८ वैशाख २०८१ शनिबार
राजनीति

राजनीतिमा युवा पुस्ताको प्रवेशः १९ वर्षीया किशोरी वडा सभापतिमा निर्वाचित

कांग्रेस महाधिवेशन

दैलेखकी १९ वर्षीया स्वस्तीका महत, अछामकी २२ वर्षीया जानकी रावलजस्तै धेरै युवाहरु कांग्रेसको जारी १४ औं महाधिवेशनबाट वडा तहको नेतृत्वमा आएका छन्। राजनीतिमा युवाहरुको प्रवेशले कांग्रेसमा नयाँ आशाको सञ्चार गरेको छ।

दैलेखको दुल्लू नगरपालिका–३ कि स्वस्तीका महत भखर १९ वर्ष लागिन्। स्वास्थ्यकर्मी बनेर जनताको सेवा गर्ने सोच बनाएकी महत कांग्रेसको १४ औं महाधिवेशनबाट वडा सभापतिमा निर्वाचित भएकी छन्। महत राजनीतिक वातावरणमै हुर्किइन्। बुवा भूपेन्द्रजंग महत कांग्रेस दैलेखको उपसभापति थिए। दुई वर्षअघि उनको मृत्यु भएको थियो।

‘बुवा पार्टी उपसभापति हुनुहुन्थ्यो, राजनीतिबाट समाज परिवर्तन गर्ने लक्ष्य उहाँको थियो,’ वडा सभापतिमा विजयी भएपछि स्वस्तीकाले भनिन्, ‘बुबाको सपना पूरा गर्नका लागि स्वास्थ्यकर्मीको बाटो छोडेर राजनीतिमा होमिएकी हुँ।’ स्वस्तीकाले पछिल्ला दुई वर्ष राजनीतिकलाई नजिकबाट बुझ्न पाइन्। नेपालगञ्ज टेक्निकल कलेजबाट एचएको पढाई सकेलगत्तै कोरोना संक्रमण सुरु भयो। उनी गाउँ फर्किइन्। ‘सबैको मूल नीति राजनीति हो भन्ने बुझ्न पाएँ,’ उनले भनिन्, ‘त्यसैले राजनीतिमार्फत समाज रुपान्तरण गर्नका लागि समाज र देशको सेवा गर्ने निर्णय लिएकी हुँ।’

स्वस्तीका वडा सभापतिमा निर्वाचित हुँदा जति खुसी छिन्, त्यतिनै जिम्मेवारीले थिचिएको महसुस गरेकी छिन्। ‘मलाई विश्वास गरेर पार्टी र वडामा क्रियाशील सदस्यहरुले सर्वसम्मत वडा सभापतिमा विजयी गराउनु भएको छ,’ उनले भनिन्, ‘यो विश्वास र भरोसालाई मर्न नदिनका लागि दिन–रात खटिने बाचा पनि गर्दछु।’ पार्टी राजनीतिसँगै उनले पढाईलाई पनि निरन्तरता दिने बताएकी छिन्।  

‘राजनीति उत्कृष्ट समाज सेवा हो,’ उनले भनिन्, ‘समाज सेवासँगै आफ्नो पढाईलाई पनि निरन्तरता दिन्छु।’ अब नजिकै स्थानीय तहको निर्वाचन पनि आउँदैछ। उनले अबको ध्यान स्थानीय तहमा पार्टीलाई कसरी मजबूत बनाउने भन्नेमा केन्द्रित हुने बताइन्। ‘राजनीतिप्रति युवा पुस्ताको वितृष्णा छ, त्यसलाई चिर्दै युवा पुस्ताको आकर्षकको पार्टी बनाउन गाउँ तहदेखिनै सक्रिय भएर लाग्नुपर्ने अवस्था छ,’ उनले भनिन्, ‘मेरो वडा, पालिका र जिल्लामा युवा पुस्तालाई राजनीतिमा आकर्षित गर्नका लागि सक्दो भूमिका खेल्छु।’ स्वस्तीकाको वडामा कांग्रेसका १३३ जना क्रियाशील सदस्य छन्। उनको टीममा अधिकांस युवा पुस्ता छन्। ३६ वर्षका भरम साउँद उपसभापति निर्वाचित भएका छन्। २८ वर्षका लोकेन्द्र महत सचिव निर्वाचित भएका छन्।

अछाम जिल्लाकी जानकी रावल (भण्डारी) पनि मंगलसेन नगरपालिका–११ बाट वडा सभापतिमा निर्वाचित भएकी छन्। २२ वर्षीया भण्डारी जिल्लाकै पहिलो महिला वडा सभापति पनि हुन्। उनी पढाई र राजनीतिलाई सँगसँगै लिने सोचमा छिन्। अन्नपूर्णा कैलाश बहुमुखी क्याम्पसमा अध्ययन गर्दै गरेकी भण्डारीले राजनीतिमार्फत समाज सेवा गर्ने बताइन्। ‘अरुलाई दोष दिनुभन्दा आफै राजनीतिमा अग्रसर भएर केही परिवर्तन गर्न सकिन्छ भन्ने मेरो सोच छ,’ उनले भनिन्, ‘त्यसैले वडा सभापतिमा इच्छा व्यक्त गरेको थिएँ, सर्वसम्मत निर्वाचित पनि भएँ।’

स्वस्तीका र जानकीजस्तै नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा वडा तहको नेतृत्वमा धेरै युवाहरुले स्थान पाएका छन्। ‘बुढाहरुको पार्टी’को आरोप लाग्दै आएको कांग्रेसमा नयाँ पुस्ताको प्रवेशले आशाको सञ्चार गरेको छ।  

दुल्लू नगरपालिका–५ का सरोज रिजाल पनि वडा सभापतिमा निर्वाचित भएका छन्। ३१ वर्षीय सरोज विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा आएका हुन्। ‘राजनीतिमार्फत समाज परिवर्तन गर्ने उद्देश्य मेरो हो,’ उनले भने, ‘त्यसैले पेशा–व्यवसाय छोडेर सक्रिय राजनीतिमा होमिएको हुँ।’ अहिलेको समाजमा युवा भन्ने वित्तिकै ‘उच्छृङ्खल’ र ‘उदण्ड’ को आरोप लाग्ने गरेको छ। उनी युवाहरु समाज परिवर्तनका संवाहक हुन् भन्ने उदाहरण पेश गर्न चाहन्छन्। ‘समाज परिवर्तनका लागि युवाहरुको भूमिका महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘अग्रजहरुको अनुभवलाई समेट्दै सभ्य र समुन्नत समाज निर्माणका लागि आफ्नो क्षेत्रबाट योगदान दिन्छु।’

दुल्लू नगरपालिका–१० बाट ३१ वर्षीय दीपेन्द्र पुरी कांग्रेसको वडा सभापतिमा निर्वाचित भएका छन्। २०६१ सालमा नेपाल विद्यार्थी संघको जिल्ला सदस्य रहेका उनले यसै वर्ष पार्टीको क्रियाशिल सदस्यता प्राप्त गरेका थिए। उनको ध्यान अव हुने स्थानीय तहको निर्वाचनमा पार्टीलाई कसरी अघि बढाउने भन्नेमा छ। ‘सभापतिको प्रतिष्पर्धामा मेरा अग्रज पनि हुनुहुन्थ्यो, पार्टीलाई वडामा मजबुत बनाउनका लागि मेरो नाममा सर्वसम्मत निर्णय भयो,’ उनले भने, ‘यो विश्वास र भरोसालाई आगामी चुनावमा परिणामसहित देखाउने चुनौति मेरा सामुन्ने आएको छ।’ उनले युवाहरुलाई कांग्रेसप्रति आकर्षण बनाउने लक्ष्य आफ्नो भएको बताए।

प्रकाशित: १९ भाद्र २०७८ ०७:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App