coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अनौपचारिक क्षेत्रका मजदुर उपेक्षित

अनौपचारिक क्षेत्रका मजदुरहरूले राज्यबाट उपेक्षित भएको गुनासो गरेका छन्। अन्य क्षेत्रका मजदुरहरूको न्युनत्तम पारिश्रमिक सामाजिक सुरक्षा र रोजगारीको ग्यारेन्टी भएपनि अनौपचारिक क्षेत्रका मजदुरहरू यस्ता आधारभूत पारिश्रमिक र सुविधाबाट समेत बञ्चित हुनुपरेको उनीहरूको गुनासो छ।  

सामाजिक अभियन्ता विमला मल्लले अनौपचारिक क्षेत्रका श्रमिकहरू राज्यबाटै उपेक्षित भइरहेको बताइन्। अनौपचारिक क्षेत्र त्यसमाथि पनि यौन व्यवसायमा  संलग्न महिलाहरू चौतर्फी रुपमा पीडामा रहेको उनले बताइन्। यस्तै कपडा पसल, किराना पसललगायतका व्यवसायमा काम गर्ने कामदारहरूपनि असाध्यै न्यून ज्यालामा काम गर्न बाध्य भइरहेको बताइन्।

मल्लले अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारहरूलाई उचित पारिश्रमिक र सेवा सुविधाको व्यवस्था गर्न सरकारसँग माग गरिन्। उनले भनिन् ‘औपचारिक क्षेत्रका मजदुर सरह नै अनौपचारिक क्षेत्रका मजदुरहरूलाई पनि राज्यले व्यवहार गर्नुपर्छ।’ जनशक्ति सामूदायिक विकास केन्द्र विराटनगरले आयोजना गरेको संवाद कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजय राईले अनौपचारिक क्षेत्रका मजदुरहरूको समस्या बुझ्न सरकारले प्रयास नै नगरेको आरोप लगाए।

उनले सरकारले अनौपचारिक क्षेत्रका श्रमिकहरूले अभिलेखसमेत नराखेको गुनासो गरे। ‘अनौपचारिक क्षेत्रका मजदुरहरूको अभिलेख राख्न स्थानीय सरकारले नै सक्ने भएपनि तथ्याङ्क राख्नसमेत चासो देखाइरहेको छैन’ राईले भने।

कार्यक्रममा डा. चन्द्र तिम्सिनाले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्र प्रस्तुत गर्दै तिम्सिनाले कोरोना महामारीमा स्वास्थ्य र खाद्यान्नको समस्या नेपाली श्रमिकहरूले भोग्नुपरेको बताए। सामाजिक विकास मन्त्रालयका उपसचिव कृष्ण पोखरेलले रोजगारदाता र श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध नहुँदा सहयोग गर्न सरकारलाई अफ्ठ्यारो परेको बताए। कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले कोरोना महामारीको समयमा अनौपाचारिक क्षेत्रका मजदुर र न्यून आय भएकाहरूलाई महानगरपालिकाले दुई चरणमा राहत बितरण गरेको  जानकारी दिए।

उनले विभिन्न संघसंस्थाको सहयोगमा कोरोनाका कारण लगाइएको लकडाउन अवधिभर राहत वितरणको कामले निरन्तरता पाएको बताए। पराजुलीले स्वरोजगार तथा अनौपचारिक क्षेत्रमा काम गर्नेहरूलाई लक्षित गरी विराटनगर महानगरपालिकाले बैंक वित्तीय संस्थाबाट रिफाइनान्स, व्याज सहुलियतलगायतको व्यवस्थाका लागि पहल गरेको दाबी गरे। कार्यक्रममा मजदुर नेता नारायण कार्की, कृषक विनोद यादवलगायतले अनौपचारिक क्षेत्रका मजदुरहरूले न्यूनत्तम तलव, सामाजिक सुरक्षा र रोजगारको सुनिश्चिततासमेत नपाउँदा उनीहरू चोतर्फी समस्यामा परेको बताए।

प्रकाशित: २७ भाद्र २०७८ १३:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App