८ वैशाख २०८१ शनिबार
राजनीति

प्रचण्डले ओलीलाई भने: बेइमान र झुटो बोल्न सिपालु

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बेइमान र झुट बोल्न सिपालुको संज्ञा दिएका छन्। यसअघि ओलीले झापाबाट आफूलाई धोकेबाज भनेकामा चित्त दुखाउँदै दाहालले बेइमान र झुट बोल्न सिपालु भनेर जबाफ दिएका हुन्।

झुटो कुरालाई पनि झुटो होइन भन्ने क्षमता ओलीमा रहेको उनको भनाइ थियो।

'प्रचण्ड धोकेबाज भनेछ। यसलाई के जबाफ दिने। मैले नबनाएको भए प्रधानमन्त्री हुनेवाला नै थिएन। माधव, झलनाथ, वामदेवले बजेट आएको भोलिपल्ट ओलीले छाड्नुपर्छ भने। तर मानेनन्। कागजमा सही छाप गरेर पनि उल्लंघन गरे। धोका दिए। धोका दिने उनी, धोकेबाज हाम्लाई भन्ने', अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनमा उनले भने।

ओली बेइमान हो भन्ने कुरा एमालेका धेरैलाई थाहा भएको दाहालको भनाइ थियो। 'केही साथीले केपीसँग आत्मसमर्पण गरे। पहिले नेकपा हुँदा दह्रोसँग उभिनुहोस् कामरेड, यो ओली तानाशाह हो भन्ने। अहिले त लुत्रुक्क परेर ओलीसँग जाने, अझ प्रचण्डले पार्टी फुटाउन खोज्ने भन्ने?', प्रचण्डले प्रश्न गरे, 'केपीलाई निकाल्दा त तिनीहरू नै थिए नि! अनि, मैले एमाले फुटाउन खोजेको हुन्छ त? तर, भन्छन्। भन्ने त बेइमान भए भए, सुन्ने र ताली लाउने देखेर हैरान हुन्छु।'  

झुटो बोल्न सिपालु नेपालमा कोही छ भने त्यो ओली भएको दाहालको भनाइ छ। 'म भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ भन्ने। तर, किन भन्ने भन्दा विज्ञापन रहेछ। त्यो भनेर भित्र अर्बौं भ्रष्टाचार गरेको छ। ढाकछोप गर्न त्यो भनेको रहेछ', उनले भने।

माओवादी कमजोर हुँदा अहिले केपी ओली आतंक, कमल थापा आतंक बढेको भन्दै उनले आफूहरूले आक्रामक ढंगले जान जरुरी रहेको बताए। 'कहाँबाट कहाँ पुगेकाहरूको आतंक छ। हामीलाई टुक्राटुक्रा पारेर सिद्धिए भने। टुक्राटुक्रा पर्दा तीन महिनामा सिद्धिन्छ भने। अघिल्लो वर्ष पार्टी एकता गर्दा माओवादी सिद्धियो, प्रचण्डको केही छैन भने तर हामी सिद्धिएनौँ। अब फेरि लड्छौँ। जित्छौँ।'

ओलीले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता उल्ट्याउन खोजेको, माओवादीको विरासत झल्काउने संविधान र परिवर्तनका एजेण्डा भत्काउन संसद विघटन गरेको दाहालको आरोप थियो। तर, त्यसलाई परास्त गरेको उनले दाबी गरे।

प्रकाशित: १४ आश्विन २०७८ १३:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App