८ वैशाख २०८१ शनिबार
राजनीति

पालिकाको नेतृत्व चुन्दै कांग्रेस

इलामका पालिकास्तरको पार्टी कार्यसमिति चयन गर्न नेपाली कांग्रेसको अधिवेशन आज (शनिबार) हुँदैछ। साँझसम्ममा अधिवेशन/मतदान सकेर आइतबारसम्ममा सबै पालिकाको नतिजा आउने कांग्रेस जिल्ला समितिले जनाएको छ।  

पार्टी केन्द्रीय तहमा देखिएको फरक गुट (समूह) अनुसार नै जिल्लाका सबैजसो पालिकाको नेतृत्वमा २ वा त्योभन्दा बढी उम्मेदवार नेतृत्वका लागि भिड्दैछन्। केन्द्रभन्दा जिल्ला तहका नेतामा चाहिँ ४ वटासम्म उपगुटसमेत देखिएकाले कतिपय पालिकामा उपगुटअनुसारका आकांक्षीसमेत देखिएका छन्। केही उम्मेदवारले आफू कुनै गुटको नभई सिंगो कांग्रेसको उम्मेदवारसमेत दाबी गरेका छन्।  

जिल्लाका ४ नगर र ६ गाउँपालिकामध्ये इलाम नगरपालिकाको सभापति पदमा सबैभन्दा बढी ५ उम्मेदवार प्रतिस्पर्धा गर्दैछन्। इलाम नगर सभापतिमा तीर्थ गुरुङ, अमृतलाल श्रेष्ठ, सोमनाथ सुसेली, लीलाबहादुर थापा र निर्मल राउतले प्रतिस्पर्धा गर्ने निश्चितजस्तै छ। शुक्रबार साँझसम्म सक्रिय रूपमा चुनावी अभियानमा लागेका पाँचैजना आफूले नै जित्ने दाबी गर्छन्। उपाध्यक्ष, सचिव र सहसचिवलगायत पदमा पनि कोटाभन्दा बढीले उम्मेदवारी सार्वजनिक गरेकाले नेतृत्व छान्न चुनाव नै हुने सम्भावना देखिएको छ।

सूर्याेदय नगर सभापतिमा मणि गुरुङ, जीवन नेपाल र छिरिङकाजीबीच प्रतिस्पर्धा हुने देखिएको छ। देउमाई नगरमा कृष्ण बराल, दिलीप कार्की र भवानी बान्तवा तथा माई नगरमा हेमबहादुर लिम्बू र पुष्प गिरीबीच सभापति पदको प्रतिस्पर्धा हुँदैछ। फाकफोकथुम गाउँपालिकामा डिकबहादुर थापा, रामकुमार श्रेष्ठ र टेकवीर नेम्बाङ, माङ्सेबुङमा अमर राई र चन्द्र साँवा, रोङमा मनीकुमार स्याङ्बो (सुवास) र हरि बुढाथोकी, सन्दकपुरमा तुलराम गुरुङ, धनबहादुर खाम्दाक र बालकृष्ण गुरुङ सभापतिका आकांक्षी छन्।  

माइजोगमाई गाउँपालिकामा वेद चापागाई र राजेश देवानले प्रतिस्पर्धा गर्ने देखिएको छ। चुलाचुली गाउँपालिकामा शनिबार बिहानसम्म गाउँपालिका सभापतिका लागि राजेन्द्र केरुङको मात्र दाबी देखिएको कांग्रेसले जनाएको छ।  

पालिका कार्य समितिमा १ सभापति, २ उपसभापति, २ सचिव र २ सहसचिवसहित प्रत्येक वडाबाट ३/३ सदस्य निर्वाचित हुने कांग्रेस जिल्ला सचिव निरोज खड्गीले जानकारी दिए। निर्वाचित पालिका समितिले कोषाध्यक्ष मनोनयन गर्नेछ। जिल्लाका ८१ वडाको अधिवेशनबाट १ हजार ७ सय ८ क्षेत्रीय प्रतिनिधि छानिइसकेका छन्। क्षेत्रीय प्रतिनिधिले नै पालिका, प्रदेश/प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला समिति र महासमिति सदस्य चुन्नेछन्।  

‘पालिका नेतृत्वका लागि प्रायः सबै स्थानीय तहमा निर्वाचन नै हुने सम्भावना छ,’ सचिव खड्गीले भने, ‘भोलिसम्ममा सबै तहको परिणाम आइसक्छ।’

प्रकाशित: ९ आश्विन २०७८ ०६:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App