coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सदनमा ढाडमा टेक्ने ती सांसद...

प्रतिनिधिसभाको आइतबारको बैठकमा एमाले सांसदले मर्यादित भएर नाराकाजी गरे। दुईपटक चलेको बैठकमा उनीहरूले नारामात्र लगाए, अघिल्ला दिनमा जस्तो अशोभनीय गतिविधि गरेनन्। नाराबाजी भएपछि बैठक कार्यसूचीमा प्रवेश नगरी भदौ २९ गतेसम्मका लागि स्थगित गरियो।  

एमाले संसदीय दलको आइतबारको बैठकमा दलका नेता केपी ओलीले सांसदलाई मर्यादित भएर संसद् बैठकमा प्रस्तुत हुन निर्देशन दिएपछि उनीहरूले नारामात्र लगाएर विरोध प्रकट गरेका हुन्। ओलीले सभामुखको अघिको बेलबाहिर नजान, सत्तापक्ष कडा भए कडा नारा र नरम भए नरम नारा लगाउन निर्देशन दिएका थिए। 

प्रतिनिधिसभाको बुधबार र शुक्रबारका बैठकमा एमाले सांसदले सभामुखको व्यवहार निष्पक्ष नभएको र सरकारले विपक्षको कुरा नसुनेको भन्दै उत्ताउलो पाराले अशोभनीय गतिविधि प्रदर्शन गरेपछि सर्वत्र निन्दा भएको थियो। संसद्मा विरोध प्रदर्शनका नाममा पार्टीकै बदनाम हुने स्थिति आउन नदिन मर्यादित भएर विरोध प्रकट गर्न ओलीले सांसदलाई निर्देशन दिनुपरेको हो।

बजेट अध्यादेश प्रतिस्थापन विधेयक पेस गर्ने क्रममा शुक्रबार एमाले सांसद रेखाकुमारीले गृहमन्त्रीको टेबुलको माइक खोसेकी थिइन्। उनले बैठक कक्षबाट बाहिरिएपछि माइकले हानेर सभामुखको टाउको फुटाइदिन खोजेको तर मर्यादापालकले रोकेको प्रतिक्रिया दिएकी थिइन्। 

यसअघिका बैठकमा एमालेका अर्का सांसद लालबहादुर थापाले मर्यादापालकले रोक्ने खोजेपछि हात टोकिदिएका थिए। त्यस्तै सांसद गंगा चौधरी सत्गौवा, नारदमुनि राना, आशा विक र नरबहादुर धामी एमालेकै अन्य सांसदको बुई चढेर रोष्ट्रमतर्फ जान खोजेका थिए। उनीहरूलाई रोक्न मर्यादापालकलाई हम्मे–हम्मे परेको थियो। घम्साघम्सीमा टेबुल भाँच्चिएका थिए। तर, आइतबारको बैठकमा संसदीय दलको निर्देशनअनुसार संयमित भएर नाराबाजी र विरोध प्रकट गर्नुपर्ने भएपछि अघिल्ला दिनका बैठकमा उत्ताउला प्रदर्शन र जोरजुलुम गरेका सांसदमध्ये कोहीले मास्क लगाएर कुनामा बसेर नाराबाजी गरे भने कोही अनुपस्थित भए।  

सदनमा बेलाबेलामा राजनीतिक दलका सांसदबाट हुने अशोभनीय गतिविधिले राजनीतिमा जबरजस्ती गर्ने प्रवृत्तिले पश्रय पाउँदो छ। ‘सबैलाई सत्ता र मन्त्री चाहिएको छ, संसद्मा उफ्रिने, टेबुल भाँच्ने, माइक भाँच्ने, उत्ताउला नाराबाजी गर्दा मन्त्री हुन पाइन्छ, नेतृत्वको नजिक हुन पाइन्छ भन्ने सोचले सांसदले गलत अभ्यास गरिरहेको देखिन्छ’, एक राजनीतिक विष्लेषकले बताए। संसद्मा गलत कार्य हुँदै जाँदा अराजकता निम्तिने ती विष्लेषको भनाइ छ।

एक सांसदका अनुसार प्रतिनिधिसभाका अघिल्ला दुई दिनका बैठकमा एमाले केही सांसदले जे–जस्तो क्रियाकलाप गरे त्यो सांसदको मर्यादाबाहिरको कार्य थियो। सांसदमा शिक्षाको कमी भएका कारण पनि यस्तो अभ्यास भएको एकथरीको विष्लेषण छ। सदनमा सांसदले असभ्य नारा लगाउनु र आक्रमण गर्ने सोच राखेर जानु गलत अभ्यास हो। आखिर केका लागि सांसद यसो गर्छन् त ? त्यसको एक मात्र उत्तर हो– आफ्नो पार्टी सत्तामा पुग्दा नेतृत्वले आफूलाई पहिचान गरोस्। त्यसको भए मन्त्री बन्न पनि पाइन्छ।  

एमाले सांसद्ले आइतबार प्रतिनिधिसभाका दुईवटै बैठकमा नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले दुवै बैठकमा थेसिस, एन्टिथेसि र सेन्थेसिस भन्ने माक्र्सवादी सिद्धान्त आकर्षित गराएका थिए। वाद र प्रतिवाद भइसकेकाले अब संवादबाट समस्याको समाधान गर्नुपर्ने उनले बताए। सभामुखले संसद्मा उत्पन्न अवरोध अन्त्य गर्ने विषयमा छलफल गर्न सोमबार दलहरूका शीर्ष नेतालाई बोलाएका छन्। 

सभामुख अग्निप्रसाद सापकोटाले सोमबार दिउँसो साढे २ बजे संसदमा भएका प्रमुख दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन्। एमालेका सांसदले आफ्नो पार्टीले १४ जनालाई सांसदबाट पदमुक्त गर्न पत्राचार गरेको पत्र सभामुखले कार्यान्वयन नगरेको विरोधमा सदनमा लगातार नारबाजी गर्दै आएका छन्।

प्रकाशित: २८ भाद्र २०७८ ०२:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App