coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसले चुन्यो पालिका नेतृत्व

नेपाली कांग्रेसले इलामका नगर र गाउँपालिकास्तरका पार्टी कार्यसमिति चयन गरेको छ। शनिबार भएको निर्वाचनपछि राति अबेरसम्ममा जिल्लाका ४ नगर र ६ गाउँपालिकाकै नतिजा आएको छ।  

सदरमुकामसमेत रहेको इलाम नगरपालिकामा तीर्थ गुरुङ पार्टी सभापति भएका छन्। सुशीला सापकोटा र उर्मिला निरौला उपसभापति, वीरन्द्र कार्की र निराजन भट्टराई सचिव तथा प्रज्वल घिमिरे र वीरेन्द्र राई निर्वाचित भएका छन्। सदस्यहरूमा सहमति भएपनि पदाधिकारी सबैमा मतदान भएको थियो। नगर सभापतिका लागि ५ जनाले प्रतिस्पर्धा गरेका थिए।  

सूर्याेदय नगरपालिकामा जीवन नेपाल सभापतिमा निर्वाचित भए। माई नगरमा हेमबहादुर लिम्बू र देउमाई नगरको सभापतिमा दिलीप कार्की निर्वाचित भए। सन्दकपुर गाउँपालिकामा तुलाराम गुरुङ, माइजोगमाईमा नरेन्द्रकुमार देवान (राजेश), फाकफोकथुममा डिकबहादुर थापा, रोङमा हरि बुढाथोकी, माङ्सेबुङमा चन्द्र साम्बा निर्वाचित भए। यी पालिकामा मतदानबाट सभापति चयन भएका हुन्। चुलाचुली गाउँपालिकामा भने सर्वसम्मत रूपमा राजेन्द्र केरुङ सभापति छानिए। स्थानीय तहका कार्य समिति सदस्यहरू सबैजसोमा सहमति भएपनि पदाधिकारीमा मतदानबाट नेतृत्व टुंगो लागेको नेपाली कांग्रेस जिल्ला कार्य समितिले जनाएको छ।  

पार्टी केन्द्रीय तहमा देखिएको फरक गुट (समूह) अनुसार नै जिल्लाका सबैजसो पालिकाको नेतृत्वमा २ वा त्योभन्दा बढी उम्मेदवार नेतृत्वका लागि भिडेका थिए। केन्द्रभन्दा जिल्ला तहका नेतामा चाहिँ ४ वटासम्म उपगुटसमेत देखिएकाले कतिपय पालिकामा उपगुटअनुसारका आकांक्षीसमेत थिए। केही उम्मेदवारले आफू कुनै गुटको नभई सिंगो कांग्रेसको उम्मेदवार भएको दाबी गरेका थिए।

पालिका कार्य समितिमा १ सभापति, २ उपसभापति, २ सचिव र २ सहसचिवसहित प्रत्येक वडाबाट ३/३ सदस्य चुनिएका छन्। निर्वाचित पालिका समितिले कोषाध्यक्ष मनोनयन गर्नेछ। जिल्लाका ८१ वडाको अधिवेशनबाट १ हजार ७ सय ८ क्षेत्रीय प्रतिनिधि थिए। क्षेत्रीय प्रतिनिधिले नै पालिका, प्रदेश/प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला समिति र महासमिति सदस्य चुन्ने छन्।  

गाउँपालिका अध्यक्ष पार्टीमा पराजित

फाकफोकथुम गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठ आफ्नै पालिकामा पराजित भएका छन्। कांग्रेस फाकफोकथुमको सभापतिमा उम्मेदवारी दिएका श्रेष्ठले तेस्रो स्थानमा चित्त बुझाए।  

६४ मत ल्याएर डिकबहादुर थापा सभापति निर्वाचित हुँदा ५७ मत ल्याएर टेकवीर लिम्बू दोस्रो भए। गाउँपालिका अध्यक्ष श्रेष्ठले ५० मत ल्याए।

प्रकाशित: १० आश्विन २०७८ ०८:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App