७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रदेश प्रमुखलाई प्रदेश १ को विपक्षी गठबन्धनको ध्यानाकर्षण

प्रदेश १ को सरकार संविधान विपरित गठन र सञ्चालन भएको भन्दै प्रदेश १ को विपक्षी गठबन्धनले प्रदेश प्रमुखको ध्यानाकर्षण गराएको छ। बुधबार ५ दलीय गठबन्धनले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई भेटेर ध्यानाकर्षण गराएको हो।  

विपक्षी गठबन्धनले तत्कालीन सत्तारुढ दल  विभाजन पछि पनि बहुमतको आधारमा सरकार गठन गरिएको र सरकार गठन भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने प्राबधान विपरित संसदबाट विश्वासको मत नलिइ सरकार सञ्चालन भइरहेको प्रदेश प्रमुख प्यासीलाईलाई जानकारी गराएका छन्। विपक्षी गठबन्धमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेपका एकिकृत समाजवादी, जनता समाजवादी र संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च आबद्ध छन्।

विपक्षी गठबन्धनले प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराउँदै सरकार गठन र सञ्चालनका विषयमा असन्तुष्टि राखेको प्रदेश १ को प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले जानकारी दिए। ‘दल विभाजन पछि पनि बहुमतका आधारमा सरकार गठन गरिएको र सरकार गठन भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने प्राबधान विपरित सरकार संसदबाट विश्वासको मत नै नलिइ सञ्चालन हुनु कानुन विपरित छ ’ नेता कोइरालाले भने।  

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले कानुन अनुसार सरकार गठन भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने भएपनि सरकार विश्वासको मत लिन आनाकानी गरिरहेको आरोप लगाए। उनका अनुसार भदौ १० गते सरकार गठन भएकाले सरकारले असोज ८ गते भित्र विश्वासको मत लिइसक्नु पर्ने थियो। तर, विश्वासको मत नै नलिइ सरकार सञ्चालन भइरहेको छ। यतिमात्रै हैन संसद सञ्चालन नभएको समयमा विश्वासको मत लिन विशेष अधिवेशन बोलाउनुपर्ने भए पनि सरकारले हिउँदे अधिवेशन असोज २२ गतेलाई बोलाएको छ। असोज २२ गतेलाई बोलाइएको हिउँदे अधिवेशनमा पनि तत्कालै विश्वासको मत लिइहाल्ने सोच प्रदेश सरकारको नदेखिएको आङ्वोले बताए। ‘ विश्वासको मत पाउने आधार नभएपछि सरकारले राजीनामा दिनुपर्ने हो ’ उनले भने‘तर, केहि समय सत्ता लम्ब्याउने सरकारको सोच देखिन्छ।’  

यता प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधान र कानुनअनुसार आफू अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। उनले प्रतिपक्षी गठबन्धनले राखेको विषयमा सरकारको ध्यानकर्षण गराउने गठबन्धनका नेताहरूलाई बताएको एकिकृत माओवादीका नेता आङ्वोले बताए। प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराउन नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइराला, प्रमुख सचेतक केदार कार्की, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वो, नेकपा एकिकृत समाजवादीका नेता राजेन्द्र राई, जनतासमाजवादी पार्टीका  नेता जयराम यादव र लोकतान्त्रीक राष्ट्रिय मञ्चकी नेता विष्णुतुम्बाहाम्फे गएका थिए। प्रदेश १ का ९२ जना सांसद मध्ये विपक्षी गठबन्धनको पक्षमा ५० जना, सत्तारुढ दल नेकपा एमालेका ४१ जना सांसद छन्।

प्रकाशित: १३ आश्विन २०७८ १३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App