१५ चैत्र २०८० बिहीबार
राजनीति

अहिलेको सरकारले जे गरेपनि सञ्चारमाध्यमको ध्यानै छैन: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान मिच्दा पनि चुप लागेर बसेको भन्दै सञ्चार माध्यामप्रति असन्तुष्टि जनाएका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले अहिलेको सरकारले संविधान मिच्दा पनि सञ्चार माध्याम चुप लागेर बसेको जस्तो देखिएको टिप्पणी समेत गरे। 

प्रमुख सञ्चार माध्यामका सम्पादकहरुसँग मंगलबार अपरान्ह अन्तरक्रिया गर्दै उनले सरकारलाई सञ्चार माध्यामहरुले खवरदारी गर्न नपुगेको पनि स्पष्ट पारे। अध्यक्ष ओलीले भने, ‘सरकारलाई खवरदारी गरेन भने लापरबाही जस्तो हुँदो रहेछ। जस्तो अहिलेको सरकार। अहिलेको सरकारलाई खवरदारी पुगेनकि जस्तो लाग्छ। संविधान, कानुनको मतलव छैन।’

अध्यक्ष ओलीले आफ्नो पार्टी फुटाउने मनसायले सरकारले अध्यादेश ल्याएको भन्दै आक्रोश व्यक्त गरे। उनले परमादेशबाट बनेको सरकारले लोकतन्त्रलाई कम्जोर पार्ने भएकाले आफू चिन्तित भएको तर्क समेत गरे। अध्यक्ष ओलीले सरकारले बजेटमार्फत् कालो धनलाई सेता बनाउन खोजेको भन्दै आपत्ति जनाए। सरकारको सो निर्णयले नेपालमा विपत्ति ल्याउने ओलीको दावी थियो। तर आफ्नो पार्टीेले कालो धनलाई सेतो बनाउने सरकारको प्रयासलाई सफल हुन नदिने अध्यक्ष ओली बताए।

अध्यक्ष ओलीले एमसीसीबारे सरकारको धारणा पुनः माग गरे। उनले एमसीसीबारे सम्झाउन सरकारलाई अमेरिकी अधिकारीहरुनै नेपाल आउनुपर्ने हो र भनि प्रश्न समेत गरे। अध्यक्ष ओलीले सरकारको धारणा नआई आफूहरुले सो बारे धारणा बनाउन नमिल्ने अडान पनि दोहोर्‍याए। उनले भने, ‘यो सम्बन्धमा सरकारको दृष्टिकोण के हो ? १६५ सिट भएको सरकारको। पारित गर्ने हो कि होइन, हामीलाई केही सेयर गर्नु भएको छैन।’

अध्यक्ष ओलीले मुलुक अव निर्वाचनमा जानुको विकल्प नरहेको बताए। संसदले कामै गर्न नसकेको अवस्थामा मुलुक अर्लि निर्वाचनमा जानुपर्ने उनको तर्क थियो। अध्यक्ष ओलीले भने, सरकारले काम गर्न सकेन। त्यसले निर्वाचनमा जानुपर्छ। एमालेले अवको निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउनेछ।‘ अध्यक्ष ओलीले सभामुख अग्नीप्रसाद सापकोटाले पदीय मर्यादा अनुसार काम नगरेकाले संसद अवरोध गर्न बाध्य हुनुपरेको पनि दोहोर्‍याए।

प्रकाशित: १२ आश्विन २०७८ १४:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App