८ वैशाख २०८१ शनिबार
राजनीति

उदयपुर काँग्रेस : १९ वर्षीय युवादेखि ८४ वर्षे बृद्धसम्मको प्रतिनिधित्व

नेपाली काँग्रेसको आसन्न १४ औ महाधिवेशनअन्तर्गत प्रतिनिधि छनौटमा उदयपुरमा १९ वर्षीय युवादेखि ८४ वर्षीय बृद्धसम्म परेका छन्। नगर तथा गाउँ अधिवेशन भर्खरै सम्पन्न भएको काँग्रेसको भदौ १८ गते सम्पन्न वडा अधिवेशनले सम्भवत देशभरकै सबभन्दा कान्छी युवती र सबभन्दा वृद्धलाई प्रतिनिधि चयन गरेको हो।  

कतै चुनावी प्रक्रियाबाट र कतै सर्वसम्मत प्रतिनिधि छनौट भएका प्रतिनिधिहरुमध्ये कान्छी युवति वडाबाट क्षेत्रीय प्रतिनिधि बनेकी हुन् भने पाको उमेरका बृद्ध वडा सभापति सर्वसम्मत चयन भएका हुन्। जिल्लाका ७५ वडाबाट प्रतिनिधित्व गर्ने क्रममा त्रियुगा नगरपालिका ४ की १९ वर्षीया युवति शान्तिदेवी श्रेष्ठ क्षेत्रीय प्रतिनिधि चयन भएकी हुन् भने त्रियुगा ११ बाट ८४ वर्षीय बृद्ध वडा सभापति छानिएका छन्।

श्रेष्ठ जिल्लामै सबभन्दा कम उमेरकी क्षेत्रीय प्रतिनिधि भएको पार्टीले जनाएको छ। यसै वर्ष क्रियाशील सदस्यता पाएकी श्रेष्ठ त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा स्नातक अध्ययनरत विद्यार्थी हुन्। वडा अधिवेशनको चुनावमा उनी पनि सर्वसहमत क्षत्रीय प्रतिनिधि निर्वाचित भएकी हुन्। कलिलै उमेरमा पार्टीको क्षेत्रीय प्रतिनिधि बन्न पाएकोमा उनले खुसी व्यक्त गरेकी छिन्।

उनले युवा पुस्ता पनि राजनीतिको मुलधारमा आउनुपर्छ भन्ने मान्यताका साथ काँग्रेसमा लागेको बताएकी छिन्। ‘नेपालको राजनीतिमा युवा पुस्ताले पनि ठाउँ लिएर सक्रिय हुनुपर्छ भन्ने लागेर मैदानमा उत्रिएकी हुँ’ उनले भनिन् ‘पार्टीलाई युवामैत्री बनाउँदै अघि बढ्न आफुले सक्दो भूमिका खेल्नेछु। मजस्तै अन्य युवाहरुलाई पनि पार्टीले अबसर दिनुपर्छ भन्ने लागेको छ ।’

त्यस्तै सदरमुकाम गाईघाट रहेको त्रियुगा नगरपालिका ११ मा ८४ वर्षीय बृद्ध नारायणभक्त बस्नेत वडा सभापति चयन भएका हुन्। उनी सर्वसम्मत सभापति चयन भएको पार्टी वडा कमिटीले जनाएको छ। सभापतिका प्रत्यासीहरु ईन्द्रनारायण साह र विनोद पाण्डेले एकार्कालाई नस्वीकार्ने अडान लिएपछि बिकल्पको रुपमा बस्नेतलाई सभापति बनाइएको हो।  

बस्नेतको नाम अघि सारिएपछि सभापतिका आकांक्षी दुवैले सहमति जनाएको उनले बताए। ‘साह र पाण्डे दुवैजनाले एकले अर्कालाई सभापति स्वीकार्न चाहेनन्, चुनावमा जान पनि मानेनन्’ बृद्धलाई वडा सभापति बनाउनुपर्नै कारणबारे बताउँदै निवर्तमान नगर सभापति सरोज बस्नेतले भने ‘अनि बैकल्पिक उम्मेदवारको खोजी गर्दा पार्टीका पुराना मान्छे भएको नाताले बस्नेतलाई सभापति बनाउने प्रस्ताव आयो, दुवैले स्वीकारे।’

वडामा सकेसम्म चुनाव नगराई सर्वसहमत गरौँ भन्ने सबैको उद्देश्य अनुरुप बस्नेतलाई ८४ वर्षको बृद्ध उमेरमा पनि सभापति बनाइएको क्रियाशिल सदस्यहरुले बताएका छन्।

२०१५ सालदेखि नेपाली काँग्रेसमा आबद्ध बस्नेत पञ्चायतविरोधी आन्दोलनमा उदयपुरबाट सक्रिय सहभागिता जनाउने कम जिवित नेताहरुमध्ये एक हुन्। पञ्चायतविरुद्धको आन्दोलनमा लाग्नेमध्यका एक बस्नेतलाई सभापति बनाएर सम्मान वडाका क्षेत्रीय प्रतिनिधि शैलेस बस्नेतले बताए।  

वडा सभापतिमा निर्वाचित बस्नेतले आफुलाई पदको कुनै चाह नभए पनि सबैले सम्मान गरेर दिएको भनेपछि खुसी हुँदै स्वीकारेको बताए । ‘जिल्लामा नेपाली काँग्रेसको नेतृत्व गर्ने खासै रहर त थिएन तर, सबैले हुनुपर्छ भनेपछि बसिदिएँ’ बृद्धावस्था भए पनि पार्टीलाई दिनुपर्ने योगदानमा कमी आउन नदिने बचन बस्नेतले दिए ‘सम्मानले पाएको पद स्वीकार्दै उमेर पाको भए पनि पार्टीको काममा तन्नेरीभन्दा कम जोस ममा छैन ।’

प्रकाशित: १२ आश्विन २०७८ १३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App