१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

केपी ओलीलाई संसदसँग घिन लाग्छ, उहाँलाई संसद देख्नै हुन्नः गगन थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई संसदसँग घृणा जागेका कारण संसदमा अवरोध सिर्जना गर्ने गरेको बताएका छन्।  

बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले संसदप्रति ओलीको घृणा सिंगो नेकपा(एमाले)मा पनि पुगेको भन्दै उनले एमालेले संसदीय मर्यादामा बस्न नसकेको बताए।

‘केपी शर्मा ओलीलाई संसदसँग घिन लाग्छ, उहाँलाई संसद देख्नै हुन्न। उहाँले आफ्नो कार्यकालभरी संसदलाई हेप्नुभो। पटक–पटक भंग गर्नुभयो,' उनले भने, 'अहिले संसद पुनर्स्थापित भइसकेपछि उहाँलाई संसदसँग यति घृणा लाग्छकी यो संसदलाई उहाँले पंगु बनाउनुभएको छ। अहिलेको हर्कत हेर्दैगर्दा सिंगो नेकपा(एमाले) लाई संसद प्रतिको व्यक्तिको घृणाबाट पार्टीमा पुग्यो भन्न कर लागेको छ।’

नेता थापाले प्रमुख प्रतिपक्ष दलको अवरोधका कारण सांसदहरुले बजेटको विषयमा बोल्न नपाएको उल्लेख गरे। एमालेको अवरोधले सांसदहरुले संसदमा आफ्नो भूमिका समेत निर्वाह गर्न नपाएको बताए। एमालेको प्रस्तुतीले संसदीय पद्धतिको गरिमा राख्न नसक्ने उनको भनाइ छ।  

सोही क्रममा थापाले पार्टीको १४ औँ महाधिवेशन समयमै हुनेमा अन्योलता भएको बताए। मंसिरमा महाधिवेशन हुन्छ भन्ने कुरामा ढुक्क हुन नसकिएको उनले बताए। पार्टी केन्द्रीय कमिटीले गरेको निर्णय र नेताहरुलाई दिएको जिम्मेवारी नेताहरुले पूरा नगरी जवाफदेहिता बिनाको राजनीति गरिएको उनले टिप्पणी गरे।

प्रकाशित: ७ आश्विन २०७८ १२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App