१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले फुटेको होइन, काँचुली फेरेको होः गोकुल बास्कोटा

पोखरामा मंगलबार संचारकर्मीसँगको छलफलमा पूर्व सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटा । तस्बिर : उमेश पुन/नागरिक

नेकपा एमालेका नेता तथा पूर्व सूचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाले एमाले फुटेको नभई काँचुली फेरेको बताएका छन् । प्रेस चौतारी कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बास्कोटाले बसन्त याममा रुखले नयाँ पालुवा फेरेजस्तै माधव नेपालहरु बाहिरिएसँगै एमालेले पनि काँचुली फेरेको बताए । ‘एमाले फुटेको होइन, बरु काँचुली फेरेको हो, जसरी हरेक वसन्तमा रुखले पालुवा फेर्छ त्यसरी नै एमालेले माधव नेपाल समुह बाहिरिएपछि काँचुली फेरेको छ ।’

नेता बास्कोटाले नेकपा एकीकृत (समाजवादी)का अध्यक्ष माधव नेपाल देशद्रोही र पार्टीद्रोही भएको आरोप लगाए । ‘एउटा उचाईमा पुगेको पार्टीलाई फुटाउने माधव नेपाल राष्ट्रद्रोही हो, पार्टीद्रोही हाे,’ उनले भने । नेपाल बेइमानी र पाखण्डी भएको भन्दै उनले पार्टी छाडेर जानका निम्ति मात्र प्रतिगमन रोक्न भन्दै माधव नेपालहरुले आन्दोलन गरेको बताए ।  

माधव नेपालहरुले नयाँ पार्टी बनेपछि यो चुनावसम्मका लागि मात्र भएको उनले दाबी गरे । ‘माधव नेपालको पार्टीको अस्तित्व छैन, उनले भने, ‘यो पार्टी घाम नझुल्किएसम्मका लागि मात्र हो, शीतजस्तै घाम झुल्केपछि यो आफै बिलाएर जान्छ ।’ अहिले समग्रमा ९.७४ प्रतिशत कार्यकर्ताले एमाले छाडेको भन्दै चुनावमा पुग्दा यो १ प्रतिशतमा झर्ने उनले दाबी गरे । चुनावमा हारेपछि माधव नेपालको पार्टीको अस्तित्व नरहने उनको दाबी छ । ‘माधव नेपाल कहाँ जान्छन् त्यो चुनावपछि हेरौंला, तर उहाँका पछि लागेकाहरु एमालेमै फर्किन्छन्,’ उनले भने ।  

बास्कोटाले वर्तमान सरकार लम्पसारबादी भएको आरोप लगाए । नक्सामा समेटिसकेको लिपुलेक, लिम्पीयाधुरा र कालापानी ल्याउन सरकारले कुनै पहल नगरेर लम्पसारबादी भएको उनको आरोप थियो । साथै जयसिंह धामीको हत्यारा माथि कारवाही गर्नपनि सरकारले भारतमाथि कुनै दवाब दिन नसकेको उनले बताए । ‘जयसिंह धामीको आत्मा महाकाली नदीमा भड्किरहेको छ, तर सरकार मौन छ, मिडिया पनि कुम्भकर्ण निन्द्रामा छन्,’ उनले भने । उनले भारतसँगको सीमा सम्बन्धी समस्या डाइभर्ट गर्न चीनतर्फको सीमाबारे अध्ययन समिति बनाएको आरोप लगाए ।

नेता बास्कोटाले नेपालको न्यायालय पनि सरकार जस्तै कम्फर्टेबल बनेको आरोप लगाए । कसैको ईशारामा न्यायालय चलिरहेको संकेत गर्दै उनले भने, ‘यो सरकार पनि कम्फर्टेबल सरकार हो, अनि न्यायालय पनि कम्फर्टेबल न्यायालय नै हो ।’ उनले अदालतले प्रधानमन्त्री तोकेर संविधानको वलात्कार गरेको समेत आरोप लगाए । बास्कोटाले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादीका पुष्पकमल दाहाल मिलेर मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) ल्याएको र अहिले दाहाल एक्लैले त्यो गिजोल्ने काम गरेको बताए । एमसिसी संसदमा पेश हुनुपर्छ भन्ने पक्षमा एमाले रहेको भन्दै उनले भने, ‘हिजो कृष्णबहादुर महरा सभामुख हुँदापनि पेन्डिङमा राखियो, अहिले अग्नी सापकोटाले पनि रोकेर राखेका छन्, यसलाई संसदमा लगेर छलफल हुन दिनुपर्छ ।’ तर यसलाई पास गर्ने कि फेल गर्ने कुरा सत्तापक्षको हातमा रहेको उनले बताए ।

सत्तापक्षले अगाडि बढाएपछि मात्रै एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने उनको भनाई छ । एमाले राष्ट्रियताको विषयमा स्पष्ट रहेको भन्दै उनले भने, ‘चीनसँग सम्झौता गर्दा साम्यवाद आउने, अमेरिकासँग सम्झौता गर्दा साम्राज्यवाद आउने, अनि भारतसँग सम्झौता गर्दा बिस्तारवाद आउँछ भन्ने लघुताभास एमालेलाई छैन ।’

पूर्व सञ्चारमन्त्री समेत रहेका नेता बास्कोटाले गण्डकी र लुम्विनी प्रदेशमा ल्याइएको आमसञ्चार विधेयक मिडियामाथि अंकुश लगाउने उद्देश्यले आएको भन्दै विरोध जनाए । मिडिया स्वतन्त्र नभएको देशमा लोकतन्त्र जिवित नहुने भन्दै उनले मिडियालाई स्वतन्त्र छाडिनुपर्नेमा जोड दिए । तर मिडियाले व्यवसायिक मर्यादा र पाठकप्रति जवाफदेही भने हुनुपर्ने बताए ।

प्रकाशित: ५ आश्विन २०७८ ०८:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App