५ वैशाख २०८१ बुधबार
राजनीति

प्रदेशसभा बैठकमा ‘साइकल’ मुद्दा: मुख्यमन्त्रीले भने-साइकल खरिद नियमसँगत

मुख्यमन्त्रीलाई लागेको दाग धुन मार्गप्रशस्त गर्नुपर्छ – सोनल

प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै मुख्यमन्त्री लालबाबु राउत। तस्बिरस् नागरिक

प्रदेशसभाको सातौ अधिवेशनको पहिलो बैठक ‘साइकल’ मुद्दामै केन्द्रित रह्यो। बैठक सुरु हुनासाथ मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभा सदस्यहरुको हातमा साइकल खरिदको ‘सत्य तथ्य प्रमाण’ पुर्‍याउन लगाएका थिए। त्यसपछि सभामा बोल्दै प्रदेश सरकारको ‘सिंहदरबार’ (मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय)मा अख्तियारले प्रदेश २ सरकारलाई बदनाम गराउने मनसायबाट प्रेरित भएर छापा मारेको असन्तोष पोखे।

प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले साइकल खरिद प्रक्रियामा कुनै अनियमितता नभएको दाबी गर्दै सत्य तथ्य प्रमाणको प्रतिलिपि अध्यन गर्न सभामा उपस्थित सांसदहरुलाई मुख्यमन्त्रीले आग्रह गरेका थिए। प्रदेशसभा बैठकमा विशेष समय लिएर मुख्यमन्त्री राउतले साइकल खरिद प्रकरणका विषय केन्द्रित भनाई राखेका थिए। प्रदेश सभाबाट पारित निती तथा कार्यक्रम अनुसार विनियोजित बजेट कार्यान्वयन मुख्यमन्त्रीले गर्ने होइन, राउतले सभामा प्रष्ट्याए, ‘मुख्यमन्त्री र प्रदेश सरकारलाई बदनाम गरिएको छ। सरकारविरुद्ध षड्यन्त्र भएको छ।’

‘अख्तियारको छापा संस्था माथिको आक्रमण हो,’ राउतले भने, ‘अख्तियारले पत्र नै नपठाइ छापा मारे। यो शैली ठीक हो त? प्रदेशको सिंहदरबारको अख्तियारले छापा मार्न मिल्छ? उनले भने,‘समन्वय गर्नु पर्दैन?’  आयोगले समन्वय गरेको भए आफै सबै कागजात उपलब्ध गराइदिन्थ्यौं, उनले भने।

प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले वितरण गरेको साइकलले प्रदेशको छोरीको सुरक्षा र शिक्षामा सहयोग भएको बताए। इबिडिङ गरी न्यूनतम मूल्यमा साइकल खरिद गरिए पनि साइकल खरिदलाई विवादित बनाएको मुख्यमन्त्रीको भनाई छ। ‘सुशासनका लागि प्रतिबद्ध म आफै अनुसन्धानमा सहयोग गर्न तयार छु,’ मुख्यमन्त्री राउतले भने, ‘ सुशासन कायम गराउन जनलोकपाल आयोग गठन गर्नेलाई बदनाम गराउन खोजिएको छ। कर्मचारीको असहयोग र जनशक्ति अभावका कारण प्रदेश सरकारका चर्चित अभियानहरु प्रभावित भएको राउतले आरोप लगाए। ‘कर्मचारीबाट पाउनु पर्ने सहयोग नपाउनु र न्यून कर्मचारीका कारण सरकारलाई थिती बसाल्न कठिनाई भोग्नु परेको छ,’ मुख्यमन्त्री राउतले भने, ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान’ कर्मचारीकै असहयोगका कारण प्रभावित भएको छ।’

अभियानअन्तर्गत प्रदेशमा जन्मिने छोरीहरुको बिमा कार्यक्रम कर्मचारीकै कारण अवरुद्ध भएको राउतले आरोप लगाए। प्रदेश सरकारले ल्याएको ‘बेटी पढाउ, बेटी बचाउ अभियान’ले अन्य प्रदेशलाई समेत पाठ सिकाएको बताउँदै छोरी बिमा कार्यक्रम प्राविधिक कारणले अगाडि बढ्न नसकेको बताए। एक लाखबाठ सुरु भएको छोरी बिमा कार्याक्रम तीन लाख पुगेको जानकारी गराउँदै प्राविधिक कारणले अभियान रोकिएको बताए।  

प्रदेशसभाको सातौ अभिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले पठाएको पत्र पत्र सभामुख सरोजकुमार यादवले जानकारी गराएका थिए। प्रदेश प्रमुखको कार्यालयबाट प्रदेशसभामा छैठौं अधिवेशन अन्त, सातौँ अधिवेशन आह्वान, मन्त्रिपरिषद पुनर्गठन बारेको पत्र सभामुखले वाचन गरेका थिए। प्रदेशसभामा मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदैछन्। सातौँ अधिवेशनको पहिलो बैठकमा दलका सांसदहरुलाई बोल्ने समय दियएको छ। दोस्रो बैठकमा राउतले विश्वासको मत लिने छ।

प्रष्टिकरण

‘बेटी पढाउ, बेटी बचाउ अभियान’ अन्र्तगत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा दुई खेपमा २७ हजार २ सय ३८ साइकल खरिद गरेको थियो। मुख्यमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरणमा पहिलो लटको १७ हजार २ सय ३८ साइकल खरिदका लागि ५ वटा कम्पनीले टेन्डर कबोल गरेको थियो। ओम सत्य साई प्रालि पर्साले प्रति थान ५ हजार ७ सय, सान्यो इन्टरनेसनल जेभी काठमाडौंले ७ हजार ५ सय ७६ रुपैयाँ, द डिजाइनर्स नेपाल भरतपुरले ६ हजार ८ सय ३१ रुपैयाँ, म्याप इन्टरप्रिन्युर्स काठमाण्डौंले ६ हजार १ सय ५० र विकास जेनरल ट्रेडिङ जनकपुरले ८ हजार ५ सय १ रुपैयाँ प्रतिसाइकल खरिद गर्ने टेन्डर हालेका थिए।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबैभन्दा कम कबोल गरेका ओम सत्य साई प्रालिलाई साइकल खरिदको सहमति दिएको थियो। प्रालिले भारतीय कम्पनी अम्बिकामार्फत ९ करोड ८२ लाख ५६ हजार ५ सय ४८ रुपैयाँमा १७ हजार २ सय ३८ साइकल खरिद गरेको थियो। यस्तै, दोस्रो लटमा खरिद गरिएको १० हजार साइकलको इबिडिङमा तीनवटा कम्पनीले टेन्डर कबोल गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

पहिलो लटमा साइकल खरिदको ठेक्का पाएका ओम सत्य साई प्रालिले दोस्रो लटको साइकल खरिदको ठेक्कामा प्रतिसाइकल ७ हजार ५ सय, सान्यो इन्टरनेसनलले प्रतिसाइकल ७ हजार ४ सय ७५ रुपैयाँ र म्याप हेलिक्स जेभी काठमाडौंले पनि टेन्डर हालेकोमा उनको कागजी प्रक्रिया नपुग्दा रद्द गरिएको थियो। दोस्रो लटको साइकल खरिदमा कम मूल्य कबोल गरेका सान्यो इन्टरनेसनलले भारतीय कम्पनी हाई इन्ड ब्राण्डको साइकल खरिद गरेको थियो।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले उपलब्ध गराएको कागज प्रमाण।

‘साइकल खरिदको सबै प्रक्रिया कानुनबमोजिम नै भएको हो। कहीँकतै खरिदमा समस्या देखिन्न,’ मुख्यमन्त्री राउतले नागरिकसँग भने,‘मेरो छविलाई बद्नाम गराउन र प्रदेश सरकारको लोकप्रिय अभियानलाई निरुत्साहित गर्न नियतवश अख्तियारको छापा मार्न लगाइयो।’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणमा पहिलो लटभन्दा दोस्रो लटको साइकल एक केजी हेभी र अत्याधुनिक रहेकाले प्रतिसाइकल खरिद मूल्य बढेको दाबी गरेको छ। ‘दोस्रो लटमा खरिद गरिएको साइकलको खरिद मूल्य बढनुको ३ कारण छ,’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको कागजातमा भनिएको छ,‘प्राविधिक स्पेसिफिकेशसनमा साइकलको नेट कुल तौल १९ किलो छ।

उत्पादन कम्पनीको ब्रान्ड अनिवार्य उल्लेख गर्नुपर्दा स्पेसिफिकेसनस्तरीय बनाइको छ। र, तेस्रो कारण, अन्तर्राष्ट्रिय बजारमा फलामको मूल्य ४० प्रतिशतभन्दा बढी बढेकाले साइकल खरिदको लागत बढेको हो।’

‘मुख्यमन्त्रीले दाग धुन मार्गप्रशस्त गर्नुपर्छ’ –सोनल  

प्रदेशसभाको सातौ अधिवेशनको पहिलो बैठकमा बोल्दै प्रदेश २ का प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का संसदीय दलका नेता जितेन्द्र सोनलले साइकल खरिद विषयमा मुख्यमन्त्रीको नैतिकतामाथि प्रश्न उठेको जिकिर गरेका छन। सोनलले भने, ‘साइकल खरिदमा मुख्यमन्त्रीलाई लागेको दाग धुन मार्गप्रशस्त गर्नुपर्छ। सुशासन भाषणमा मात्रै नभएर व्यवहारमा देखिनु पर्छ।’

मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धानको छापाले संघीयतामाथि कुनै खतरा नहुने बताए। ‘संघीयता लौकाको कोपिला होइन,’ सोनलले भने, ‘मुख्यमन्त्री कार्यालयमा साइकल खरिदमा भएको अनियमितताको उजुरी अधारमा अख्तियारले छापामारीले संघीयता सिधिदैन।’ अनुसन्धानका लागि मुख्यमन्त्री कार्यालयबाट कागजात लिएर गएपछि अख्तियारविरुद्ध प्रदर्शन गर्नुको तुक नभएको उनले बताए।

प्रकाशित: २० आश्विन २०७८ १०:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App