coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्र, गणतन्त्र र संविधान बचाउन माओवादी शक्ति एक हुनुपर्छ: प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र, गणतन्त्र र संविधान बचाउन र संविधानविरोधीको षड्यन्त्रलाई परास्त गर्न माओवादी शक्तिहरू एक हुनुपर्ने बताएका छन्।

जसपा र एमालेबाट माओवादी केन्द्रमा आएका एक दर्जन नेता तथा कार्यकर्ताको अध्यक्ष निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले माओवादी शक्तिका बीचमा एकता र सहकार्य जरुरी रहेको बताए। उनले भने, 'सबै विगतका माओवादी आन्दोलनमा रहेका साथीहरू एउटै केन्द्रमा आउने वातावरण बन्दै गएको छ। अहिले नआउने पनि केही समयपछि आउनुहुन्छ।'

उनले माओवादी आन्दोलन र यसले उठाएका एजेण्डालाई राष्ट्रियरूपमा फेरि नयाँ उचाइबाट स्थापित गर्ने तथा आन्दोलन र पार्टीलाई फेरि राष्ट्रको नेतृत्व गर्ने गरी विकास गर्ने अवसर आफूहरूमा रहेको उनको भनाइ थियो। उनले भने, 'समाजवादी क्रान्तिलाई माक्र्सवादी तरिकाले अगाडि बढाउने पार्टीको रूपमा यो पार्टी र नेतृत्वका लागि अन्तिम अवसर पनि हुनसक्छ। एक चोटी राष्ट्रलाई झक्झक्याएर अगाडि लैजाने अवसर पनि हुनसक्छ। सकिएन भने नराम्रो स्थितिमा आन्दोलन जाने खतरा पनि छ। त्यसकारण सबै क्रान्तिकारीहरूले अब ढिला नगरी एकताबद्ध हुने र आत्मसमीक्षासहित जनताको घरघरमा पुग्नुपर्ने भएको छ।'

'हिजो संसद् विघटन गरेर केपी ओलीलाई मद्दत गर्नेहरू एमसिसीमार्फत गठबन्धनलाई टुटाएर फेरि प्रतिगमनमा लैजान सकिन्छ कि भनेर कसरत गरिरहेका छन्', अध्यक्ष प्रचण्डले भने, 'हामीले गठबन्धनमा एमसिसी र गठबन्धन कुन मुख्य हो भनेर छलफल पनि गरेका छौँ। गठबन्धन रक्षा नै राष्ट्र, संविधान र गणतन्त्रको हितका लागि मुख्य हो। एमसिसी परिमार्जन र संशोधनबिना पास गर्न सकिन्न र राष्ट्रिय सहमति नबनाई यस्तो डरलाग्दो कुरामा हात हाल्न पनि हुन्न।'

फरक प्रसङगमा अध्यक्ष दाहालले आन्दोलनको विकासको क्रममा अभिभावकत्व गरिसकेपछि र त्यसलाई सिङ्गो कम्युनिष्ट पार्टी र जनताले अभिभावकको रूपमा स्वीकारेपछि त्यो आन्दोलनका कोही पनि सहयात्री दायाँबायाँ हुँदा बुझाउन र सम्हाल्न सकिएन भन्ने पीडा हुने विचार व्यक्त गरे। उनले भने, 'पार्टी प्रवेशले बलियो सन्देश दिएको छ। तपाईँहरूले जिम्मेवारीको चिन्ता नलिनु होला।'

प्रकाशित: ४ आश्विन २०७८ ०४:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App