८ वैशाख २०८१ शनिबार
राजनीति

कैलाली कांग्रेसः चासो पुष्करनाथको क्रियाशील सदस्यतामा!

को हुन् पुष्करनाथ?, पार्टीसँग किन रिसाए पुष्करनाथ?, दलले नै निर्दलीय बनाइदियो!

पुष्करनाथ ओझा । तस्बिरः पुष्पराज/नागरिक

बहुप्रतिक्षित कैलाली कांग्रेसको क्रियाशील सदस्यताको विवाद टुंगिएको भन्दै केन्द्रीय कार्यालयले दुई दिनअघि अन्तिम नामावली प्रकाशन गरेको छ। अन्तिम नामावली प्रकाशन गरेको लिस्टमा कैलाली क्षेत्र नम्बर–५ बाट २०७० मा संविधान सभा सदस्य बनेका पुष्करनाथ ओझाको नाम क्रियाशील सदस्यको सूचीबाट हटेको छ। 

ओझा क्रियाशील सदस्य रहेको कैलाली क्षेत्र नमबर–५ को प्रदेश सभा क्षेत्र २ अन्तरगत धनगढी–५ बाट कांग्रेसले ३ सय ३३ जना क्रियाशील सदस्यको नामावली सार्वजनिक गरे पनि उनको नाम सूचीमा छैन। यस क्षेत्रमा कांग्रेसका प्रभावशाली नेताका रुपमा चिनिएका ओझाको क्रियाशील सदस्यता नै नवीकरण नभएपछि कांग्रेस वृत्तमा चासोको विषय बनेको छ।  

२०७४ मा सम्पन्न निर्वाचनमा आफ्नै पाटीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै ओझालाई नेपाली कांग्रेसले कारबाही गरेको थियो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा कैलाली क्षेत्र नम्बर–५ बाट संघीय सांसदका लागि चुनाव लडेकी थिइन्। उनी एमालेका उम्मेदवार नारदमुनि रानासँग पराजित भएकी थिइन्।

को हुन् पुष्करनाथ ?  

२०३४ सालमा कक्षा ८ मा त्रिनगर माध्यमिक विद्यालय धनगढीमा पढ्दै गर्दा नेपाल विद्यार्थी संघको राजनीतिबाट सक्रिय भएका पुष्करनाथ २०५६ मा निर्वाचित भएका थिए। निर्वाचितपछि उनी त्यही बेला सूचना तथा सञ्चार राज्यमन्त्री बनेका थिए। २०७० मा कांग्रेस सभापति शेरबहादुर देउवाले कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचन जितेपछि डडेल्धुरा रोजेर धनगढी छोडेका थिए। देउवाले छोडेको धनगढीमा भएको उपनिर्वाचनमा पुष्करनाथ विजयी भएका थिए। २०७४ को निर्वाचनवमा पुष्करनाथले सभापति देउवा पत्नी आरजुलाई सहयोग नगरेका कारण पराजित भएको भन्दै उनलाई पार्टीले कारबाही गरेपछि भने उनी त्यसपछि गृहनगर धनगढीमै छन्।  

पार्टीसँग किन रिसाए पुष्करनाथ ?

२०७४ को निर्वाचनमा देशभरबाट कांग्रेसले प्रत्यक्ष निर्वाचनमा ८६ सिट हात पार्‍यो। निर्वाचनपछि संसदीय बोर्ड र पार्टीको केन्द्रीय समितिको बैठकले प्रत्यक्ष निर्वाचित संसदलाई पुनः निर्वाचन लड्न चाहेमा टिकट दिने निर्णय गरेको थियो। सोही निर्णयमा टेकेर पुष्करनाथ पनि धनगढीमा चुनाव लड्न चाहन्थे। कांग्रेसका एक सदस्यले नाम नबताउने शर्तमा भने,‘संसदीय बोर्ड र पार्टीको केन्द्रीय समितिको बैठकले गरेको निर्णयविपरीत धनगढीमा पुष्करनाथलाई टिकट नदिएर देउवा पत्नी आरजुलाई दिएपछि उहाँको विमति भएको हो।’ 

प्रत्यक्ष जितेकाहरुलाई टिकट दिइए पनि धनगढीमा भने पुष्करनाथको टिकट खोसिएको बताउँदै उनले भने,‘पुष्करनाथको टिकट खोस्न आरजुलाई धनगढीमा झिकाइयो।’ आरजु राणाले टिकट लिएर धनगढीमा आएपछि आम मानिसमा एक किसिमको असन्तुष्टि भएको बताउँदै कांग्रेस जिल्ला सचिव पूर्ण कुँवरले भने,‘पूरा जीवन नै कांग्रेसमा समर्पित नेतालाई ‘बाइसनेस’ गर्नु पाटीको ठूलो भूल थियो।’ मतदाताको चाहना आफ्ना प्रतिनिधिसँगको सहज पहुँच हुन चाहने गरेको बताउँदै उनले भने,‘त्यो सहज पहुँच आफ्नै घर आँगनको नेतासँग जतिको थियो, त्यत्तिको पहुँच आरजुसँग भएन र पनि उनले २०७४ को निर्वाचतमा पराजित भइन्।’ पाटीवृत्तमा गोविन्दराज जोशी र पुष्करनाथ ओझालाई एउटै तुलोमा जोखिन थालेको बताउँदै कुँवरले भने,‘गोविन्दराज जोशी विद्रोह लडेका थिए, तर पुष्करनाथ ओझाले भने न त निर्वाचनमा विद्रोह नै लडे न त कसैलाई भोट नदेऊ भनेर स्टेटमेन्ट नै निकाले, किन उनलाई अन्तरघात गरेको भनियो।’ तर, पुष्करनाथले २०७४ को निर्वाचनमा भने ‘नो भोट’ भन्दै आफूले मतदान गरेनन्।  

पुष्करनाथलाई पाटीले कारबाही गरे पनि अन्ततः अधिवेशनअघि कारबाही फुकुवा गरेर क्रियाशील सदस्यता आउने आशा धनगढीबासीमा रहेको बताउँदै कुँवरले भने,‘आम कांग्रेसीहरुमा पुष्करनाथको कारबाही फुकुवा भएर क्रियाशील आउला भन्ने आशा थियो, तर त्यो आएन।’ यसले अबको निर्वाचनमा फरक परिणाम आउने आँकलन गरिन थालिएको उनको भनाइ छ।  

विद्यार्थी राजनीतिदेखि संगठन विस्तारमा अह्म भूमिका खेलेको भन्दै धनगढीका पूर्व नगर सभापति मानबहादुर सिंहले भने,‘उहाँ मेरो बाल्यकालदेखिकै साथी हो, उहाँलाई म पहिलेदेखि नै चिन्दछु, उहाँ हठी स्वभावको हुनुका साथै कांग्रेस कैलालीमा संगठन विस्तारमा ठूलो देन छ।’ पाटीले पुष्करनाथलाई कसरी र के का आधारमा कारबाही गरेको हो, त्यो भने आफूलाई थाहा नभएको उनको भनाइ छ। ‘विद्रोह लडेका थिएनन,’ उनले भने,‘तर किन कारबाहीमा परे, त्यो पाटीले जानोस्।’ पुष्करनाथ जिल्लामा सबैलाई मिलाएर अगाडि बढ्न सक्ने एक कुशल नेतृत्वको गुण भएको नेता रहेको उनको बुझाइ छ।  

२०७४ को निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट देउवा पत्नी आरजु राणा देउवाले टिकट ल्याएपछि धनगढीमा बनेको निर्वाचन प्रचार प्रसार समितिमा पनि पुष्करनाथलाई नसमेटेको भन्दै उनका समर्थकले अहिले पनि पाटीले सुरुदेखि नै विभेद गरेको बताउँदै आएका छन्। ‘निर्वाचनताका धनगढीमा आरजुलाई जिताउन १ हजार १ सदस्यीय प्रचार प्रचार समिति गठन भयो, तर तत्कालीन संसदलाई राखिएन,’ नाम नबताउने शर्तमा एक कांग्रेस नेताले भने,‘टिकट ल्याएपछि पुष्करनाथलाई त भेटेर कुराकानी गर्नुपर्थ्याे, त्यो नगरेर पुष्करनाथलाई विभेद गरिँदै आयो।’ पुष्करनाथको सहयोग नलिँदा पनि जितिन्छ भन्ने दम्भ पलाएको बताउँदै कुँवरले भने,‘तर त्यो दम्भ हारमा परिणत भइदियो।’ उनी पुष्करनाथ धनगढीका एक शक्तिकेन्द्र भएको बताउँछन्। ‘पुष्करनाथको राजनीतिक यात्रा धनगढीबाटै भएको हो,’ कुँवरले भने,‘त्यहीँको समाजका आम नागरिक उनको ४४ वर्षे राजनीतिक यात्राका सहयात्री थिए। अन्ततः पार्टीले नै उनलाई ‘बाइसनेस’ गरिदियो।’

दलले नै निर्दलीय बनाइदियो!  

आफ्नो बुबाको कांग्रेसप्रतिको लिगेसीकै कारण आफू पनि कांग्रेस भएको बताउँदै पुष्करनाथ ओझाले भने,‘म बुबाकै कारण कांग्रेस बनेँ।’ कक्षा ८ मा धनगढीकै त्रिनगर माध्यमिक विद्यालयमा पढ्दै गर्दा विद्यालयकै नेविसंघको अध्यक्ष बनेको स्मरण गर्दै उनले भने,‘हामीले त्यतिबेला दलविहीन पञ्चायती व्यवस्थालाई फालेर दलीय व्यवस्था ल्याउन लाग्यौँ, अहिले आएर जुन दलमा लागेको थिएँ त्यही दलले दलविहीन बनाइदियो।’ तर पनि दुःख नलागेको बताउँदै उनले भने,‘आरजु राणालाई धनगढीबाट टिकट दिएपछि मैले प्रजातन्त्रको आधारभूत सिद्धान्त माथिको आक्रमणका विरुद्धमा २०७४ को निर्वाचनमा ‘नो भोट’ गरेको हुँ।’ आफूले कांग्रेसबाहेक अन्य दलमा भोट हाल्न नसक्ने भएका कारण कांग्रेसलाई पनि भोट हालिन, तर कहीँ कसैलाई पनि कांग्रेसमा भोट नहाल पनि भनिन र कांग्रेसको आधिकारिक उम्मेदवारलाई हराऊ पनि भनेको छैन।’ 

आफूलाई अनाहकमै कारबाही गरी साधारण सदस्य समेत नहनेगरी हटाइएको भन्दै उनले दुःख मनाऊ गरे। उनले कांग्रेसलाई घुमाउरो शैलीमा भने,‘कुनै पनि पाटीले अब धनगढीमा बाहिरबाट उम्मेदवार ल्याएर चुनाव लड्छु भन्छ भने त्यो हार्छ। मलाई लाग्छ अब बाहिरबाट चुनाव लड्न धनगढीमा कुनै पनि पार्टीले मान्छे ल्याउँदैन होला।’

प्रकाशित: १४ आश्विन २०७८ १२:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App