५ वैशाख २०८१ बुधबार
राजनीति

कांग्रेस महाधिवेशन : ‘तुष’ जन्माएका वडा अधिवेशन

घोराही उपमहानगरपालिका वडा नम्बर १० को अधिवेशनमा मतदान गर्दै मतदाताहरु ।

तुलसीपुर ११ का डिल्लीबहादुर बस्नेत कांग्रेस क्षेत्रीय प्रतिनिधि उम्मेदवार चुनिए। यो वडामा दुई गुट बनाएर चुनावी अभियानमा होमिएका कांग्रेसीहरुको एउटा गुटको नेतृत्व यिनै बस्नेतले गरे। कांग्रेस महासमिति सदस्य समेत रहेका बस्नेतले २ सय २० मत प्राप्त गरे। जुन मत नेपाल तरुण दलका जिल्ला सचिव ध्रुव आचार्यसंग बराबर थियो। 

बस्नेत र आचार्यको मत बराबर भएपछि गोला प्रथाद्वारा टुंग्याउने भन्ने छलफल भयो। तर बस्नेतले गणनामै ‘धोका’ भएको भन्दै पुनः गणना हुनु पर्ने माग गरे। पुनः भएको गणनामा बस्नेत पराजित भए। ‘पुनः गणना गर्दा उहाँको एक मत कम आयो, फलतः उहाँ पराजित हुनु भयो,’यसै वडाबाट क्षेत्रीय प्रतिनिधि चयन भएका सुबास डाँगीले भने।  

जिल्लाकै अर्का महासमिति सदस्य टेकबहादुर डाँगी पनि घोराही उपमहानगरपालिका वडा नम्बर ११ मा क्षेत्रीय प्रतिनिधि उम्मेदवार बने। ६ जना क्षेत्रीय प्रतिनिधि चयन हुनुपर्ने यो वडामा उम्मेदवार भने १४ जना थिए। तर डाँगी ६ जना भित्र अटाउन सकेनन्। उनी सातौँ नम्बरमा रहँदै क्षेत्रीय प्रतिनिधिमा पराजित बने। ‘थोरै मतको मतान्तरले उहाँ पराजित बन्न पुग्नु भयो,’ यो वडाका नव निर्वाचित सभापति दामु ऐरीले भने ‘निर्वाचत हुनुपर्ने ६ जना भित्र उहाँ पर्न सक्नु भएन।’  

कांग्रेसको दुई महासमिति सदस्य संगै कुमोद शर्मा मजगैयाँ वडामै हार ब्यहोरेका अर्का ठूला जिल्ला नेता हुन्। कांग्रेसका पूर्व जिल्ला सचिव मजगैयाँ तुलसीपुर उपहानगरपालिका वडा नम्बर १६ मा क्षेत्रीय प्रतिनिधिको निर्वाचन लडेका थिए। १० जना क्षेत्रीय प्रतिनिधि आउनु पर्ने यो वडामा उनी १० जना भित्र परेनन्। उनी १२ औँ नम्बरमा आए र पराजित बने। यसैगरि साविकको क्षेत्र नम्बर ५ का तत्कालीन क्षेत्रीय सभापति मदन रसिक, जिल्ला सदस्य गोबिन्द रेग्मी पनि गुटगत राजनीतिकै कारण वडाबाट माथि उठ्न सकेनन्।

जिल्लामा सम्पन्न कांग्रेसको वडा अधिवेशनले केही ठूलै नेताहरुको नतिजा अप्रत्यासित ल्याईदिएको छ। गुटगत समूह बनाएर उम्मेद्वारी पेश गरेका हरेक वडाको कांग्रेसको निर्वाचनले कांग्रेसीहरुमा ‘तुष’ बिजारोपण भएको छ। ठूला नेताहरुको यो हारले कांग्रेसीहरु आपसमै प्रतिशोध जन्माईदिएको छ। फलतः लगत्तै आउन थालेको स्थानीय निर्वाचनलाई कांग्रेसीहरुमा पलाएको तुषले प्रभाव पार्ने देखिन्छ। जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर ५ को वडा अधिवेशनले अँझ कार्यकर्तामा ब्याप्त तुष मौलाएको पुष्टि नै गर्छ।

यो वडामा दुई गुटबाट उम्मेद्वार चुनिए। वडा तहमा प्रभाव राख्ने नेताहरुको छुट्टा छुट्टै गुटको प्रतिष्पर्धा बनेको यो वडामा एउटा गुटले एकलौटी जीत निकाल्यो भने अर्को गुट शून्य जीतकै अवस्थामा पुग्यो। फलतः फरक गुटका ठूला नेताहरु वडामै पछारिए। गुटगत प्रतिष्पर्धाको शिकार भएका एक नेता हुन् लोकतान्त्रिक आन्दोलनका ‘जिउँदा शहिद’ कृष्ण गिरी। 

उनी क्षेत्रीय प्रतिनिधिमा पराजित बने। लोकतान्त्रिक आन्दोलनका क्रममा गोली लागेका उनलाई समेत हराईएको भन्दै जिल्ला तहका नेताहरुबाटै चरम आलोचना भएको छ। कतिपयले त ‘अब देखाईदिने’ भन्दै उनको पक्षमा रहेर अर्को पक्षलाई चुनौति नै दिएका छन्। ‘लोकतान्त्रिक आन्दोलनका क्रममा घाईते भएका जिउँदा शहिद जस्तो मान्छेलाई गुटगत राजनीतिका आधारमा हराईनु किमार्थ राम्रो हैन,’ एक नेताले भने, ‘यसको प्रभाव अब राम्रो पर्ने छैन, बुझ्नु पर्ने कुरा स्थानीय तहको चुनाव लगत्तै आउँदै छ।’

कांग्रेसको भातृसंस्था नेपाल दलित संघका पूर्व केन्द्रीय उपाध्यक्ष खड्गबहादुर बिश्वकर्मा पनि क्षेत्रीय प्रतिनिधिमा पराजित भए। उनी पनि गिरी समूहमै थिए। यसैगरि जिल्ला समन्वय समितिका सदस्य लोका बिश्वकर्मा पनि पराजित भईन्। ‘गुटगत राजनीतिले चुनाव जित्नै पर्ने केही नेताहरु पराजित बन्न पुगे,’ वडाका एक कांग्रेस नेताले भने, ‘पार्टीको अधिवेशनमा यति ठूलो रिस देखाउनु राम्रो भएन, नत वडाको अधिवेशनले जन्माएको यो तुष स्थानीय तहको चुनावसम्म मेटिने संकेतनै देखिन्छ।’

वडा तहसम्मै मौलाएको कांग्रेसको गुटगत राजनीतिका कारण जिल्लाका केही ठूला नेताहरुका लागि वडा अधिवेशन सुखद् बन्न पुगेन। केही नेताहरु त चुनावी रेसबाटै पछि हट्नु पर्यो। बिजुल बिश्वकर्मा पूर्व सांसद हुन्। दलित आयोगको अध्यक्ष तथा द्वन्द्वकालका बेपत्ता छानबिनसम्बन्धी आयोगको सदस्य समेत रहेका उनी पार्टीको क्षेत्रीय कमिटीमा आउन चाहन्थे। फलतः उनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बाट क्षेत्रीय प्रतिनिधिको दाबेदार बने। दलीत कोटाबाट एकजना चुनिने क्षेत्रीय प्रतिनिधिमा चयन हुन खोजेका उनी सर्वसम्मत बन्न चाहन्थे। 

तर प्रतिष्पर्धीले उनका लागि बाटो छोडिदिएनन्। फलतः चुनावी परिणाम आफ्नो पक्षमा नपर्ने आँकलन गरे र क्षेत्रीय प्रतिनिधि बन्ने रेसबाटै बाहिरिए। ‘उहाँ धेरैजसो बाहिरै बस्नु भयो, वडामा भिज्नु भएको नेता हैन,फलतः उहाँका लागि चुनाव लडेको भए झनै घातक बन्न सक्ने सम्भावना थियो,’ एक नेताले भने, ‘यहि आँकलन गरेरै उहाँले आफ्नो उम्मेदवारी फिर्ता लिनु भएको हो।’

जिल्लाका कुल १ सय वटा वडा मध्य ६० वडाहरुमा सर्वसम्मत भयो। बाँकी ४० वटा वडाहरुमा मतदान भएको छ। मतदान भएका वडाहरुमा गुटगत समूहबीच प्रतिष्पर्धा भयो। वडा तहमा देखिएको यि गुटगत समूहले आगामी स्थानीय चुनावलाई प्रभाव पार्ने खतरा कांग्रेसका सामु छ। पार्टीको अधिवेशनमा देखिएको ‘एकले अर्कोलाई सिध्याउने’ रणनीतिले पराजित समूहलाई चिढ्याएको छ। 

फलतः स्थानीय तहमा यसको साटो फेर्ने रणनीति पुनः कांग्रेस कित्तामा देखिने सम्भावना कांग्रेसका नेताहरुले देखिसकेका छन्। ‘अहिले जसरी एकले अर्कोलाई सिध्याउने रणनीतिका कारण चुनाव हारिएको भन्ने महसुस भयो, यो बुझाई आगामी चुनावका लागि घातक हो,’ जिल्लाका एक नेताले भने, ‘आगामी चुनाव सम्म यो बुझाईलाई कांग्रेसले निष्तेज पार्न नितान्त जरुरी छ।’ तर शक्ति प्रयोग गरेरै हराएको भन्ने चिन्तन ठिक नहुने भन्दै ति नेताले हारको कारण आफ्नो ब्यक्तिगत प्रभावलाई प्रमुखतः मान्नु पर्ने बताउँछन्। 

‘म कार्यकर्ता सामु प्रिय छैन भने त मलाई मत आउँदैन नि,’ उनले भने, ‘फलतः हारको प्रमुख कारण भनेकै आफ्नो कमजोर ब्यक्तिगत प्रभावनै हो, यसर्थ पराजयको दोष अर्कैलाई थप्नु राम्रो विषय हैन।’

प्रकाशित: २६ भाद्र २०७८ ०९:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App