१६ चैत्र २०८० शुक्रबार
राजनीति

अन्योलबीच कांग्रेस अधिवेशन आजबाट

अन्योलका बीच नेपाली कांग्रेसको १४औं महाधिवेशन प्रक्रिया सुरु भएको छ। २१ जिल्लामा क्रियाशील सदस्यता विवाद कायमै रहे पनि कांग्रेसले विवाद टुंगो लागेका जिल्लामा पूर्वनिर्धारित कार्यतालिकाअनुसार शुक्रबार वडा अधिवेशन सुरु गर्न लागेको हो।  

सदस्यता विवाद टुंगो लागेका ५६ जिल्लामा कांग्रेस केन्द्रीय निर्वाचन समितिले जिल्ला प्रतिनिधि खटाउँदै वडा तहको अधिवेशनको तयारी गरेको छ। शुक्रबार ४० भन्दा बढी जिल्लामा वडा अधिवेशन सुरु हुने केन्द्रीय निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन्। सदस्यता टुंगो लागेका धादिङ, नुवाकोट, चितवनसहितका जिल्लामा केन्द्रीय प्रतिनिधिहरूसँगको परामर्शमा वडा तहको अधिवेशनको कार्यतालिका संशोधन गरेको जानकारी दिँदै घिमिरेले भने, ‘कांग्रेसको १४औं महाधिवेशनको औपचारिक प्रक्रिया सुरु भयो। सदस्यता टुंगो लागेका सबै जिल्ला वडा तहसहित अन्य तहको अधिवेशनको तयारीमा जुटिसकेका छन् ।’

पछिल्लो पटक सार्वजनिक गरिएको कार्यतालिकाअनुसार कांग्रेसले शुक्रबार एकै पटक सबै वडाको अधिवेशन गर्ने निर्णय गरेको थियो। तर सदस्यता विवाद समाधानमा समस्या देखिएपछि केन्द्रीय निर्वाचन समितिले जिल्ला कार्यसमितिसँगको समन्वयमा केन्द्रीय प्रतिनिधिलाई वडाको अधिवेशनको मिति केही हेरफेर गर्नसक्ने अधिकार प्रत्यायोजन गरेको छ। क्रियाशील सदस्यता छानबिन समितिले बिहीबारसम्म ५६ जिल्लाको मात्र विवाद सुल्झाउँदै निर्वाचन समितिलाई सूचि उपलब्ध गराएको छ। प्रदेश नम्बर २का सबैसहित २१ जिल्लाको सदस्यता विवाद अझै सुल्झेको छैन ।

तयारी आआफ्नै तर एउटै उम्मेदवारी दिने प्रतिबद्धता  

संस्थापन इतरका नेताहरूले १४औं महाधिवेशनमा सहमतिमै सभापतिमा एकजनाले मात्रै उम्मेदवारी दिने दाबी गरेका छन्। वडा अधिवेशन सुरु हुने अघिल्लो दिनसम्म सभापतिमा साझा उम्मेदवार तय गर्ने प्रयास असफल भएपछि बिहीबार उनीहरूले पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै सभापतिमा एकजनाले मात्रै उम्मेदवारी दिने दाबी गरेका हुन्। 

संस्थापन इतर समूहबाट सभापतिका आकांक्षी नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू शेखर कोइराला, सुजाता कोइराला, अर्जुननरसिंह केसी एकै ठाउँमा उपस्थित भएर एकताको सन्देश दिने प्रयास गरेका छन्। सभापतिका सबै आकांक्षीले आआफ्नो दाबीलाई यथावत् कायम राखेका बेला नेता पौडेलले पत्रकार सम्मेलनमा भने, ‘सभापतिमा एकजनाले मात्रै उम्मेदवार दिन्छौं। को उठ्ने, छलफल गरेर पछि नै तय हुन्छ। कुनै खटपट नगरी एक भएर अगाडि बढ्छौं ।’

१३ औं महाधिवेशनदेखि आफ्नो पक्षमा रहेका नेताहरू संगठित नै रहने र कुनै आँच आउन नदिने बताउँदै पौडेलले सभापतिलगायत अन्य सबै पदमा छलफलबाटै उम्मेदवार तय गरिने दाबी गरे। ‘हामी कसले के पदमा उम्मेदवारी दिने भन्ने सामूहिक निर्णयबाट टुंग्याउँछौं,’ पौडेलले भने, ‘पार्टीलाई सुधार गर्नेहरू संगठित हुँदै आएका छौं। हामी १४औं महाधिवेशनको अन्तिम अवस्थासम्म पनि एकताबद्ध रहन्छौं। हामीबीच कुनै पनि किसिमको आँच आउँदैन। हामी देशभरिका साथीहरूलाई यो सन्देश दिन चाहन्छौं ।’ त्यसअघि बिहान नेता पौडेलले भिडियो सन्देशमार्फत पार्टीका नेता तथा कार्यकर्तालाई सही निर्णय लिन आह्वान गरेका थिए।

 पार्टीका दोस्रो पुस्ताका नेताहरूले नेतृत्व दाबी गर्दै आएपछि आफ्नै समूहबाट अप्ठेरोमा परेका पौडेलले कसैको दबाब र प्रभावमा नपरी आत्माको पुकार सुनेर निर्णय लिन आग्रह गरेका थिए। संविधान र लोकतन्त्र रक्षाका लागि लोकतन्त्रप्रति निष्ठा भएको सबल नेतृत्व आवश्यक रहेको औल्याउँदै पौडेलले आफ्नो निजी कुरा बिर्सन आग्रह गरेका थिए। पौडेल सभापतिका अन्य आकांक्षीलाई विभिन्न पदमा समेटेर आफू सभापतिको प्रत्याशी बन्न चाहन्छन्। शेखर कोइरालासहितका अन्य आकांक्षीले भने पौडेललाई अभिभावक भएर पार्टीमा बस्न आग्रह गर्दै नेतृत्वमा आआफ्नो दाबी प्रस्तुत गरेका छन् ।

संस्थापन पक्षबाट सभापति देउवाले फेरि नेतृत्वको प्रतिस्पर्धामा उत्रिने बताइसकेका छन् भने उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गर्दै सम्पर्क कार्यालय स्थापना गरिसकेका छन्। त्यस्तै पूर्व उपसभापति गोपालमान श्रेष्ठ र नेता कल्यण गुरुङले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। १३औं महाधिवेशनमा सभापतिको प्रत्याशी बनेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले १४औं महाधिवेशनमा आफ्नो भूमिका अहिलेसम्म खुलाएका छैनन्। सिटौलाको समूहबाट महामन्त्रीमा प्रत्याशी बनेका गगनकुमार थापाले आगामी महाधिवेशनमा पनि महामन्त्रीको प्रत्याशी बन्ने घोषणा गरेका छन्। सिटौला समूह छाडेको सन्देश दिँदै थापा बिहीबार संस्थापन इतर समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित भएका थिए ।

प्रकाशित: १८ भाद्र २०७८ ०४:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App