१५ चैत्र २०८० बिहीबार
राजनीति

शंकर पोखरेलविरुद्ध अपहरण मुद्दा: सांसद् बिमला भन्छिन्- मलाई सिध्याउन खोज्नेलाई छोड्दिन

लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध शरिर बन्धक तथा अपहरण मुद्दा दर्ता भएको छ। लुम्बिनी प्रदेशका सांसद बिमला खत्री ओलीले पोखरेलविरुद्ध बुटवल प्रहरीमा मुद्दा हालेकी हुन्। सांसद बिमलाले मुख्यमन्त्री पोखरेलसहित चार जनाले आफूलाई दाङबाट अपहरण गरेको र बुटवल पुर्‍याएर बन्धक बनाएर राखेको उल्लेख गरेकी छिन्। मुख्यमन्त्री पोखरेलसंगै एमाले लुम्बिनी प्रदेश प्रमुख सचेतक मुमिश्वर ढकाल, पोख्रेलका नीजि सचिवालएका तिरन गौतम र एमाले दाङका नेता मानबहादुर रावतविरुद्ध मुद्दा दर्ता गरेकी हुन्।

प्रदेश प्रमुखले प्रदेशको विशेष अधिवेशन आह्वान गरेपछि सांसद बिमला केहि दिन बेपत्ता भएकी थिईन्। बेपत्ता भएको केहि दिनपछि सार्वजनिक भएकी उनले आफूलाई अपहरण गरि बन्धक बनाएर राखेको सार्वजनिक गरेकी थिईन्। पोखरेल अल्पमतमा पर्ने निश्चित भएपछि पोखरेलले सांसद बिमलालाई मुख्यमन्त्री कार्यालयमै बन्धक बनाएर राखेको आरोप लागेको थियो। त्यो बेला सांसद बिमला मुख्यमन्त्री कार्यालयबाट भाग्न सफल भएको बताएकी थिईन्।  

‘तैपनि म त्यो बेला मुद्दा मामिला गर्ने पक्षमा गईनँ,’ पोखरेलविरुद्ध मुद्दा दर्ता गरेपछि सांसद बिमलाले नागरिकसंग भनिन् ‘त्यो बेला मैले मानवता हेरेको हुँ।’ तर एमालेले सांसद बिमला आफ्नै पार्टीका सांसद रहेको भन्दै उनलाई कारबाहीको प्रकृया थालेपछि उनि मुद्दा दर्ताको निर्णयमा पुगकी हुन्। उनलाई सांसद पदबाट मुक्त गर्न माग गर्दै एमालेले सर्वोच्चमा मुद्दा दायर गरेको छ। आफूलाई सिध्याउन लागि परेको आक्रोशमा रहेकी सांसद बिमलाले आफूलाई सिध्याउन खोज्नेहरुलाई आफूले पनि नछोडने बताईन्।

‘मलाई उहाँहरुले सिध्याउन हरेक हतकण्डा अपनाउनु भयो, मलाई शान्त संग बस्नै दिनु भएन,’ सांसद बिमलाले भनिन् ‘अब म पनि चुप लागेर बस्ने अवस्थामा रहिन, मलाई सिध्याउनेहरुलाई म पनि नछोड्ने निर्णयमा पुगेकी हुँ , म पनि उहाँहरुविरुद्ध अब कानुनी लडाईँमै उत्रिएँ, म माथि गरिएको अपराधको सजाय उहाँहरुले पाउनु हुने छ।’

रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोज केसीले मुख्यमन्त्री पोखरेलविरुद्ध मुद्दा परेको र उक्त मुद्दा दाङ प्रहरीमा रेफर गर्न थालिएको बताए। उनले सांसद बिमलाले उल्लेख गरेको मुद्दाकाे घटना सुरुवात दाङ भएकाले मुद्दा पनि दाङ प्रहरीमै पठाउन थालिएको बताए। ‘उहाँले उल्लेख गर्नुभएको घटना दाङबाटै सुरुवात भएको छ,’ एसपी केसीले भने ‘दाङ नै घटनाको सुरुवात स्थान भएकाले मुद्दा पनि दाङमै पठाउन थालेका हौँ।’ उनले आजै मुद्दा दाङ प्रहरीमा पठाउने बताए।

संसदमा तत्कालीन मुख्यमन्त्री पोखरेलले बिश्वासको मत लिनु पूर्व सांसद बिमलालाई दाङबाट अपहरण गरिएको भनिएको थियो। सांसद खत्रीका अनुसार उनलाई नेपालगन्जस्थित माईती घरमा पुर्याईदिने भन्दै गाडीमा राखेको र सिधै बुटवल पुर्याएको आरोप सांसद खत्रीको छ।  

सांसद खत्रीले दिएको उजुरी अनुसार अदालतले कसुर ठहर गरेमा पोखरेलसहित चारजनालाई ७ वर्षदेखि १० वर्षसम्म कैद सजाय र ७० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने छ।

प्रकाशित: ३० भाद्र २०७८ ०४:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App