८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेस वडा अधिवेशन : बाजेहरु गए, नातीहरु आए!

कांग्रेसको वडाध्यक्षमा निर्वाचित महेश अधिकारी, राजदेश राई, रमेश खड्का र टेकमान मगर। तस्बिर : नागरिक

खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेमा नेपाली कांग्रेसका ८० वर्ष हाराहारीका वडा सभापति थिए। लट्ठीको साहरामा हिँड्डुल गर्ने वडा सभापतिबाट कांग्रेसको संगठन चल्दै आएको थियो। तर, कांग्रेसको आसन्न १४ औं महाधिवेशन लक्षित वडा अधिवेशनका क्रममा त्यस ठाउँमा नाती खालका धनीराम राई वडा सभापतिका रुपमा चुनिएका छन्। 

यस्तै, हालसम्म ६० वर्ष पार गरेका वडा सभापति रहेको ऐसेलुखर्क गाउँपालिका–७ माक्पामा युवा नेता विकास राईले स्थान लिएका छन्। ऐसेलुखर्क गाउँपालिका–५ जलेश्वरीको वडा सभापतिको कुर्सीमा पनि निवर्तमान सभापतिभन्दा १०/१५ वर्ष कान्छा युवा आएका छन्। शुक्रबार सम्पन्न अधिवेशनबाट ७ वडा रहेको ऐसेलुखर्क गाउँपालिकाका अधिकांश वडामा ३० देखि ४० वर्षका उमेर समूहका युवाले वडा सभापतिको कुर्सी सम्हाल्ने अवसर पाएका छन्।  

यस्तै, रावबेँसी गाउँपालिका–६ हौंचुरमा २९ वर्षीय बिष्णुकुमार राई सर्वसम्मत वडा सभापति चुनिएका छन्। ६ वडा रहेको रावाबेँसी गाउँपालिकाका सवै वडामा ४० वर्षमुनिका युवाले वडा सभापतिको जिम्मेवारी पाएका छन्। धेरैजसो वडामा कांग्रेसको वडा सभापतिबाट बाजे पुस्ताले पार पाएको जन्तेढुंगा गाउँपालिका उपसभापति बाजिन्द्र बिष्ट बताउँछन्। ‘हालसम्म कम्तीमा ६० वर्ष कटेकाहरु र बुढेसकाल लागेकाहरु वडा सभापथि हुनुहुन्थ्यो,’ बिष्टले भने, ‘उहाँहरुको स–सम्मान विदाई गर्दै युवा युस्ता आएको छ। राजनीतिमा भएको यो पुस्तान्तरणले युवामा आशा जगाएको छ।’  

कांग्रेसका अनुसार हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा महेश अधिकारी, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा कुबेर राई, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा प्रकाश राई, केपिलासगढी गाउँपालिका–१ फेदीमा निरकुमार राई, केपिलासगढी गाउँपालिका–६ दिप्सुङमा सविन राई, जन्तेढुंगा गाउँपालिका–१ दिप्लुङमा सागर राई लगायतका युवाले वडा सभापतिको जिम्मेवारी पाएका छन्। 

यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुमा तुलस राई, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेमा राजदेश राई, दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीमा रमेश खड्का, दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मामा निरेश राई, खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीमा उमेश राई, खोटेहाङ गाउँपालिका–३ सावाकटहरेमा जेफर राई, खोटेहाङ गाउँपालिका–४ बड्कादियालेमा देवेन्द्र खनाल, खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा टेकमान मगर लगायतका युवा कांग्रेसका वडा सभापतिको रुपमा उदाएका छन्। युवा वडा सभापतिलाई बाबु र बाजे खालका अग्रजले ‘अझ राम्रो पार्टी चलाउन’ भन्दै उत्तराधिकारी सुम्पिएका छन्।  

कांग्रेसलाई ‘बुढाहरुको पार्टी’ भनेर आलोचना गर्ने गरिएको छ। नेतृत्वमा पुगेर पछिल्लो पुस्तालाई अघि जान नदिने र बाटो छेकिरहने समस्या कांग्रेसको केन्द्रदेखि वडा समितिसम्मै छ। अवशर नपाउँदा कतिपय युवा राजनीतिबाट पलायन भइरहेका छन्। तर, यसपल्टको अधिवेशनले दुई नगरपालिका, आठ गाउँपालिका र ७९ वडा रहेको जिल्लामा वडा कार्य समितिमा ६० प्रतिशत युवाको उपस्थिति गराएको कांग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशीले बताए। पहिला एभरेजमा ६० वर्षका नेता वडाको नेतृत्वमा थिए भने यसपल्ट ४० देखि ५० वर्ष उमेर समूहका नेता वडाको नेतृत्वमा आएका छन्। 

‘यस अधिवेशनले वडाको नेतृत्वमा युवाको बलियो उपस्थिति देखाएको छ। करिब ६० प्रतिशत युवाले प्रतिनिधित्व गर्ने अवशर मिलेको छ,’ सचिव जोशीले भने, ‘युवाको यो उपस्थितिले पार्टीलाई निश्चितरुपमा एउटा गति दिने अपेक्षा गर्न सकिन्छ।’  

वडा सभापतिमा निर्वाचितमध्ये बतासेका राजदेस मतदानका माध्यमबाट चुनिएका हुन्। वडाका पार्टीको संगठन विस्तार गर्ने, पार्टीलाई मजबुद बनाएर स्थानीय तहको निर्वाचनमा आफ्नो उम्मेद्वारलाई बिजयी बनाउनेगरी काम गर्ने वडा सभापति राजदेशले बताए।

‘मतदानमा हारजित हुन्छ। हामी कोही कसैले यसलाई जितेको वा हारेको ठान्नु हुँदैन। यो लोकतन्त्रको सुन्दर पक्ष हो। त्यसैले यसलाई ठूलो रुप नलिऔं,’ वडा सभापतिमा विजयी भएपछि उनले लेखेका छन्, ‘अब आउनुस् सबै साथीहरु मनमुटाव नगरी बतासेको बिकास गर्नमा लागि परौंँ।’

प्रकाशित: २० भाद्र २०७८ १५:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App