने नेताको नाम शुक्रबार बिहान प्रधानमन्त्री देउवालाई दिने र साँझसम्म नवनियुक्त मन्त्रीको सपथ गराउने गठबन्धनको तयारी रहेको छ।

गठबन्धनका दलहरूबीच मन्त्रालय संख्यामा रहेको विवाद समाधान गरेर शीर्ष नेताहरू बैठकबाट उठेको दाबी गर्दै स्रोतले भन्यो, ‘दलहरूले आआफ्नो पार्टीबाट मन्त्रीको नाम टुंगो लगाउनसके भोलि (शुक्रबार) मन्त्रिपरिषद्ले पूर्णता पाउँछ।’ माओवादी केन्द्रले सरकारमा सहभागी गराउने नेताको नाम टुंगो लगाए पनि गठबन्धनका अन्य दलमा आन्तरिक समस्या रहेको जानकारी दिँदै ती नेताले भने, ‘कांग्रेस, जसपा र एकीकृत समाजवादीले नाम टुंगो लगाउन सकेनन् भने दसैअघि मन्त्रिपरिषद्ले पूर्णता नपाउन पनि सक्छ।’

सरकारको नेतृत्व गरेको कांग्रेसमै मन्त्रीका विषयमा समस्या रहेको जानकारी दिँदै उनले प्रधानमन्त्रीलाई सहज बनाउन उपसभामुखसहित सबै विषयमा प्याकेजम सहमति गरेको बताए। जसअनुसार कांग्रेसले अब प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, कानुन, सञ्चार तथा सूचना प्रविधि,कृषि तथा पशुपन्छी, महिला तथा बालबालिका, उद्योग वाणिज्य तथा आपूर्ति र युवा तथा खेलकुद मन्त्रालय लिनेछ। 

यसअघि स्वास्थ्य मन्त्रालय आफ्नो भागमा राखेको कांग्रेसले उक्त मन्त्रालय नेकपा एकीकृत समाजवादीलाई दिने भएको छ। कानुन मन्त्रालय भने आफैंले राख्ने उसको तयारी छ। त्यसका अतिरिक्त कांग्रेसले दुई राज्यमन्त्री पनि लिनेछ। यसअघि नै कांग्रेसले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई पठाएको छ भने कानुनमा ज्ञानेन्द्रबहादुर कार्की, गृहमा बालकृष्ण खाँण र परराष्ट्रमा नारायण खड्का मन्त्री बनिसकेका छन्। 

बाँकी रहेका मन्त्रालयमा कांग्रेसबाट मीनेन्द्र रिजाल, पुष्पा भुसाल, उमाकान्त चौधरी, दिलेन्द्रप्रसाद बडु, तेजुलाल चौधरीसहितका नेता सहभागी हुनेछन्। त्यस्तै माओवादी केन्द्रले अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि र खानेपानी मन्त्रालय पाएको छ। माओवादीबाट अब देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज र बोधमाया यादव सरकारमा सहभागी हुनेछन्। 

जनार्दन शर्माले अर्थ र पम्फा भुसालले ऊर्जा मन्त्रालयको जिम्मेवारी यसअघि नै सम्हालिसकेका छन्। अब सरकारमा सहभागी हुने चार नेताले एक राज्यमन्त्रीसहित शिक्षा, विज्ञान तथा प्रविधि र खानेपानी मन्त्रालय पाउनेछन्। नेकपा एकीकृत समाजवादीले स्वास्थ्यसहित सहरी विकास, संस्कृति तथा पर्यटन र श्रम तथा रोजगार मन्त्रालयको नेतृत्व सम्हाल्नेछ। 

त्यसका साथै प्रदेश एक र वाग्मती प्रदेशको मुख्यमन्त्री पनि पाउनेछ। एकीकृत समाजवादी र माओवादीले संघीय मामिला मन्त्रालयमा पनि दाबी गरेका थिए। 

तर जनता समाजवादी पार्टीले अस्वीकार गरेपछि उसले भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने जनाइएको छ। उसले उपसभामुख पनि पाउने समझदारी बनेको दाबी गर्दै स्रोतले भन्यो, ‘अन्तिम समयमा पनि केही मन्त्रालयमा हेरफर हुन सक्छ।’

प्रकाशित: २२ आश्विन २०७८ ०३:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App