८ वैशाख २०८१ शनिबार
राजनीति

सामाजिक विकास मन्त्रीद्वारा दुर्घटनाका घाइतेसँग भेट

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले बुधबार भएको बस दुर्घटनाका घाइतेहरुलाई अस्पताल पुगेर भेटेका छन्। सुर्खेतबाट जुम्ला जाँदै गरेको भे१ख २५७४ नम्वरको फोर्स गाडी वीरेन्द्रनगर–२ स्थित रेडियो नेपाल नजिकै दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका ११ मध्ये पाँच जनाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ।

सामाजिक विकास मन्त्री बुढाक्षेत्री अस्ताल पुगेर घाइते र आफन्तहरुसँग भेट गरेका थिए। उनले दुर्घटनाका घाइतेको उपचारलाई प्राथमिकता दिन अस्पताल प्रशासनलाई निर्देशन दिए। ‘दुर्घटनाका घाइतेको उपचारका लागि प्रदेश सरकार गम्भीर छ,’ उनले भने, ‘घाइतेको प्रभावकारी उपचारमा ध्यान दिन अस्पताल प्रशासन र चिकित्सकलाई निर्देशन दिएको छु।’

सामाजिक विकास मन्त्री बुढाक्षेत्रीले दुर्घटनामा गम्भीर घाइते भएकाहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन पनि निर्देशन दिए। जुम्लाकी पम्फा परियार, छ महिने छोरी आशिका र तीन वर्षे छोरा आशिकको अवस्था गम्भीर छ।

अस्पताल निर्देशक डा. डम्वर खड्काले दुर्घटनाका घाइतेहरुको उपचारमा अस्पताल प्रशासन गम्भीर रहेको बताए। उनले घाइतेको उपचारमा आवश्यक सबै व्यवस्था गरिएको बताए। ‘दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई विशेष निगरानीमा राखेर उपचार गरिरहेका छौं,’ उनले भने। पम्फाका छ महिने छोरीको आइसियूमा राखेर उपचार भइरहेको छ।

अन्यको अवस्था सामान्य बन्दै गएको उनले बताए। यस्तै सामाजिक विकास मन्त्री बुढाक्षेत्रीले कोरोना संक्रमण भएर प्रदेश कोभिड अस्पतालमा उपचाररत शिक्षा विकास निर्देशनालय सुर्खेतका उपसचिव हेमराज पोखरेललाई भेटेका छन्।  

पोखरेललाई मंगलबार कोरोना संक्रमण देखिएको थियो। सामाजिक विकास मन्त्री बुढाक्षेत्रीले कोरोना संक्रमितको उपचारलाई प्रभावकारी बनाउन पनि निर्देशन दिए। प्रदेश कोभिड अस्पतालमा हाल सात जना संक्रमितहरुको उपचार भइरहेको छ।

प्रकाशित: ३० भाद्र २०७८ ११:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App