१६ चैत्र २०८० शुक्रबार
राजनीति

सक्रिय सदस्यता विवाद टुंग्याउन कांग्रेसमा छलफल

कांग्रेसका शीर्ष नेता २० जिल्लामा रहेको सक्रिया सदस्यता विवाद टुंग्याउन छलफलमा जुटेका छन्। यी जिल्लामा सक्रिय सदस्यता विवाद टुंगिन नसक्दा वडा अधिवेशन हुन सकेको छैन। विवादकै कारण वडा अधिवेशन असोज ५ गतेलाई तय गरिएको छ। बाँकी ५७ जिल्लामा भने भदौ १८ देखि २१ गतेसम्म वडा अधिवेशन सम्पन्न भइसकेको छ।  

क्रियाशील सदस्यताबारेको विवाद टुंगो लगाउन गठित कार्यदलले समयमा क्रियाशील सदस्यको सूचि उपलब्ध गराउन नसकेपछि २० जिल्लाको वडा अधिवेशन सरेको हो।

वडा अधिवेशनको मिति आउन चार दिनमात्रै बाँकी रहँदा पनि विवाद भने सुल्झिन सकेको छैन। यही विषयमा निकास निकाल्न शुक्रबार सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता छलफलमा जुटेका थिए। छलफलमा नेता रामचन्द्र पौडेल तथा कार्यदलका सदस्य सहभागी थिए। देउवाले शशांक कोइराला, प्रकाशमान सिंह, रमेश लेखक तथा मीनेन्द्र रिजालसँग पनि छलफल गरेका छन्। छलफलमा सहभागी हुन नेता पूर्णबहादुर खड्का पनि बालुवाटार पुगेका थिए।  

क्रियाशील सदस्यता छानबिन समितिका सदस्य जीवन परियारले १३ जिल्लाको क्रियाशील सदस्य सूचि सार्वजनिक गर्ने विषयमा छलफल केन्द्रित भएको बताए। ‘अहिलेसम्म टुंगो लागेको छैन। भोलि (शनिबार) टुंगो लाग्ने सम्भावना छ’, उनले भने। कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले पनि शनिबार बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता टुंगो लाग्ने बताए। उनले शनिबार नै कार्यदलले १३ जिल्लाको क्रियाशील सदस्यको सूचि निर्वाचन समितिलाई उपलब्ध गराउने तयारी भएको जानकारी दिए।

२० जिल्लामध्ये सात जिल्लाको क्रियाशील सदस्य सूचि भने सार्वजनिक भइसकेको छ। बुधबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले काठमाडौं, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया, बाजुरा जिल्लाको क्रियाशील सदस्य सूचि सार्वजनिक गरेको हो। कांग्रेसको काठमाडौं जिल्ला समितिले असोज ५ गते वडा अधिवेशन गर्ने तयारी अघि बढाएको छ। यसैगरी सूचि सार्वजनिक भएका अन्य जिल्ला पनि वडा अधिवेशनको तयारीमा जुटेका छन्।  

कांग्रेसले यही भदौ १८ गतेदेखि वडा अधिवेशन सुरु गरेको हो। सबै जिल्लामा वडा अधिवेशन हुन नसकेपछि महाधिवेशन कार्यतालिका प्रभावित भएको छ।

प्रकाशित: २ आश्विन २०७८ ०१:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App