coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

क्रियाशीलबाट हटाइए पुष्करनाथ

कैलाली कांग्रेस क्रियाशील सदस्यता विवाद टुंगिएको भन्दै केन्द्रीय कार्यालयले हालै अन्तिम नामावली प्रकाशन गरेको छ। अन्तिम सूचीमा कैलाली–५ बाट २०७० मा संविधानसभा सदस्य बनेका पुष्करनाथ ओझाको नाम क्रियाशील सदस्यको सूचीबाट हटेको छ। कांग्रेसका ३ सय ३३ जना क्रियाशील सदस्यमा उनी अटाउन सकेनन्। 

यस क्षेत्रमा प्रभावशाली मानिएका ओझाको क्रियाशील सदस्यता नै नवीकरण नभएपछि कांग्रेस वृत्तमा चासोको विषय बनेको छ। २०७४ सालमा सम्पन्न निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै ओझालाई नेपाली कांग्रेसले कारबाही गरेको थियो। कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा क्षेत्र ५ बाट संघीय सांसदका लागि चुनाव लेडेकी थिइन्। उनी  एमालेका उम्मेदवार नारदमुनि रानासँग पराजित भएकी थिइन्।  

को हुन् पुष्करनाथ ?  

२०३४ सालमा कक्षा ८ मा त्रिनगर माध्यमिक विद्यालय धनगढीमा पढ्दै गर्दा नेपाल विद्यार्थी संघको राजनीतिबाट सक्रिय भएका पुष्करनाथ २०५६ सालमा निर्वाचित भएका थिए। निर्वाचितपछि उनी त्यही बेला सूचना तथा सञ्चार राज्यमन्त्री बनेका थिए। 

२०७० सालमा कांग्रेस सभापति शेरबहादुर देउवाले कैलाली ५ बाट निर्वाचन जितेपछि डडेल्धुरा रोजेर धनगढी छाडेका थिए। देउवाले छाडेको धनगढीमा भएको उपनिर्वाचनमा पुष्करनाथ विजयी भएका थिए। २०७४ सालको निर्वाचनवमा पुष्करनाथले सभापति देउवा पत्नी आरजुलाई सहयोग नगरेका कारण पराजित भएको भन्दै उनलाई पार्टीले कारबाही गरेपछि भने उनी त्यसपछि गृहनगर धनगढीमै छन्।  

पाटीसँग किन रिसाए पुष्करनाथ ?

२०७४ को निर्वाचनमा देशभरबाट कांग्रेसले प्रत्यक्ष निर्वाचनमा ८६ सिट हात पार्‍यो। निर्वाचनपछि संसदीय बोर्ड र पाटीको केन्द्रीय समितिको बैठकले प्रत्यक्ष निर्वाचित संसद्लाई पुनः निर्वाचन लड्न चाहेमा टिकट दिने निर्णय गरेको थियो। 

सोही निर्णयमा टेकेर पुष्करनाथ पनि धनगढीमा चुनाव लड्न चाहन्थे। कांग्रेसका एक सदस्यले नाम नबताउने सर्तमा भने, ‘संसदीय बोर्ड र पाटीको केन्द्रीय समितिको बैठकले गरेको निर्णयविपरीत धनगढीमा पुष्करनाथलाई टिकट नदिएर देउवा पत्नी आरजुलाई दिएपछि उहाँको विमति भएको हो ।’ प्रत्यक्ष जितेकाहरूलाई टिकट दिइए पनि धनगढीमा भने पुष्करनाथको टिकट खोसिएको बताउँदै उनले भने, ‘पुष्करनाथको टिकट खोस्न आरजुलाई धनगढीमा झिकाइयो ।’

आरजु टिकट लिएर धनगढीमा आएपछि आम मानिसमा एक किसिमको असन्तुष्टि भएको बताउँदै कांग्रेस जिल्ला सचिव पूर्ण कुँवरले भने, ‘पूरा जीवन नै कांग्रेसमा समर्पित नेतालाई निषेध गर्नु पार्टीको ठूलो भूल थियो।’ 

मतदाताको चाहना आफ्ना प्रतिनिधिसँगको सहज पहुँच हुन चाहने गरेको बताउँदै उनले भने, ‘त्यो सहज पहुँच आफ्नै घर आँगनको नेतासँग जतिको थियो, त्यत्तिको पहुँच आरजुसँग भएन र पनि उनले २०७४ को निर्वाचतमा पराजित भइन्।’ पार्टी वृत्तमा गोविन्दराज जोशी र पुष्करनाथ ओझालाई एउटै तुलोमा जोखिन थालेको बताउँदै कुँवरले भने, ‘गोविन्दराज जोशी विद्रोह गरेका थिए तर पुष्करनाथ ओझाले भने न त निर्वाचनमा विद्रोह नै गरे न त कसैलाई भोट नदेऊ भनेर स्टेटमेन्ट नै निकाले, किन उनलाई अन्तरघात गरेको भनियो ?’ तर पुष्करनाथले २०७४ को निर्वाचनमा भने ‘नो भोट’ भन्दै आफूले मतदान गरेनन्।  

पुष्करनाथलाई पार्टीले कारबाही गरे पनि अन्ततः अधिवेशनअघि कारबाही फुकुवा गरेर क्रियाशील सदस्यता आउने आशा धनगढीवासीमा रहेको बताउँदै कुँवरले भने, ‘आम कांग्रेसीहरूमा पुष्करनाथको कारबाही फुकुवा भएर क्रियाशील आउला भन्ने आशा थियो तर त्यो आएन ।’ यसले अबको निर्वाचनमा फरक परिणाम आउने आँकलन गरिन थालिएको उनको भनाइ छ।

विद्यार्थी राजनीतिदेखि संगठन विस्तारमा अहं भूमिका खेलेको भन्दै धनगढीका पूर्वनगर सभापति मानबहादुर सिंहले भने, ‘उहाँ मेरो बाल्यकालदेखिकै साथी हो, उहाँलाई म पहिलेदेखि नै चिन्छु, उहाँ हठी स्वभावको हुनुका साथै कांग्रेस कैलालीमा संगठन विस्तारमा ठूलो देन छ।’ पार्टीले पुष्करनाथलाई कसरी र केका आधारमा कारबाही गरेको हो, त्यो भने आफूलाई थाहा नभएको उनको भनाइ छ। ‘विद्रोह लडेका थिएनन,’ उनले भने,‘तर किन कारबाहीमा परे, त्यो पार्टीले नै जानोस् ।’ पुष्करनाथ जिल्लामा सबैलाई मिलाएर अगाडि बढ्न सक्ने एक कुशल नेतृत्वको गुण भएको नेता रहेको उनको बुझाइ छ ।

२०७४ सालको निर्वाचनमा कैलाली–५ बाट देउवा पत्नी आरजु राणा देउवाले टिकट ल्याएपछि धनगढीमा बनेको निर्वाचन प्रचारप्रसार समितिमा पनि पुष्करनाथलाई नसमेटेको भन्दै उनका समर्थकले अहिले पनि पाटीले सुरुदेखि नै विभेद गरेको बताउँदै आएका छन् ।

‘दलले नै दलविहीन बनाइदियो’  

आफ्नो बुबाको कांग्रेसप्रतिको लिगेसीकै कारण आफू पनि कांग्रेस भएको बताउँदै पुष्करनाथ ओझाले भने, ‘म बुबाकै कारण कांग्रेस बनें ।’ कक्षा ८ मा धनगढीकै त्रिनगर माध्यमिक विद्यालयमा पढ्दै गर्दा विद्यालयकै नेविसंघको अध्यक्ष बनेको स्मरण गर्दै उनले भने, ‘हामीले त्यतिबेला दलविहीन पञ्चायती व्यवस्थालाई फालेर दलीय व्यवस्था ल्याउन लाग्यौं, अहिले आएर जुन दलमा लागेको थिएँ, त्यही दलले दलविहीन बनाइदियो ।’ 

तर पनि दुःख नलागेको बताउँदै उनले भने, ‘आरजु राणालाई धनगढीबाट टिकट दिएपछि मैले प्रजातन्त्रको आधारभूत सिद्धान्त माथिको आक्रमणका विरुद्धमा २०७४ को निर्वाचनमा नो भोट गरेको हुँ ।’ आफूलाई अनाहकमै कारबाही गरी साधारण सदस्यसमेत नहनेगरी हटाइएको भन्दै उनले दुःख मनाउ गरे। 

प्रकाशित: १६ आश्विन २०७८ ०५:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App