७ वैशाख २०८१ शुक्रबार
राजनीति

खनालको क्षेत्रका ५५ र नेम्बाङको क्षेत्रका ३ जनप्रतिनिधि नयाँ दलमा

पूर्वप्रधानमन्त्री झलनाथ खनालको गृह जिल्ला इलामका ५८ जनप्रतिनिधिले नेकपा (एमाले) त्यागेका छन्। पार्टी त्याग्ने जनप्रतिनिधिमध्ये ५५ जना खनालकै निर्वाचन क्षेत्र (इलाम १)का हुन् भने बाँकी ३ जना संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङको निर्वाचन क्षेत्र (इलाम २)का हुन्।  

लामो समयदेखि खनालनिकट मानिएका उनकै क्षेत्रका जनप्रतिनिधि र जिल्ला नेताले भने खनालको साथ छाडेका छन्। जिल्ला निर्वाचन कार्यालयमा सोमबार ५७ र मंगलबार १ जनाले नयाँ दल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्दै सनाखत गरे। नयाँ दल प्रवेश गर्ने सबैजसो जनप्रतिनिधि एमालेमा रहँदा पनि खनालनिकटकै नेता–कार्यकर्ता मानिन्थे। स्थानीय तह निर्वाचनमा एमालेबाट विजयी जिल्लाका २ सय ८७ जनप्रतिनिधिमध्ये ५८ ले दल त्यागेका हुन्। योसँगै एमाले विभाजनपछि जनप्रतिनिधिले दल रोज्न पाउने अवधि सकिएको छ।

सूर्याेदय नगरपालिकाका प्रमुख रणबहादुर राई, जिल्ला समन्वय समिति उपप्रमुख चित्रकला बराइली, जिसस सदस्य पूर्णबहादुर बस्नेत र माइजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राईले नयाँ दलमा सनाखत गरे। सूर्याेदय नगरका ९ वडाध्यक्ष, ४ कार्यपालिका सदस्य र २९ वडा सदस्यले नयाँ दल रोजे। माईजोगमाईका १ वडाध्यक्ष, ७ वडा सदस्य तथा इलाम, देउमाई, सन्दकपुर र रोङका १÷१ वडा सदस्यले नयाँ दल छानेका छन्। यीमध्ये माङ्सेबुङबाट वडा सदस्यमा विजयी जिसस सदस्य बस्नेत तथा इलाम र देउमाई नगरका सदस्य चाहिँ नेम्बाङको निर्वाचन क्षेत्रका हुन्।  

खनालको निर्वाचन क्षेत्रमा सूर्याेदय, माई नगरको केही भाग तथा सन्दकपुर, रोङ र माइजोगमाई गाउँपालिका पर्छन्। यीमध्ये ४ स्थानीय तहमा खनालनिकट नेतृत्व थियो। तर, खनालनिकट नै मानिएका माई नगरपालिकाका मेयर दीपककुमार थेबे, सन्दकपुर गाउँपालिका अध्यक्ष उदयबहादुर राई र उपाध्यक्ष शोभा पराजुलीले उनको साथ छाडेका छन्। थेबे र पराजुली सर्वाेच्चको फैसलाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट एमाले र नेकपा (माओवादी) केन्द्र अलग बनाएपछि नै ओलीनिकट भएर खुलेका थिए।

अध्यक्ष राईले पनि अहिले एमाले नै रोजे। र, स्थानीय तह निर्वाचनमा सन्दकपुर गाउँपालिकाका ५ वटा वडामध्ये ४ वटामा वडाध्यक्षसहित प्यानल नै तथा बाँकी वडाका पनि ३ सदस्य आफैंले जितेको एमालेका १ वडा सदस्यबाहेक अरूले एमाले छाडेनन्। सन्दकपुर र माई नगरका केही वडाध्यक्ष र सदस्यले पनि खनालको साथ छाडेर एमाले नै रोजेका छन्।  

खनालनिकट मानिएका प्रदेश सांसद काजीमान कागते १ नम्बर प्रदेशको मुख्यमन्त्रीमा शेरधन राईलाई निर्वाचित गर्नेबेला कित्ता परिवर्तन गरी ओलीनिकट भएको चर्चा थियो। उनी अहिले एमालेमै छन्। कागतेले खनालकै निर्वाचन क्षेत्रअन्तर्गतको प्रदेशसभा निर्वाचन क्षेत्र(ख)बाट चुनाव जितेका हुन्। खनालकै क्षेत्रको प्रदेशसभा (क)बाट निर्वाचित खिनु लङ्वा लिम्बूले भने उनको साथ छाडिनन्।

खनालनिकट नै मानिने जिल्ला नेता कृष्णप्रसाद श्रेष्ठले एमाले–माओवादी छुट्टिएकै बेला खनालको साथ छाडेका थिए। खनालनजिकका एमाले जिल्ला कमिटी उपाध्यक्ष भक्त केसी पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध आन्दोलित भए। उनकै अध्यक्षतामा जिल्लामा एमालेको समानान्तर कमिटी बन्यो। उनी अहिले पनि खनालसँगै छन्।  

एमाले विभाजन भएपछि इलाममा जिल्ला कमिटी अध्यक्ष तथा प्रदेश सांसद रामबहादुर राना, राष्ट्रियसभा सदस्य अगमप्रसाद बान्तवा, प्रतिनिधिसभा सदस्य तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ र जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बराल एमालेमा छन्।

स्थानीय तह निर्वाचनमा एमालेले ७ पालिकाका प्रमुख र ९ उपप्रमुख जितेको थियो। तीमध्ये ५ पालिकाका प्रमुख तथा ९ वटै पालिकाका उपप्रमुख एमालेमा रहे। जिल्लाका ८१ वडामध्ये ४४ मा एकल प्यानल र ३ मा मिश्रितसहित ४७ वडाध्यक्ष जितेको एमालेका ३७ वडाध्यक्ष नेकपा (एमाले)मा रहे भने १० वडाध्यक्षले नेकपा (एस) रोजेका छन्।

प्रकाशित: २२ भाद्र २०७८ १४:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App