coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमाले अध्यक्ष ओली आउने कार्यक्रमले लुम्बिनीको संसद् बैठक सारियो

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रुपन्देहीमा पार्टीको कार्यक्रममा आउने भएपछि लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक फेरि स्थगित भएको छ। नवौ अधिवेशनको पाँचौ बैठक बिहीबार दिनको एक बजे बोलाइएको थियो।

बुधबार प्रदेशसभा सचिवालयले सूचना टाँसेर संसद् बैठक स्थगित भएको जानकारी गराएको छ। नेकपा एमाले संसदीय दलले पार्टी अध्यक्ष ओली बुटवल आउने आफूहरु सोही कार्यक्रममा व्यस्त हुने जानकारी गराएपछि संसद् बैठक एक दिन पछाडि सारिएको लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।  

जिल्ला पार्टीका जिल्लास्तरीय कार्यक्रममा हुने भए संसद् बैठक स्थगित गर्ने पूर्व सहमतिअनुसार बिहीबारको बैठक स्थगित भएको नेकपा एमाले संसदीय दलका दलका प्रमुख सचेतक भूमिश्वर ढकालले बताए। ‘बिहीबार बुटवलमा हुने जिल्लास्तरीय कार्यक्रमलाई सम्बोधन गर्न पार्टी अध्यक्ष ओली आउँदै हुनुहुन्छ,’ उनले भने, ‘यस अघिको सहमति अनुसार संसद् बैठक स्थगित गर्न अनुरोध गरेका थियौं।’

पार्टीका जिल्लास्तरीय कार्यक्रम र संसद् बैठकको दिन जुध्न गए संसद् बैठक सार्ने परम्परा भएको भन्दै उनले शुक्रबार बोलाइएको संसद् बैठक भने माग पूरा नभए अवरोध गर्ने जनाए। ‘सरकारले माग पूरा नगर्दासम्म संसद् बैठक अवरोध गर्छाैं,’ उनी भन्छन्, ‘माग सम्बोधन गरेर संसद् सुचारु गर्ने विषयमा सरकारले प्रमुख प्रतिपक्ष दलसँग कुनै संवाद गरेको छैन।’

यसभन्दा अघि विपक्षी दलका माग सम्बोधन नभएको भन्दै नेकपा एमालेले निरन्तर संसद् स्थगित गर्दै आएको छ।

प्रकाशित: २९ भाद्र २०७८ १४:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App