८ वैशाख २०८१ शनिबार
राजनीति

कार्वाही गरेका सांसद संसद बैठकमा हुन्जेल अवरोध रहन्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले कार्वाही गरेका १४ सांसद प्रतिनिधिसभामा उपस्थित रहुन्जेल संसदको अवरोध जारी रहने बताएका छन्। मंगलबार झापाको विर्तामोडमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले कार्वाही गरेर हटाएका सांसद प्रतिनिधिसभा बैठकमा उपस्थित रहुन्जेल संसद अवरोध जारी रहने बताएका हुन्।  

एमाले फुटाउने अपराधिक मानसिकताले सरकारले दल फुटाउने अध्यादेश ल्याएको र एमाले फुटाउन सभामुख षड्यन्त्रकारीहरूको मतियार बनेको ओलीले आरोप लगाए। उनले भने ‘एमाले फुटाउने अपराधिक मानसिकताले सरकारले दल फुटाउने अध्यादेश ल्यायो यो काममा सभामुख षडयन्त्रकारीको मतियार बने।’ उनले सभामुखले तटस्थ भूमिका नखेली कुनै एउटा दलको कार्यकर्ताको व्यवहार गरिरहेको आरोप लगाए।

सभामुखले संसद चलाउन नसकेर गैर सांसदलाई सभामा उपस्थित गराईरहेको टिप्पणी  गरे।   एमालेले कार्वाही गरेका सांसदलाई सभामा राखेकाले एमालेले विरोध गरेको बताउँदै उनले गैर सांसद राखेर सभा चलाउने बलमिच्याइविरुद्ध एमालेले निरन्तर संसदमा विरोध गरिरहने स्पष्ट पारे। उनले नेकपा एमालेलाई सरकारबाट हटाउने काम एमाले भित्रैबाट माधवकुमार नेपालले गरेको बताए। के आधारले माधव नेपाललाई भोट दिने भन्दै उनले १४ महिनापछि भएपनि निर्वाचन हुने र त्यतिबेलै माधव नेपालले आफ्नो हैसियत देख्ने बताए।

‘माधवकुमार नेपालले आगामी चुनावमा आफ्नो हैसियत देख्छन्’ ओलीले भने, ‘माधव नेपालले वडा अध्यक्ष त के वडा सदस्य पनि जित्दैन।’ माधव नेपालले कहिलै पार्टी हितमा काम नगरेको ओलीको टिप्पणी छ। माधवकुमार नेपालले पहिले नेतृत्व लिंाँ पनि पार्टीको हितमा काम नगरेको उनले बताए।  माधव नेपालले  नेतृत्व गर्दा २ सय ४० सिटमा ३३ सिटमा एमालेलाई झारेको, १६ वर्ष एमालेको नेतृत्व गरेपनि पार्टीको हितमा काम नगरेकै कारण असक्षम भएर पार्टीको महासचिव र प्रधानमन्त्रीबाट राजीनामा दिएका आरोप लगाए। उनले भने ‘माधव नेपालले सँधै पार्टीलाई रसातलमै पुर्याउन भूमिका खेलेका कारण माधव नेपाल चोइटिएर जाँदैमा पार्टीलाई कुनै असर गर्दैन।’  

ओलीले नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा विभाजन नभएको दाबी गर्दै प्रचण्ड एउटा गुट लिएर मात्रै गएको बताए। ‘प्रचण्ड एउटा गुट लिएर गएका हुन्। माधव नेपाल चोइटिएर गएका हुन्’ उनले भने ‘पार्टी फुटेको छैन।’ ओलीले प्रचण्डको मोहजालमा नपरी पार्टीमा फर्कन र एकताबद्ध हुन उनले सबै कार्यकर्तालाई आग्रह पनि गरे।

कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा अधिकांश समय प्रचण्ड र माधव नेपालको आलोचनामा बिताएका ओलीले मान्छे भुलाउन सिपालु प्रचण्ड जादुगरजस्तै भएको टिप्पणी गरे। प्रचण्ड छट्टु, बैमान र धोकेबाज नेता भए पनि असल बाउ, काका, मामा र ससुरो भएको ओलीको भनाइ छ। उनले भने ‘प्रचण्ड असल बाबु, ससुरो, काका, मामा भएपनि नेताका रुपमा उनि धोकेबाज, बेइमान र छट्टु हुन्।’

ओलीले प्रचण्डको पछि लागेर जिन्दगी बर्बाद नपार्न कार्यकर्ताहरूलाई आग्रह गरे। फुटेर, चोइटिएर पनि अझै नेकपा एमाले नै संसदमा पहिलो ठूलो पार्टी रहेको बताउँदै उनले एमाले फुटेको मौका छोपेर चुनाव गरिहाल्न सरकारलाई सुझाव दिए। उनले भने ‘एमाले फुटेको मौका छोपेर चुनाव गरिहाल त्यतिखेर थाहा पाउँछौं। जनताले के भन्छन्?’ एमालेलाई षड्यन्त्रपूर्वका फुटाए पनि सिंगो पार्टीले हिम्मत नहारेको र आगामी तीन तहकै निर्वाचनमा पनिं एमालेकै जीत हुनेसमेत उनले दाबी गरे। माधव नेपाल र प्रचण्डलाई लक्षित गर्दै उनले भने‘पिलो निचोरेर फाल्दैमा शरिरको तौल घट्दैन। पतकर झरेर खोला थुनिँदैन।’

एमालेको सरकारले ३ वर्षमा गरेका विकास निर्माणका काम स्मरण गर्दै उनले प्रतिक्रियावादीहरुले विकास देख्न नसकेर पार्टी भित्रकै केही व्यक्तिलाई उचालेर सरकार ढाल्न लगाएको उनले बताए।  जनदेशको सरकार हटाएर बनेको वर्तमान परमादेशको सरकार बनेको २ महिना बित्दासमेत पूर्णता दिन नसकेर बहुमूल्य समय खेर फालिरहेको उनको भनाइ छ।  जनादेशबाट आएको सरकार चुनावदेखि थरर भएको र चुनावपछि एमालेले मात्रै सरकार बनाउन सक्ने ओलीले दाबी गरे।

प्रकाशित: २९ भाद्र २०७८ १३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App