८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेसको गाउँ/नगर अधिवेशन अनिश्चित

विवादले वडा निर्वाचन नै नटुंगिएपछि सिन्धुपाल्चोक कांग्रेसको गाउँ/नगर अधिवेशन अनिश्चित बनेको छ। यसैकारण कांग्रेसको महाधिवेशन अन्तर्गत शनिबारलाई तय गरिएको गाउँ/नगर अधिवेशन हुन सकेन।  

चुनावको अघिल्लो दिन शुक्रबारमात्रै जिल्ला निर्वाचन अधिकृतले सूचना जारी गरेर अधिवेशन स्थगित भएको घोषणा गरेका थिए। प्राविधिक कारणले अर्को सूचना जारी नभएसम्मको लागि अधिवेशन स्थगित गरिएकोमात्र उल्लेख गरिएको छ। तर वडा चुनाव नै बाँकी रहेकाले गाउँ/नगर अधिवेशन अनिश्चित बनेको हो।  जिल्ला निर्वाचन अधिकृत छविरमण निरौलाले वडा निर्वाचन नटुंगिएकाले गाउँ÷नगर अधिवेशन स्थगित गर्नु परेको स्पष्ट पारे। ‘वडा अधिवेशन नटुंग्याइ गाउँ/नगरको हुन सक्दैन,’ उनले निर्धारित अधिवेशन स्थगित गर्नुको कारण खुलाउँदै भने। उनले विवादका कारण तीनवटा वडामा अधिवेशन हुन नसकेको बताए।  

निरौलाका अनुसार जुगल गाउँपालिका–३, हेलम्बु गाउँपालिका–७ र सुनकोसी गाउँपालिका–३ को गाउँ अधिवेशन हुन सकेको छैन। जिल्लाकाa १२ स्थानीय तहका एक सय तीन वडामा मंगलबार गाउँ अधिवेशन भएको थियो। उक्त दिन अधिकांश स्थानमा सर्वसम्मत र केही ठाउँमा मतदानद्धारा अधिवेशन सम्पन्न भए पनि तीन वडामा भने हुन सकेन। आन्तरिक विवादकै कारण ती वडामा अधिवेशन हुन नसकेको जिल्ला निर्वाचन अधिकृत निरौलाले जनाए।  

‘मतदान केन्द्र, मतदान अधिकृत विवाद र झडपको स्थिति निम्तिएकाले वडा निर्वाचन हुन नसकेको हो,’ उनले भने। एउटा वडामा मतदान केन्द्र अपायक भएको विषयमा विवाद हुँदा अर्कोमा भने मतदान अधिकृत प्रतिनिधिले नरुचाउँदा अधिवेशन हुन सकेन। जुगल–३ मा भने अधिवेशनको क्रममा झडप नै भएपछि अधिवेशन स्थगित भएको निरौलाले बताए। ‘त्यहाँ दोहोरो झडप भयो। केही कार्यकर्ता घाइते नै भए। घाइतेलाई हेलिकप्टरबाट उपचारको लागि अस्पताल लैजानु पर्ने अवस्था आयो,’ उनले भने।  

तर कांग्रेस जिल्ला सचिव बिलबहादुर तामाङले आन्तरिक विवादले त्यहाँ अधिवेशन हुन नसके पनि झडप कारण नरहेको जिकिर गरे। त्यहाँ झडप भए पनि त्यो अधिवेशनसँग सम्वन्धित नरहेको उनको भनाइ छ। जिल्ला निर्वाचन अधिकृत निरौलाल लोकतान्त्रिक पार्टीको अधिवेशनमा दोहोरो झडपको अवस्था सिर्जना हुनु दुःखद भएको बताउँछन्।  

अधिवेशन स्थगित भएका वडामा आक्रोश कम नभइसकेकाले तत्काल चुनाव भइहाल्ने अवस्था निरौला देख्दैनन्। ‘संयमित नहुँदासम्म विवादित वडामा अधिवेशन हुँदैन। हामी पर्ख र हेरको रणनीतिमा छौँ,’ उनले भने। विवादित स्थानमा संयमित बनाएर अधिवेशन गर्नेबारे पार्टी नेतृत्वसँग छलफल भने भइरहेको उनको भनाइ छ। ‘अब गाउँ÷नगर अधिवेशन कहिले हुन्छ भन्नेबारे यकिन मिति बताउन सक्ने अवस्था छैन। पहिले त वडा निर्वाचन सक्नुपर्छ । विवाद हल गर्दै सकभर छिटो अधिवेशन सम्पन्न गर्ने प्रयास जारी छ,’ उनले भने।  

लिसंखुपाखर–७ मा अर्को चुनाव गर्न माग

निर्वाचन सम्पन्न भएको घोषणा गरिएको लिसंखुपाखर गाउँपालिका–७ को वडा अधिवेशनमा पनि विवादमुक्त हुन सकेको छैन। त्यहाँ पुनः अधिवेशन हुनुपर्ने माग स्थानीय प्रतिनिधिले गरेका छन्। निर्वाचन अधिकृतले एकलौटी गरेर अधिवेशन सम्पन्न भएको घोषणा गरेर हिँडेको उनीहरुले आरोप लगाएका छन्।  

‘गाउँ समिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन गर्ने प्रयास सफल भएन। त्यसपछि मतदानको प्रक्रियाअघि बढाउनु पर्नेमा निर्वाचन अधिकृतले एकलौटी गरेर सर्वसम्मत अधिवेशन सम्पन्न भएको घोषणा गरेर हिँडे,’ जिल्ला सचिव तामाङले आरोप लगाए। सहमति जुटाएर विवादित वडा र गाउँ÷नगरको अधिवेशन दसैं अघि नै सम्पन्न गर्न पार्टी नेतृत्वले प्रयास गरिरहेको उनले बताए। 

प्रकाशित: ९ आश्विन २०७८ १२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App