८ वैशाख २०८१ शनिबार
राजनीति

जसपा–लोसपा मधेस मन्थन

लोसपामा सनाखत गर्दै प्रदेशसभा सदस्य प्रहलाद गिरी। तस्बिर: नागरिक

जनता समाजवादी पार्टी (जसपा) बाट महन्थ ठाकुर समूह अलग्गिएर लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) गठन गरेपछि दुबै दल मधेसभित्र आफ्नो जनाधार मन्थनमा व्यस्त बनेका छन्। दुबै दलले आफ्नो पार्टी बलियो पार्न कोर मधेस अर्थात प्रदेश २ लाई नै केन्द्रित गरेका छन्।

लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका नेता बुद्यबार प्रदेश २ को अस्थायी मुकाम जनकपुरधाममा अवतरित भए। बिहीबार जसपा अध्यक्ष उपेन्द्र यादव पनि जनकपुरमा अवतरित भएका छन्। प्रदेशसभा सदस्यदेखि वडास्तरीय नेतालाई आफूतिर तान्न लोसपाको नीति बिफल पार्न जसपा अध्यक्ष जनकपुरधाममा डेरा जमाएको जसपाका एक नेताले बताए।  

प्रदेश २ मात्र नभई प्रदेश १ मा समेत जसपाको पकड लोसपाभन्दा बलियो छ। प्रदेश १ को प्रदेशसभामा जसपाको एक निर्वाचित र दुई सामानुपातिक गरी तीन सदस्य छन्। तीनैजना जसपामा अडिग छन्। जसपा संसदीय दलका नेता जयराम यादव भन्छन्,‘प्रदेश १ मा सांसददेखि वडा अध्यक्ष र सदस्यसमेत जसपामै अडिग छन्। यस प्रदेशमा कोहि पनि हल्लिनेबाला छैन, उनले भने।’

जसपा आफुलाई राष्ट्रिय दलको परिचय दिएपनि उनको तागत भनेको मधेस अर्थात प्रदेश २ नै हो। यस प्रदेशमा पनि उनी बलिया छन्।  प्रदेश २ को प्रदेशसभामा पूर्वसंघीय समाजवादीको ३० र राजपाको २५ गरी ५५ जना प्रदेश सांसद छन्। दुबै दलबीच एकिकरणपछि गठित जसपाको  प्रदेशसभामा ५५ जना सदस्य थिए। जसपाबाट महन्थ ठाकुर समूह छुट्टिएर लोसपा बनेपछि ठाकुर समूहमा सदस्य घटेको छ। जसपाले ठाकुर समूहका १० जनाभन्दा बढी सदस्य आफ्नो पार्टीमै रहेको बताउँदै आएका छन्। यत्ता, लोसपा अध्यक्ष ठाकुरले आफ्ना पूर्व सदस्यलाई आफ्नै समूहमा फर्काउन भरपूर कसरत गरिरहेको छ।

आफ्नो पक्षमा बढीभन्दा बढी प्रदेश सांसद तान्न लोसपाको दाउ छ भने यस दाउलाई असफल पार्न जसपाले कसरत तेज पारेको छ। अहिले जनप्रतिनिधि तान्ने र रोक्ने खेलमा लोसपा अध्यक्ष ठाकुर र जसपा अध्यक्ष यादव लागिपरेका छन। दुवै दलका केन्द्रीय अध्यक्षसहितका नेता भदौ २२ गतेसम्म जनकपुरमै रहनेछन्।

लोसपाको मुख्य नीति बढीभन्दा बढी प्रदेशसभा सदस्यलाई लोसपामा सनाखत गराउने रहेको एक नेताले बताए। बढीभन्दा बढी सांसद र स्थानीय तहका जनप्रतिनिधि आफ्नो पार्टीमा तान्नका लागि लोसपाले सम्पूर्ण शक्ति प्रदेश २ मा झोंकेको ती नेताले बताए। जसको प्रतिफल बिहीबार प्रहलाद गिरी र डिम्पल झाले सनाखत गरेपछि लोसपाको पक्षमा १२ जना प्रदेशसभा सदस्य पुगेको छ।

प्रकाशित: १८ भाद्र २०७८ ०५:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App