७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रशासनको आदेशप्रति राजनीतिक दलको बेवास्ता

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी अनावश्यक रूपमा भिडभाड, सभा जुलुस, भोजभतेर, मेला र महोत्सव गर्न रोक लगाइएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा आदेश जारी गर्दै कोभिड–१९ को जोखिम कायमै रहेको हुँदा अनावश्यक रूपमा मानिसहरू घरबाहिर निस्कने, जम्मा हुन नपाउने, भिडभाड गने, सभा जुलुस गर्ने, जात्रा महोत्सव र भोज आदि गर्न नगर्न/नगराउन भनिएको छ।  

तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबारदेखि ललितपुरको गोदावरीमा देशभरबाट आएका एक हजारभन्दा बढी प्रतिनिधि सहभागी गराएर विधान महाधिवेशनको आयोजना गर्दैछ। ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार न्यूनतम उपस्थितिमा अनिवार्य रूपमा जनस्वास्थ्य मापदण्डको पालना गरेर भौतिक कार्यक्रम गर्नुपर्नेछ। ‘नेकपा एमालेको असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनबारे स्थानीय प्रशासनलाई जानकारी गराइएको छ,’ उनले भने, ‘न्यूनतम उपस्थितिमा जनस्वास्थ्य मापदण्डको पालना गरेर महाधिवेशन गर्न भनेका छौं।’

राजधानीमा बिहीबारदेखि माओवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको तीनदिने राष्ट्रिय सम्मेलन सुरु गरेको थियो। सो सम्मेलनमा पाँच सयभन्दा बढी सहभागी भइरहेको अनेरास्ववियु क्रान्तिकारीले जनाएको थियो। १४औं महाधिवेशनको लागि सत्तारूढ नेपाली कांग्रेसका नेताहरू हरेक दिनजस्तो सभा सम्मेलन, भेला र कार्यक्रममा सहभागी भइरहेका छन्। अहिले राजधानीका स्थानीय तहमा नेपाली कांग्रेसलाई महाधिवेशनको चटारो छ।  

हरेक दिनजस्तो प्रमुख राजनीतिक दलहरूले सभा र सम्मेलनको आयोजना गरिरहँदा आदेश जारी गर्ने प्रशासनले शान्ति सुरक्षा दिइरहेको छ। यसअघि कोरोना भाइरस महामारीको जोखिम रोकथामको लागि निषेधाज्ञा जारी गरेर सर्वसाधारणको गतिविधिमाथि कडाइ गरे पनि प्रशासनले विभिन्न राजनीतिक दलको सभा सम्मेलनमा हुने भिडभाड नियन्त्रणमा आदेश कार्यान्वयन गर्न सकेको थिएन।  

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले संक्रामक रोग ऐन, ०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, ०२८ को दफा ६ को उपदफा ३ बमोजिम कोभिड–१९ रोकथाम तथा न्यूनीकरणका लागि ११ बुँदे आदेश जारी गरेका थिए। सर्वसाधारणको दैनिक क्रियाकलाप एवं चाड पर्वको हकमा अनिवार्य मास्कको प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने, साबुन पानीले हात धुने र स्यानिटाइजरको प्रयोग गर्ने लगायतका स्वास्थ्यसम्बन्धी मापदण्डको पालना गर्न आदेशमा भनिएको थियो। चाड पर्वमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रूपमा सकेसम्म घरभित्रै परिवारका साथ मनाउन भनेको थियो। आदेशमा चाड पर्वको बेला भिडभाड एवं जोखिमयुक्त क्षेत्रहरू एवं यात्रा गर्दा हुनसक्ने चोरी, ठगी र लुटपाटजन्य गतिविधिबाट सर्वसाधारणलाई सचेत रहन, यात्रा गर्दा आधिकारिक टिकट काउन्टरबाट मात्र टिकट काटेर यात्रा गर्ने तथा सवारी साधनको छतमा यात्रा नगर्न/नगराउन उल्लेख गरेका थियो।  

सार्वजनिक यातायात सञ्चालनको हकमा काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनहरू स्वीकृत सिट क्षमताअनुसार बढी यात्रु नराख्ने, सबै यात्रुले अनिवार्य मास्क लगाउने, मास्क नलगाउने यात्रुलाई सवारीसाधनमा प्रवेश गर्न नदिने, चालक र सहचालकले मास्क, भाइजर र पञ्जा लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने र अनिवार्य रूपमा सवारीसाधन दैनिक स्यानिटाइज गर्नुपर्नेछ।

बैठक, गोष्ठी, सेमिनार सञ्चालनका हकमा भर्चुअल माध्यमबाट गर्न, भौतिक उपस्थितिमा गर्नैपर्ने भएमा अनिवार्य रूपमा स्वास्थ्य मापदण्डको पालना गर्न/गराउन आदेश जारी गरेको छ। त्यसो नगरिएको पाएमा निजलाई कानुन बमोजिक कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ। होटल वा पार्टी प्यालेसले कुनै बैठक, सेमिनार, गोष्ठी, भोज वा कार्यक्रम गर्दा आगन्तुक वा सहभागीलाई स्वास्थ्य मापदण्ड पालना गराउने, कोभिड–१९ को लक्षण देखिएका व्यक्तिको परीक्षणको व्यवस्था गर्ने, हात धुने वा स्यानिटाइजरको व्यवस्था गर्ने दायित्व सम्बन्धित होटल वा पार्टी प्यालेस सञ्चालकले मिलाउनु पर्नेछ। त्यस्तै होटल र पार्टी प्यालेस सञ्चालकहरूले धेरै सहभागी भएको अवस्थामा कर्मचारी तथा सहभागीहरूको एन्टीजेन र र्‍यापिड एन्टीजेन परीक्षण गर्ने व्यवस्था मिलाउनु पर्नेछ।

सार्वजनिक सेवा प्रदायक निकायले सेवा प्रवाह गर्दा सामाजिक दूरी कायम हुने र स्वास्थ्य मापदण्डको पालना हुने गरी सेवा दिने र यथासम्भव अनलाइन माध्यमबाट सेवा प्रदान गराउन आदेश दिएको छ। उद्योग, कलकारखाना, होटल, रेष्टुरेण्ट र सिनेमा हललगायतमा सामाजिक दूरी कायम राख्नुपर्नेछ। औषधिलगायत अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृतिम अभाव सिर्जना गर्ने, मूल्य वृद्धि गर्ने र सहज आपूर्तिमा अवरोध गर्ने उपर कानुन बमोजिम कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ। प्रशासनले बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ७ बजेसम्म स्थानीय ढुवानी गर्न रोक लगाएको छ। सार्वजनिक निजी निर्माण कार्यका लागि निर्माण सामग्री ढुवानी बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म मात्रै गर्न पाइन्छ।

कोरोना भाइरस संक्रमणको लक्षण देखिएका तथा संक्रमितको सम्पर्कमा रहेका व्यक्तिलाई नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको एन्टिजेन तथा पिसिआर परीक्षणका लागि सम्बन्धित स्थानीय तह, जिल्ला अस्पतालसँग सम्पर्क गरी परीक्षण गराउन र भीडभाडबाट बच्न अनुरोध गरिएको छ। स्वास्थ्यको मापदण्ड पूर्ण पालना गर्न पनि अनुरोध गरिएको छ। त्यसका लागि सुरक्षा निकायबाट अनुगमन गरिने र अनुगमनका क्रममा अवज्ञा गरेको पाइएमा कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारबाही हुने चेतावनी दिइएको छ।

प्रकाशित: १५ आश्विन २०७८ ०२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App