८ वैशाख २०८१ शनिबार
राजनीति

सदनमा एमालेको नाराबाजी

दलसम्बन्धी अध्यादेश प्रस्तुत, प्रतिनिधिसभा बैठक २५ गतेसम्म स्थगित

प्रतिनिधिसभा बैठकमा नाराबाजी गर्दै एमाले सांसद। संघीय संसद्का दुवै सदनको बैठक बुधबार सुरु भएको हो। दुवै सदनको बैठक अवरोधका कारण चल्न सकेन। तस्बिर: रासस

प्रमुख प्रतिपक्षी एमालेले सभामुखविरुद्ध नाराबाजी गरेका कारण बुधबार सुरु भएको प्रतिनिधिसभाको बैठक चल्न सकेन। अपराह्न ४ बजे बोलाइएको बैठक सुरु भएपछि एमाले सांसदले सभामुखविरुद्ध नाराबाजी गर्दै चल्न नदिएका हुन्। सभामुख अग्निप्रसाद सापकोटाले सहमति खोज्न प्रयास गरे पनि एमाले सांसदले अवरोध खडा गरिरहेकाले २५ गतेसम्म बैठक स्थगित भएको घोषणा गरे।  

एमाले सांसदको नाराबाजी र होहल्लाबीच पनि बैठकमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रस्तुत गरे। एउटा अध्यादेशमात्रै पेस गर्ने र अन्य अध्यादेश स्वीकृत गर्ने कार्यसूचि थियो। होहल्लाबीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस गर्ने काममात्रै भयो। सभामुखले कार्यसूचिमा रहेका अन्य सबै विषय हटाएर तेस्रोपटक बसेको बैठक स्थगित गरेका हुन्। सभामुख सापकोटाविरुद्ध एमाले सांसदले नाराबाजी गर्ने निर्णय एमाले संसदीय दलको बैठकले गरेको थियो। त्यसका लागि सत्तापक्षका सांसद पनि सचेत भएर बसेका थिए।  

एमालेका सांसदले पार्टीले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद् सचिवालयमा पठाएको पत्र कार्यान्वयन नगरेको भन्दै सभामुखविरुद्ध नाराबाजी गरेका हुन्। तटस्थ हुनुपर्ने कुर्सीमा बसेर एमाले फुटाउन सहयोग पुग्ने काम गरेको र अन्य पार्टीको मतियार भएको भन्दै एमाले सांसदले सभामुखअघिको बेल सामुन्ने गएर नाराबाजी गरेका थिए। त्यसपछि सभामुखले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड (ख) र (घ) तर्फ ध्यानाकर्षण गराएका थिए।

नियमावलीको खण्ड (ख) मा सभामुखले पदअनुकूल आचरण गरेका छैनन् भन्ने प्रस्तावको छलफलका क्रममा बाहेक उनको आलोचना गर्न नहुने व्यवस्था छ। त्यस्तै खण्ड (घ) मा अदालतलमा विचाराधीन मुद्दामा बहस गर्न नहुने भन्दै बन्देज लगाइएको छ। एमालेले पदमुक्त गर्न भनेका १४ जना सांसदको विषयमा परेको मुद्दा अदालतमा विचाराधीन छ।  

सभामुख सापकोटाले पहिलो बैठकमा पटकपटक नियमावलीको २१ (ख) र (घ) को कुरा जोडी संविधान, कानुन, निमय पनि छ भन्दै नाराबाजी गरिरहेका एमाले सांसदको ध्यानाकर्षण गराएका थिए। उनले दोस्रो बैठकमा पनि नाराबाजी भएपछि ऐन, कानुनबमोजिम अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै सदन चलाउन सहयोग गर्न आग्रह गरेका थिए। पहिलो बैठक ४ बजेलगत्तै सुरु भएको थियो। 

४ बजेर १८ मिनेट जाँदा पहिलो बैठक १५ मिनेटका लागि स्थगित गरियो। १५ मिनेटको समयमा सभामुखले एमालेका सांसद नेतासँग छलफल गरे पनि सहमति भएन। सहमति नभए पनि उनले दोस्रो बैठक बोलाए। दोस्रो बैठकमा सभामुखले सहिदप्रति एक मिनेट मौन धारण गर्न समय छुट्याउँदै बैठकको अध्यक्षता गर्ने व्यक्तिको नाम सुनाएका थिए। उनले पहिलो बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाएका थिए। पत्र सुनाएपछि सांसदलाई स्वागत गर्दागर्दै एमाले सांसद नाराबाजी गर्दै रोस्ट्रम घेर्न पुगेका थिए। बैठकमा सभामुखले स्वागत छ भन्न नपाउँदै एमाले सांसदले सिटबाट उठेर विरोध गरेका थिए।  

त्यसपछि सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न समय दिए। उनले अन्य पार्टीले आफ्नो दलका सांसदलाई कारबाही गरेर त्यसको सूचना निकाल्न पत्र पठाउँदा तुरुन्तै कार्यान्वयन हुने तर एमालेले आफ्ना १४ सांसदलाई पदमुक्त गर्न पठाएको पत्रअनुसार किन काम नगरेको, किन पत्र रोकेर राखेको भन्दै सभामुखसँग प्रश्न गरेका थिए। सभामुखले सबै दलप्रति समान व्यहार गर्नुपर्छ कि पर्दैन भन्ने प्रश्न पनि गरे।

उनले सभामुखलाई प्रश्न गरे, ‘एमाले पार्टी फुटाउन किन सारथीको भूमिका खेल्नुभयो ? यस प्रश्नको जवाफ चाहियो।’ कसैले नियम कानुन नमानेर तल पार्न खोज्छ भने एमाले चुप लागेर नबस्ने भन्दै उनले यथोचित जवाफ नपाउन्जेल सदन चल्न नदिने बताए। त्यसपछि एमाले सांसदले संविधानको सर्वोच्चता कायम गर, आफूखुसी गर्न पाइँदैन, पार्टी फोर्ने षड्यन्त्र गर्न पाइँदैन जस्ता नारा लगाए। संसद्को बर्खे अधिवेशन षड्यन्त्रपूर्वक अन्त्य गरिएको, एमाले फुटाउने षड्यन्त्र गरिएको र त्यसमा सभामुख मतियार बनेको भन्दै उनीहरूले नाराबाजी गरेका थिए। विगतमा माधव नेपाल समूहका भनेर चिनिएका एमालेका १० सांसदमध्ये सुरेन्द्र पाण्डे मात्र नाराबाजीमा सहभागी थिए।

नाराबाजीकै बीच सभामुखले पटकपटक ‘मैले कानुनको केही बर्खिलाप गरेको छैन, सदन सञ्चालन गर्न सहयोग गर्नुस्’ भनिरहेका थिए। उनले भनेका थिए, ‘तपाईंका मागमा ध्यानाकर्षण भयो, दर्ज भयो, अब सदन चलाउन दिनुहोस्। सदन चलाउन विपक्षीको बढी दायित्व हुन्छ।’ तर अवरोध जारी रहेपछि फेरि १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा सभामुखले गरेका थिए। १५ मिनेटपछि बसेको तेस्रो बैठकमा पनि एमाले सांसदले नाराबाजी र होहल्ला गरे। होहल्लाबीच नै सभामुखले गृहमन्त्रीलाई राजनीतिक दलसम्बन्धी अध्यादेश पेस गर्न समय दिए।

एमाले सांसदको अवरोध छल्दै रोस्ट्रममा पुगेर गृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेस गरे। खाँणलाई रोक्न सांसद गंगा चौधरी सत्गौआले रोस्ट्रममा उक्लने प्रयास गरेकी थिइन्। उनलाई मर्यादापालकले रोके।

प्रतिनिधिसभा बैठकमा गतिरोध भइरहेका बेला एमाले अध्यक्ष केपी ओली वेलमा गएर केही समय आफ्नो स्थानमा बसेका थिए। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि आआफ्नो स्थानमा बसेका थिए। यसैगरी राष्ट्रियसभा बैठक पनि एमाले सांसदको अवरोधका कारण स्थगित भयो।

प्रकाशित: २४ भाद्र २०७८ ००:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App