५ वैशाख २०८१ बुधबार
राजनीति

पहिरो प्रभावितलाई तत्काल राहत र व्यवस्थापन गर

नेपाली काँग्रेस बुटवल नगरसमितिले बुटवलको ज्योतीनगर–लक्ष्मीनगर क्षेत्रका पहिरो प्रभावितहरुलाई तत्काल राहत प्याकेज उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरेको छ। काँग्रेसको बुटवल उपमहानगर समितिले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई ज्ञापन पत्र बुझाउँदै पहिरो प्रभावितलाई अल्पकालीन र दीर्घकालीन राहत प्याकेजसहित उचित व्यवस्थापनको माग गरेको हो।  

मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै नेपाली काँग्रेस बुटवल उपमहानगर समितिका सभापति खेलराज पाण्डेले जनताको जनजीवीकाका बिषयलाई गम्भिरतापूर्वक लिन र सम्बोधन गर्न मुख्यमन्त्री केसीलाई आग्रह गरे। पहिरो प्रभावितहरुलाई प्रदेश सरकारका तर्फबाट तत्काल राहत र व्यवस्थापनमा ध्यान दिनु पर्ने, तिनाउ दानव नदीको कटानलाई मध्यनजर गर्दै तटबन्धको प्रबन्ध मिलाउन, राजमार्ग चौराहदेखि गोलपार्क सम्मको सडक मर्मत सम्भारमा ध्यान दिन काँग्रेसले माग गरेको छ।  

बुटवल राजमार्ग चौराह–गोलपार्क खण्डमा ठूलठूला खाल्डाखुल्डी र धूलोले दुर्घटनाको जोखिम बढ्नुका साथै  प्रदुषणले नगरबासीको स्वास्थ्य जोखिममा परेको भन्दै काँग्रेस नगर सभापति पाण्डेले प्रदेश सरकारको ध्यानाकर्षण गराए। काँग्रेसले वेलवास–वेथरी सडक निर्माण छिटो सक्न, नजिकिँदै गरेका चाडपर्वको समयमा हुनसक्ने मुल्यवृद्धि, खाद्यवस्तुमा हुने मिसावट तथा कालोबजारीलाई रोक्नेतर्फ ध्यान दिन प्रभावकारी अनुगमन निरीक्षणको व्यवस्था गर्न पनि माग गरेको छ।  

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री केसीले पहिरो पिडितलाई राहत, उद्धार र व्यवस्थापनलाई प्राथमिकता दिएर तथ्याङ्क संकलन गरिरहेको बताए। चाडपर्वअघि नै राहत प्याकेज पहिरो प्रभावितहरु समक्ष पुर्याउने प्रतिबद्धता मुख्यमन्त्री केसीले जनाए। ‘राहत तथा पुनःस्थापनाका लागि जिल्ला प्रशासनलाई तथ्याङ्क संकलनको निर्देशन दिइसकेका छौं, सरोकारवालाबीच बैठक राखेर थप छलफल गर्दैछौं, केही दिन भित्रैमा प्रभावितहरुले त्यसको अनुभूति गर्नु हुनेछ’ मुख्यमन्त्री केसीले भने।

शहरी विकास तथा पर्यटनमन्त्री डिल्ली चौधरीलाई पनि सोही ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराएको काँग्रेस नगरसचिव छाँया पोखरेलले बताए।

प्रकाशित: १२ आश्विन २०७८ १०:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App