४ वैशाख २०८१ मंगलबार
राजनीति

कांग्रेस महाधिवेशन: संकल्पविपरीत युवा नेता

‘हामी विश्वास दिलाउन चाहन्छौं, हामी बदलिनेछौं, नेपाली कांग्रेसलाई बदल्नेछौं। राष्ट्रिय राजनीतिमा प्रमुख भूमिकाका साथ पार्टीलाई नयाँ उचाइमा पुर्‍याउनेछौं।’ नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, गगनकुमार थापा, प्रदीप पौडेल र बद्री पाण्डेले २०७४ पुस १५ गते जारी गरेको संयुक्त विज्ञप्तिको अंश हो यो।  

कांग्रेसले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पराजय भोगेपछि आएको यो विज्ञप्तिले पार्टीमा नयाँ तरंग ल्यायो। गुटबन्दीले थिलोथिलो बनेको कांग्रेसलाई युवा नेताहरू मिलेर अघि बढाउनेछन्, साँच्चै पार्टीलाई बदल्नेछन् भन्ने आशा धेरै नेता कार्यकर्ताले गरे।  

पार्टी नेतृत्वका कारण निर्वाचनमा पार्टी पराजित भएको बुझाइमा रहेका उनीहरूले पहिलो पुस्तालाई सम्मानपूर्वक बिदा गर्नुपर्ने भन्दै विशेष महाधिवेशनका पक्षमा वकालत गर्न थाले। ‘एज’ होइन ‘अजेन्डा’ को वकालत गर्दै आएका पार्टीका सात भाइमध्येका एक विश्वप्रकाश शर्मा त्यसको १० दिनपछि पार्टी प्रवक्ताको जिम्मेवारीमा पुगे। २०७४ कात्तिकमा सभापति शेरबहादुर देउवाले प्रवक्ता नियुक्तिका लागि तयार पारेको पत्र बीचमै नरोकिएको भए उक्त जिम्मेवारीमा गगन थापा हुने थिए।  

प्रवक्ताको जिम्मेवारीसँगै शर्माको भूमिका बदलियो। सभापति देउवाको विरोध होइन, बचाउ गर्ने जिम्मेवारीमा पुगेका शर्मा सात भाइबाट अलग भए। बाँकी ६ भाइ निर्वाचनको समीक्षासहित विशेष महाधिवेशन हुँदै अर्ली महाधिवेशन, महासमिति बैठकको मागतिर अघि बढे। 

युवाका नाममा कांग्रेसभित्र विभिन्न गुट र समूह सक्रिय भए तर उनीहरूबीच एकता कायम रह्यो। निर्वाचन भएको झन्डै ६ महिनापछि सभापति देउवाले समीक्षाका लागि केन्द्रीय समिति बैठक राखे। बैठकमा ६ भाइले ५१ पृष्ठको धारणा राखे भने शर्माले छुट्टै प्रस्ताव। पार्टीका अन्य केन्द्रीय सदस्य र युवा नेताले आआफ्नो प्रतिवेदन पेस गर्ने होड नै चल्यो।  

६ भाइ कांग्रेस केन्द्रीय सदस्यले पुराना मान्छेको स्वाभाविक बहिर्गमन र नयाँ मान्छेको आगमन नहुनाले अजेन्डा, विचार र क्षमताको दृष्टिले पार्टी जमेको पोखरीजस्तो भएको जिकिर गरे। ‘पार्टीको चुस्त संगठन चलाउन प्रस्ट सैद्धान्तिक खाका त कोर्‍यौं तर त्यसलाई चलाउने नेतृत्व शिथिल र यथास्थितिवादी छ भने संगठनमा गतिशीलता कसरी आउँछ’ भन्ने प्रश्न गर्दै उनीहरूले प्रतिवेदनमा लेखेका छन्, ‘त्यसैले अहिलेकै नेतृत्वको निरन्तरता खोज्नु जनादेश र मतादेशलाई नबुझ्नु नै हो।’

तर उनीहरूको कुरालाई केन्द्रीय समितिले सुनेन। विशेष वा अर्ली महाधिवेशन होइन, नियमित महाधिवेशन पनि समयमा हुन सकेन। संवैधानिक समयसीमा पनि गुजारेर महाधिवेशनको तयारी हुँदा पार्टीलाई बदल्ने संकल्प गरेका तिनै युवा बदलिएका छन्। पार्टीको पहिलो पुस्ताका नेतामाथि दबाब खडा गर्न चार वर्षमा विभिन्न भाइका नाममा युवा नेताले विज्ञप्ति जारी गरे। तर पार्टीको १४औं महाधिवेशनको सँघारमा आइपुग्दा सात भाइबाट सुरु भएको अभियान अहिले छिन्नभिन्न हुन पुगेको छ। यति बेला उनीहरू ७० काटेका र ८० टेक्न लागेका नेता र नेतृत्वको फेरो समाएर आगामी महाधिवेशनमा आफ्नो भविष्य खोज्न लागिपरेका छन्।  

चार वर्षअघि नेतृत्व र आफू पनि बदलिने संकल्प गरेका युवा नेता पदाधिकारीमा आफ्नो स्थान सुरक्षित गर्न लागिपरेका छन्। प्रवक्ता शर्मा, केन्द्रीय सदस्यहरू थापा र पौडेलले पार्टी महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्। उनीहरूको घोषणा महाधिवेशनसम्म कायम रहने वा नरहने निश्चित नरहेको बताउँदै एक नेताले भने, ‘अहिले आकलन गरेजस्तो सभापतिको उम्मेदवारी कायम भएन भने उहाँहरूको उम्मेदवारी कायम रहने देखिँदैन।  

सभापतिका आकांक्षीमाथि दबाब खडा गर्न र अर्कोले घोषणा गर्‍यो, मचाहिँ किन नगर्ने भन्ने मानसिकताले काम गरेको देखिन्छ।’ झन्डै एउटै उमेर समूह र सँगै काम गरेका तीनैजनाले पार्टी महामन्त्रीमा आफूलाई प्रस्तुत गर्नुले उनीहरू बाहिर एकता र मेलमिलापको जति कुरा गर्छन्, भित्र त्यस्तो सौहाद्र्रता नभएको स्पष्ट हुने कांग्रेसका एक नेताले बताए। ‘आन्तरिक प्रतिस्पर्धा हुनु ठूलो कुरा होइन,’ ती नेताले थपे, ‘उहाँहरूबीचको विगत पनि बाहिर देखिएजस्तो सुमधुर छैन।’ 

शर्मा, पौडेल र थापामात्र होइन, सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका कल्याण गुरुङ पनि एउटै समितिमा काम गरेका नेता हुन्। उनीहरूले पार्टी र नेतृत्व बदल्न चाहेको भए मिलेर भिन्नभिन्न पदमा उम्मेदवारी दिने कांग्रेस नेताहरूको बुझाइ छ। ‘उहाँहरू एकले अर्कालाई स्वीकार गर्ने अवस्थामा हुनुहुन्न,’ ती नेताले भने, ‘त्यसको फाइदा फेरि पुरानै पुस्ताका नेताले उठाउनेछन्।’

शर्मा र थापा नेपाल विद्यार्थी संघमा सक्रिय हुँदादेखि नै एकअर्काका प्रतिस्पर्धी रहेको नेताहरूको बुझाइ छ। वीरगन्जमा भएको नेवि संघको महाधिवेशनमा शर्मा, थापा, पौडेलसहितका नेता मिलेर गुरुराज घिमिरेलाई अध्यक्षमा जिताएका थिए। महाधिवेशनको समापन समारोहमै घिमिरेले थापालाई महामन्त्री मनोनीत गरेको बताए। तर पछि यी दुईबीचकै विवादले संघको केन्द्रीय समिति विघटन भयो। त्यसपछि चितवनमा भएको महाधिवेशनमा पौडेलले थापालाई अध्यक्ष स्वीकार गर्न मानेनन्। ‘प्रदीप गगनलाई अध्यक्ष छाड्नै तयार नभएपछि अन्तिममा उनैले छाडिदिए’, एक नेताले भने।

थापा महामन्त्री रहेको संघको केन्द्रीय समितिमा पौडेल र बद्री पाण्डे उपाध्यक्ष थिए। त्यसपछिको कार्यकालका लागि अध्यक्षमा पौडेल र पाण्डे भिडेका थिए। घिमिरे, पौडेल, थापा, पाण्डे, चारैजना शर्मा नेतृत्वको नेवि संघ कार्यसमितिमा पदाधिकारी थिए। अहिले घिमिरे र पाण्डेबाहेक तीनजनाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्। 

बाँकी दुई पनि पदाधिकारीमा उम्मेदवारी घोषणाको तयारीमा छन्। नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकबीच एकीकरणपछि पौडेल नेतृत्वमा रहेको नेवि संघको सहअध्यक्ष रहेका कल्याण गुरुङले सभापतिमै उम्मेदवारी दिने घोषणा गरेका छन्। पौडेल र गुरुङबीच समझदारी निर्माण नहुँदा त्यतिबेला नेवि संघको केन्द्रीय समिति बैठक झन्डै दुई वर्षसम्म बस्न सकेको थिएन।  

काठमाडौं महानगरपालिका–३० ले भदौ १४ गते आयोजना गरेको कार्यक्रममा थापाले पार्टीको १४औं महाधिवेशनमा महामन्त्री उठ्ने घोषणा गरेका थिए। सोही दिन अर्का नेता पौडेलले पनि महामन्त्रीमा उम्मेदवारी दिने सामाजिक सञ्जालमार्फत खुलासा गरे। थापा र पौडेल १३औं महाधिवेशनताका उदाएको कृष्णप्रसाद सिटौला समूहमा आबद्ध थिए। यसपटक भने वडा अधिवेशन सुरु हुने एक दिनअघि भदौ १७ गते संस्थापन इतर (पौडेल) पक्षले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित थापाले समूह बदलेको बताइएको छ। पौडेलले अहिलेसम्म सिटौला समूह छाडिसकेका छैनन्। 

कल्याणले भदौ १६ गते सभापतिमा उम्मेदवारी घोषणा गरेका थिए। पार्टी प्रवक्ता शर्माले बिहीबार बिपी जयन्तीको अवसर पारेर महामन्त्रीमा चुनाव लड्ने घोषणा गरेका छन्। युवामा टिमवर्क र होमवर्क दुवै नभएको टिप्पणी गर्दै कांग्रेस नेता रामहरि खतिवडाले आफू कहाँ कसरी छिर्ने भन्ने व्यक्तिवादी सोचमात्र हावी भएको बताए। 

सभापतिबिनाको महामन्त्री घोषणाले पछि सभापति खोज्दै जाने अवस्था आउने त होइन भन्ने प्रश्न गर्दै खतिवडाले भने, ‘पार्टीलाई चुस्त, दुरुस्त बनाउनुपर्ने अवस्थामा आफूमात्र कसरी छिर्ने भन्ने होइन, क्षमता भएका सबै साथीलाई कसरी समेटेर अघि बढ्न सकिन्छ भन्ने चिन्तन र चासो हुनुपर्छ।’

नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री मनोजमणि आर्चायले वडा अधिवेशनदेखि नै युवाको सहभागिता बढी देखिएका बेला पार्टीको केन्द्रीय समितिमा बसेर काम गरेका नेताहरूको महामन्त्रीमा दाबीलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए। ‘पार्टी सभापतिमा उम्मेदवारी सन्दर्भमा केकस्तो टिम बन्छ भन्ने स्पष्ट दृश्य देखिएको छैन,’ उनले भने, ‘यस्तो बेलामा महाधिवेशन प्रतिनिधिहरूमाझ सामूहिक नभए पनि आफ्नो उपस्थिति देखाउन खोजिएको हुन सक्छ। त्यसलाई स्वाभाविक रूपमा लिनुपर्छ’, उनले भने।

प्रकाशित: २५ भाद्र २०७८ ००:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App