८ वैशाख २०८१ शनिबार
राजनीति

अधिवेशन अन्यौलताले बाँकेका कांग्रेस कार्यकर्ता निराश

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सरगर्मी यतिबेला देशव्यापी रुपमा बढिरहेको छ। पार्टी अधिवेशनको सरगर्मी छिमेकी जिल्लामा बढिरहे पनि बाँकेमा भने अहिलेसम्म अधिवेशनको तयारी नै छैन। छिमेकी जिल्ला दाङ लगायतले आफ्ना वडा अधिवेशन सम्पन्न गरिसक्दा बाँकेको अधिवेशन अन्यौलमै परेको हो। अधिवेशन गर्ने टुंगो नलाग्दा कांग्रेस कार्यकर्ताहरु यतिबेला निराश भएका छन्। बाँकेमा अहिलेसम्म कुनैपनि वडाको अधिवेशन हुन सकेको छैन।  

केन्द्रले अधिवेशन हुन नसकेका बाँकी जिल्लाका लागि पछिल्लो पटक असोज ५ गते अधिवेशन तोकेपनि अहिलेसम्म कुनै सुरसार छैन। ‘छिमेकी जिल्लामा धमाधम अधिवेशन भएर साथीहरुले जिम्मेवारी पाइसकेका छन्, हाम्रोमा त अहिलेसम्म अधिवेशनको टुंगो नै छैन, पार्टीको अवस्था देखेर चिन्ता लाग्छ,’ नेपालगन्ज–१० कांग्रेस कार्यकर्ता मोहन थापाले भने। क्रियाशील सदस्यता वितरण विवादलाई लिएर अधिवेशनलाई अन्योलमा पारिएको नेपाली कांग्रेस बाँकेले जनाएको छ।  

कांग्रेस बाँकेका सभापति किरण कोइराला अधिवेशनको टुंगो नलाग्दा कार्यकर्ताहरु अहिले निकै निराश भएको बताउँछिन्। ‘विपीले सुरुवात गरेको नेपाली कांग्रेस र त्यतिबेलाका नेताहरुले जसरी यसलाई गति दिए, अब अहिले पार्टीको यो स्थिती देख्दा मान्छेहरु निराश छन्,’ उनले भनिन्।  

पार्टीको गतिविधिले सबै बाँकेका कार्यकर्तामा निराशा छाएको सभापति कोइरालाको भनाइ छ। कोइरालाले थपिन्, ‘कार्यकर्ताले आफ्नो हिसाबले भोट दिन पाएका छैनन्, वडाले निर्णय गरेर पठाएको सदस्यता पाएका छैनन्, यसले गर्दा अहिले वास्तवमा निराशा छाइरहेको छ।’ पार्टी कार्यकर्तामा उत्सुकता नै हराइसकेको कोइरालाले सुनाइन्।  

पार्टी अधिवेशन गराउने÷नगराउने हात केन्द्रकै भएकाले जिल्लामा अधिवेशनको कुनै तयारी नभएको उनको भनाइ छ। ‘बाँकेका क्रियाशील सदस्यको लिष्ट अहिलेसम्म पनि फाइनल भएको छैन, हामी कुरेर बसिरहेका छौं,’ उनले भनिन्।  

नेपाली कांग्रेसले बाँकेलगायत केही जिल्लामा विवाद रहेको भन्दै त्यहाँ अधिवेशन रोकेको छ। बाँकेको क्रियाशील सदस्य संख्या अझै एकिन भएको छैन। समयमा क्रियाशील सदस्यताको टुंगो नलाग्नु, समयमा अधिवेशन नहुनु राम्रो लक्षण नभएको नेपाली कांग्रेस बाँकेका नेता निरन्जनसिंह सिजापति बताउँछन्।  

‘यो कांग्रेसका लागि राम्रो लक्षण होइन, पहिले नै राम्रो वा नराम्रो जे जसरी भएपनि अधिवेशन टुंग्याउनुपथ्र्यो,’ उनले भने ‘पार्टीभित्र आपसमा बाझाबाझको अवस्था छ, क्रियाशीलको टुंगो नलाग्दा कुनै पनि कार्यकर्ता ढुक्क हुने स्थिति छैन, कतै मेरै नाम क्रियाशीलमा आउँछ वा आउँदैन, ढुक्क हुने अवस्था छैन।’ पार्टी विधि र पद्दतिमा चल्नुपर्ने नेपाली कांग्रेस आफैले तोकिएको समयभित्र अधिवेशन गर्न नसक्दा आमकार्यकर्तामा निराशा छाएको नेता सिजापति बताउँछन्। ‘अधिवेशन अनिश्चितताको अवस्थाले गर्दा सबै कार्यकर्तालाई निराश पारेको छ,’ उनले भने।  

पार्टी केन्द्रले बाँकेलाई विवादित जिल्लाको सूचीमा राखे पनि यहाँका नेता, कार्यकर्ता खासै विवाद नरहेको जिकिर गर्छन्। क्रियाशील सदस्यता वितरणमा देखिएको सामान्य विवादलाई केन्द्रका नेताले नै झन् विवादमा ल्याएको अधिकांसको गुनासो छ। जिल्ला सभापति कोइराला पनि बाँकेमा आफूले खासै विवाद नदेखेको तर्क गर्छिन्। ‘मैले त बाँकेमा विवाद नै देखेको छैन, तैपनि यो जिल्लालाई विवादित बनाइयो,’ उनले भनिन् ‘केन्द्रको निर्देशनअनुसार वडा समिति नै पावरफुल बनाउने, वडाको निर्णय गरिसकेपछि त्यो निर्णयलाई गाउँनगरले ओके गर्छ, गाउँनगरले गरिसकेपछि प्रदेशले, प्रदेशले गरिसकेपछि क्षेत्र, जिल्ला हुँदै केन्द्रमा जान्छ, त्यहाँ केही तलमाथि पर्यो भने जिल्लाकै छानविन समितिले त्यसलाई हेर्न पाउनुपर्छ, तर आजसम्म पनि अधिवेशन गर्नलाई सदस्यताको लिष्ट आएको छैन।’ क्रियाशील सदस्यता वितरणको विवाद टुंग्याईदिन आफूले केन्द्रीय छानविन समितिका सदस्यलाई धेरैपटक आग्रह गरेको बताइन्।

आसन्न महाधिवेशनका लागि बाँकेबाट कति जनाको सदस्यता सिफारिस भएर गएको छ, त्यसबारे पनि आफु अनविज्ञ रहेको सभापति कोईराला बताउँछिन्।  

पार्टी भित्रको गुटबन्दीले पार्टीलाई नै कमजोर बनाउने उनको बुझाइ छ। यसले आगामी स्थानीय, प्रदेश र संघको निर्वाचनमा पार्टीलाई प्रत्यक्ष असर गर्ने सभापति कोइराला ठोकुवा गर्छिन्। ‘कार्यकर्ताको मनोबल खस्किरहेको छ, पार्टीमा लगानी गरेका जुन कार्यकर्ताहरु छन्, तिनलाई माईनस गरेर आफ्नो मान्छेलाई स्थापित गर्दाखेरी असर पर्छ,’ उनले भनिन् ‘जो रियल नेपाली कांग्रेसका कार्यकर्ता थिए, तिनलाई माईनस गर्ने वित्तिकै मान्छेको उत्साह खत्तम भईहाल्छ, चुनाव आईरहेको छ, चुनावमा त मान्छेमा जुझारुपन नै हराएर जान्छ।’  

कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको गृह जिल्लासमेत रहेको बाँके कांग्रेसमा आसन्न अधिवेशनबाट नेतृत्वमा आउन नेताहरुबीच तछाडमछाड छ। जिल्ला नेतृत्वका लागि करिव एक दर्जन नेता आकांक्षी छन्। यस्तै पार्टीको तीनवटा क्षेत्रीय समितिमा पनि नेतृत्वमा आउन कडा प्रतिस्पर्धा छ। आम चासोका रुपमा रहेको नेपालगन्ज उपमहानगर समितिमा पनि तीनजना आकांक्षी रहेका छन्।  

प्रकाशित: २ आश्विन २०७८ ०९:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App