७ वैशाख २०८१ शुक्रबार
राजनीति

संसद्‌मा घम्साघम्सी

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी एमालेका सांसदले नाराबाजीसहित रोस्ट्रम घेराउ गर्न खोजेपछि रोक्दै मर्यादापालक। तस्बिर: रासस

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी एमालेको अवरोधबीच बजेटसम्बन्धी विधेयक प्रस्तुत भएको छ। मार्सल प्रयोग गरेर बजेट अध्यादेश स्वीकृत गरी प्रतिस्थापन विधेयक प्रस्तुत गरियो। नियम निलम्बन नगरी सदनमा यसरी आर्थिक विधेयक पेस भएको पहिलो पटक हो।  

प्रतिस्थापन विधेयक संसद् सचिवालयमा दर्ता भएपछि परिपक्व हुन पाँच दिन लाग्छ। तर आर्थिकसम्बन्धी प्रतिस्थापन विधेयक भएका कारण प्रतिनिधिसभाको नियम २०७५ को १४९ को उपनियम १ र ५ प्रयोग गरी ल्याइएको छ। यो विधेयक अघिल्लो केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेटलाई संशोधन गर्न ल्याइएको हो। 

जसका कारण एमालेका सांसदले नाराबाजी गर्दै टेबुल नै तोडफोड गरेका छन्। एमाले सांसदहरूले अर्थमन्त्रीलाई रोस्ट्रममा पुग्न नदिन जबरजस्त प्रयास गरे पनि असफल भए। एमाले सांसदको जोरजुलुमले बैठकस्थल अस्तव्यस्त देखिन्थ्यो। रोस्ट्रममा उभिएर बजेटसम्बन्धी विधेयकमा रहेका नयाँ व्यवस्थामाथि प्रकाश पार्ने क्रममा अर्थमन्त्री जनार्दन शर्मा निकै हतासमा देखिन्थे।  

नियमावलीको नियम १४९ को उपनियम १ मा वार्षिक आय–व्यय अनुमान प्रस्तुत भलगत्तै बसेको बैठकमा अर्थमन्त्रीले सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक प्रस्तुत गर्ने उल्लेख छ। यसैगरी उपनियम ५ मा आर्थिक विधेयक सम्बन्धमा यस नियममा उल्लेख गरिएदेखिबाहेक सभामुखले उपयुक्त ठहर्‍याएको कार्यविधि अपनाइनेछ भन्ने उल्लेख छ। 

प्रतिनिधिसभाको शुक्रबार नै बसेको दोस्रो बैठकमा बजेटसम्बन्धी अध्यादेश स्वीकृत गरी तेस्रो बैठकमा बजेटसम्बन्धी प्रतिस्थापन विधेयक प्रस्तुत गरिएको हो। बजेटसम्बन्धी प्रतिस्थापन विधेयक अब संसद्को दुवै सदनबाट ३१ गतेभित्र पारित गर्नुपर्नेछ। यसरी पारित भएपछि मात्रै यो वर्षको वार्षिक बजेट पूर्ण रूपमा कार्यन्वयनमा आउनेछ।  

प्रतिनिधिसभाको पहिलो बैठक एमालेले नाराबाजी गरेपछि कार्यसूचीमा प्रवेश नगरीकन १५ मिनेटका लागि स्थगित गरिएको थियो। दोस्रो बैठकमा मार्सल प्रयोग गरेर कार्यसूचीको कारबाही अघि बढाइएको थियो। पहिलो बैठक निर्धारित समयभन्दा १५ मिनेटपछि सबा १ बजे सुरु भएको थियो। बैठक सुरु हुनासाथ एमालेका सांसद्ले सभामुखको रोस्ट्रम अगाडिको वेलमा गएर नाराबाजी गर्न थालेपछि कार्यसूचीमा प्रवेश नगरीकनै १५ मिनेटका लागि स्थगित गरिएको थियो।  

उनीहरूले सभामुख अग्नि सापकोटाविरुद्ध नाराबाजी गरेका थिए। दोस्रो बैठक बसेपछि पनि नाराबाजी भइरह्यो। नाराबाजीकै क्रममा सभामुखले कार्यसूचीमा रहेको बजेटसम्बन्धी तीन अध्यादेश आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ लाई अघि बढाएका थिए। आर्थिक अध्यादेशमा अस्वीकारको प्रस्ताव दर्ता गराएका नेमकिपाका प्रेम सुवालले प्रतिपक्षका माग सम्बोधन गर्नुपर्ने र रोस्ट्रममा गएर मात्र अस्वीकार प्रस्ताव प्रस्तुत गर्ने बताएका थिए। सभामुख सापकोटाले सुवाललाई आफ्नै स्थानमा उठेर बोल्न समय दिँदा उनले अस्वीकार गरेका थिए।  

त्यसपछि सभामुखले अर्थमन्त्री शर्मालाई रोस्ट्रममा बोलाए। अर्थमन्त्री शर्मा दौड्दै मर्यादापालकको सहायतामा रोस्ट्रममा पुगे। उनी दौडिएको निकै रोचक देखिएको थियो। सुवालले अस्वीकारको प्रस्ताव पेस नगरेपछि सभामुख अलमलिएका थिए। पछि उनले सुवालको प्रस्ताव पेस नभएकाले फिर्ता लिएसरह मानेर निर्णयार्थ प्रस्तुत गर्नुनपर्ने भन्दै आर्थिक अध्यादेश स्वीकृतिका लागि पेस गर्न अर्थमन्त्रीलाई अनुमति दिएका थिए।

 प्रस्तुत आर्थिक अध्यादेश विधेयक निर्णयार्थ प्रस्तुत गर्दा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाका सांसदको समर्थनमा बहुमतले स्वीकृत भयो। सांसद सुवालले राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश २०७८ मा आफूले दर्ता गराएको अस्वीकारको प्रस्ताव आफ्नो स्थानबाटै प्रस्तुत गरेका थिए।

एमाले सांसदले भने नाराबाजी गर्दै होहल्ला गरिरहेका थिए। एमाले सांसद तथा मर्यादापालकबीचको घम्साघम्सीमा सत्तापक्ष कांंग्रेसका सांसद बस्ने पहिलो ‘रो’ को टेबुल भाँचियो। अर्थमन्त्री रोस्ट्रममा गएपछि एमाले सांसद झन् आक्रामक भएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्याक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने आआफ्नो स्थानमा बसेर हेरिरहेका थिए। 

उग्र बनेका एमाले सांसद रोस्ट्रमतर्फ बढ्न खोज्दा मर्यादापालकले घेराबन्दीमा पारेर रोकेका थिए। त्यसपछि एमाले सांसदले टेबुल लडाएका थिए। सत्तापक्षको पहिलो ‘रो’ मा कांग्रेस सांसद शशांक कोइराला, प्रकाशमान सिंह र सीतादेवी यादव थिए। घम्साघम्सीमा कांग्रेसका सांसदलाई जोगाउन दिलेन्द्रप्रसाद बडु र देवप्रकाश तिमल्सिना अगाडि सरेका थिए। टेबुल भाँचिएपछि कोइराला, सिंह र यादव पछिको ‘रो’ मा गएर बसेका थिए।

तेस्रो बैठकमा पनि एमाले सांसदले नाराबाजी गरे। सभामुखले अर्थमन्त्री शर्मालाई प्रतिस्थापन विधेयक पेस गर्न अनुमति दिए। अर्थमन्त्रीलाई मर्यादापालकले रोस्ट्रममा पुर्‍याएका थिए। अर्थमन्त्री शर्माले दोस्रो बैठकमा स्वीकृत भएका आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ लाई प्रतिस्थापन (रिप्लेसमेन्ट) गर्ने विधेयक प्रस्तुत गरे। 

उनले पूर्ववर्ती ओली सरकारले ल्याएको बजेट अध्यादेशलाई परिमार्जनसहित पेस गरे। अध्यादेशलाई परिमार्जन गरिएको अर्थमन्त्री शर्माले रोस्ट्रमबाट बताएपछि एमाले सांसद थप उत्तेजित भएका थिए। उनीहरू मर्यादापालकलाई ठेलेर रोस्ट्रमतर्फ अघि बढ्न खोजेका थिए। एमाले सांसद नारदमुिन राना थारु, आशा विक र नरबहादुर धामी अन्य सांसदको बुई चढेर रोस्ट्रमतर्फ जान खोजेका थिए। उनीहरूलाई रोक्न मर्यादापालकलाई हम्मेहम्मे परेको थियो।

 

प्रकाशित: २६ भाद्र २०७८ ०१:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App