coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

फेवाताल मिचेर खानेलाई चैनसँग सुत्न दिन्नौः वाईसिएल संयोजक

प्रेस संगठन कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा योङ कम्युनिष्ट लिग (वाईसिएल)का केन्द्रीय संयोजक सुमन देवकोटा (दायाँबाट दोश्रो) । तस्बिरः उमेश पुन÷नागरिक

एकीकृत नेकपा माओवादी निकटको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) का केन्द्रीय संयोजक सुमन देवकोटाले फेवाताल मिचेर खाने जो कोहीलाई चैनसँग सुत्न नदिने चेतावनी दिएका छन् । वाईसिएलको केन्द्रीय संयोजक भएर पहिलोपटक पोखरा आएका देवकोटासँग प्रेस संगठन कास्कीले शनिबार पोखरामा गरेको पत्रकार भेटघाटमा उनले फेवा लगायतका सार्वजनिक सम्पती हडप्नेलाई चैनसँग सुत्न नदिने बताए ।  

‘फेवाताल मिचेर खानेले चैनको निद्रा सुत्न पाउँछन् जस्तो मलाई लाग्दैन,’ उनले भने, ‘वाईसिएलले हिजोकै रुपमा प्राकृतिक सम्पदा हडप्ने, मिच्ने, कब्जा गर्ने अपराधीलाई सडकमा ल्याउँछ ।’ उनले फेवाताल मात्र नभई राज्यको सम्पती दोहन गर्ने सबै खालका अपराधीलाई नछाड्ने बताए । ‘जसले भ्रष्टाचार, अनियमितता र सामाजिक अपराध गर्छ, त्यसको बिरुद्धमा हामी आन्दोलन गर्छौ,’ उनले भने ।

वाईसिएल संयोजक देवकोटाले वाईसिएलले पालिकाहरुमा भएको भ्रष्टाचारको खोजी गरेर सार्वजनिक गर्ने बताए । ‘अहिले महालेखा परीक्षकको कार्यालयले पालिकामा भएको भ्रष्टाचारहरुको उजागर गरेको छ,’ उनले भने, ‘हामीले सरकारलाई सातसय ५३ वटै स्थानीय तहमा भएको भ्रष्टाचारको खोजि गरोस् भनेर ज्ञापनपत्र बुझाईसकेका छौं, अब वाईसिएलले पनि प्रत्येक स्थानीय तहमा भएको भ्रष्टाचारको खोजी गर्छ ।’  

उनले पोखरा महानगरपालिकामा भएको ७० करोड रुपैयाँको बेरुजुपनि एक प्रकारको भ्रष्टाचार भएको बताउँदै त्यसको हिसाबकिताब खोजिने बताए । उनले महानगरको १३ करोड रुपैयाँ गायब भएको विषयमा मसिनो गरि खोजि गरिने बताए ।

देवकोटाले सरकारको पछिल्लो हर्कतले आफूहरुलाई झस्काएको बताए । तानाशाह केपी शर्मा ओलीलाई ढालेर आएको वर्तमान सरकारको दल फुटाउने अध्यादेश र एमसिसिका विषयमा भइरहेको षडयन्त्रले आफूहरुलाई झस्काएको उनको भनाई थियो । वाईसिएलका लागि देशको राष्ट्रिय अखण्डता, स्वाधिनता, सार्वभौमसत्ता र संविधान सबैभन्दा माथि भएको बताउँदै उनले भने, ‘एमसिसि आउँदैमा सबैकुरा बिग्रिहाल्छ, भत्किहाल्छ, सिद्धिन्छ भन्ने पक्षमा वाईसिएल छैन, तर देशको राष्ट्रिय अखण्डता, स्वाधिनता, सार्वभौम सत्ता र संविधानलाई बन्दकी राखेर कुनैपनि देशको अनुदान र सहयोग वाईसिएललाई स्वीकार्य हुँदैन ।’ एमसिसिमा भएका केही प्रावधानका कारण देशको राष्ट्रियता खतरा पर्ने उनले बताए ।

संयोजक देवकोटाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा देखाएको हर्कत तुच्छ खालको भएको टिप्पणी गरे । एमालेकै कारण अहिले बजेट खर्च गर्न नपाउने स्थितिमा पुगेको र यसका कारण जनताले महंगीलगायतको समस्या भोग्नुपरेको भन्दै एमालेलाई सो हर्कत सुधार्न आग्रह गरे । ‘एमालेको हर्कतले संसदीय ब्यबस्थाको खिल्ली उडाएको छ,’ उनले भने, ‘कि त ब्यबस्था नै खराब हो भन्नु प¥यो । माओवादीले त पहिलेदेखि नै सासकीय ब्यबस्था सुधार्नुपर्छ भनिरहेकै हो, कि एमाले पनि माओवादी केन्द्रको एजेण्डामा आउनुप¥यो, होइन भने वर्तमान ब्यबस्थाको बिरुद्धमा पनि हर्कत गरिरहने काम अन्तरविरोधी भएकाले सुधार्न म आग्रह गर्दछु ।’

उनले बन्द रहेका भृकुटी कागज कारखाना, गोरखकाली रबर उद्योगलगायतका उद्योगहरु सञ्चालनका लागिे पहल गर्ने बताए । ‘यी उद्योग चलाउन हामी तयार छौं, युवाहरुलाई रोजगारी पनि दिन्छौं, उत्पादन गर्छौं र नाफा कमाएर सरकारलाई फाईदा दिन्छौ,’ उनले भने । संयोजक देवकोटाले वाईसिएलले प्रत्येक निर्वाचन क्षेत्रमा स्वयंसेवक दस्ता र पालिका र प्रत्येकवडामा स्पेसल टास्क फोर्स बनाउने जानकारी दिए । त्यसले लड्ने भिड्ने नभई भ्रष्टाचारबिरुद्ध क्याम्पेनिङ गर्ने, युवालाई उत्पादनमा जोड्ने, संगठन बिस्तार र प्रचारप्रसार गर्ने उनले प्रष्ट्याए ।  

संयोजक देवकोटाले युवालाई राज्य र पार्टीको नीति निर्माण तहमा पु¥याउन वाईसिएलले भूमिका खेल्ने बताए । उनले भने, ‘युवाहरु ढुंगामुढा गर्ने, नेताको गुलामी वा वरिपरि हिंडेर आदेशको पालना गर्ने होइन, उनीहरुलाई राज्य, पार्टीको नीति निर्माणको तहमा पु¥याउन भूमिका खेल्दै आएको थियो, अब पनि त्यो भूमिका खेल्छ ।’

प्रकाशित: २ आश्विन २०७८ १०:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App