८ वैशाख २०८१ शनिबार
राजनीति

कार्यकर्ता तान्न ओली–नेपाल होडबाजी

पार्टी विभाजनपछि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेता–कार्यकर्ता आफूतिर तान्न होडबाजी गरिरहेका छन्। एमाले अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयनमा लैजाने र पार्टी संगठनका खाली पदमा विगतमा नेपाल समूहमा लागेका तर हाल एमालेमै रहेका नेता–कार्यकर्तालाई स्थान दिने बताइरहेका छन् भने नेपालले एमालेमा रहँदा अन्यायमात्रै हुने भएकाले नवगठित नेकपा एस मा आउन आग्रह गरिरहेका छन्।  

ओलीले केन्द्रीय समितिमा रिक्त ५५ सदस्यमा तत्कालीन वरिष्ठ नेता नेपाल पक्षका नेताहरूमध्येबाटै राख्ने भएका छन्। २०७५ जेठ २ अघिको २०३ सदस्यीय केन्द्रीय कमिटीका ५५ जना नेकपा एस मा लागेपछि ती पद रिक्त भएका हुन्। खाली स्थानमा विगतमा नेपाल खेमामा रहेका नेताहरूलाई मनोनयन गरिने भएपछि धेरै नेता नेकपा एस मा नजाने आकलन गरिएको छ। रिक्त ५५ केन्द्रीय सदस्यको सिफारिस नेपाललाई छाडेर एमालेमा रहेका १० स्थायी कमिटी सदस्यले गर्नेछन्। ‘पार्टीमा आएको समस्या हल गर्ने सम्बन्धमा सबै नेता लागेका छन्, समस्या हुँदैन। अहिलेको अवस्थामा रिक्त पदमा कसरी मनोनयन गर्ने भन्ने सम्बन्धमा छलफल जारी छ’, एमाले स्रोतले भन्यो।  

केन्द्रीय समितिमा ५५ सदस्य सिफारिस गर्ने जिम्मेवारी उपाध्यक्ष भीम रावल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पाएका छन्। उनीहरूले देशभरका नेता–कार्यकर्तासँग छलफलपछि सिफारिस गर्ने भएका छन्। एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार रिक्त सदस्य र १० बुँदे सहमतिअनुसार केन्द्रीय कमिटीमा मनोनयन गरिने १० प्रतिशत सदस्यको टुंगो विधान अधिवेशनअघि नै लगाइनेछ। ‘प्रक्रिया अघि बढिसकेको छ, केही दिनमै टुंगो लाग्छ’, तामाङले भने, ‘विधान अधिवेशनअघि रिक्त ५५ र मनोनयनमा पर्ने २० पदमा गरी ७५ जनालाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने तयारी छ।’ उनका अनुसार निर्वाचन आयोगले दल रोज्न दिएको समय सकिएपछि मनोनयनले पूर्णता पाउनेछ।  

एमाले सम्बद्ध अर्को स्रोतका अनुसार नेकपा एस तिर नेता–कार्यकर्ता नजाऊन् भन्नका लागि अहिलेसम्म सबैलाई सम्पर्क गरेर पार्टीमा उचित जिम्मेवारी दिने तयारी थालिएको छ। नेकपा एस का अध्यक्ष नेपालले पनि एमालेमा छँदा आफू निकट नेतालाई नयाँ पार्टीमा आउन र जिम्मेवारी सुनिश्चित गर्ने वचन दिएका छन्।  

उनले अहिलेको सत्ता गठबन्धन निर्वाचनसम्म नै कायम रहने भएकाले नेकपा एस मा आउने नेतालाई निर्वाचनमा जिताउने आश्वासनसमेत दिएको स्रोतको दाबी छ। प्रदेशसभाका सदस्यहरूले नेकपा एस रोज्ने क्रम जारी छ। स्थानीय तहमा भने कति प्रतिनिधिले पार्टी परिवर्तन गरे भन्ने कुनै तथ्यांक आइसकेको छैन। बिहीबारसम्म गण्डकीबाहेक ६ वटा प्रदेशका ४७ जना सांसदले नेकपा एस रोजेका छन्। सबैभन्दा बढी वाग्मती प्रदेशमा १२ सांसदले नेकपा एस रोजेका छन्। वाग्मती प्रदेशसभामा एमालेका ५६ सांसदमध्ये १२ जना नेकपा एस मा लागेका छन्। प्रदेश २ मा शत्रुधन महतोसहितका ११ सांसदले नेपाल नेतृत्वको नेकपा एस रोजेका छन्।

सुदूरपश्चिम प्रदेशसभामा एमालेका २४ सांसद निर्वाचित थिए। तीमध्ये १० जना नेकपा एस मा लागेका छन्। प्रदेश १ का पनि १० सांसद नेकपा एस मा गएका छन्। कर्णाली प्रदेशका तीनजना नेकपा एसमा गएका छन्। कर्णाली प्रदेशमा एमालेका २० सांसद निर्वाचित थिए। लुम्बिनी प्रदेशमा भने एमालेकी एक महिला सांसदले मात्रै नेकपा एस रोजेकी छन्। उपसभामुख रमा घर्तीमगर नेकपा एसमा प्रवेश गरेकी हुन्। 

नेकपा एसले प्रदेशबाट अन्य सांसद पनि आफूतिर आउने दाबी गरेको छ। उसले स्थानीय तहमा निर्वाचित धेरैजसो प्रतिनिधि र नेता–कार्यकर्ता पनि आफूतिर आउने दाबी लिएको छ। नेकपा एस हाइकमान्डका सदस्य वेदुराम भुसालले भने, ‘२२ गतेपछि हाम्रो पार्टीमा धेरै जनप्रतिनिधि र नेता–कार्यकर्ता आउनेछन्। एमाले उच्च तहका नेताहरू पनि हाम्रो पार्टीमा प्रवेश गर्नेछन्।’

अहिले दुवै पार्टीको ध्यान स्थानीय तहका जनप्रतिनिधितर्फ मोडिएको छ। निर्वाचन आयोगले दल छान्न दिएको २१ दिनको समय सकिन लाग्दा जिल्ला तहमा रहेका नेता–कार्यकर्ता र जनप्रतिनिधिलाई फकाउन दुवैतिरका केन्द्रीय नेता परिचालित छन्। ओलीले पार्टीबाट नेता–कार्यकर्ता र जनप्रतिनिधिलाई नेकपा एसमा जानबाट रोक्न र नेपालले एमालेबाट आफूतिर तान्न केन्द्रीय नेतालाई परिचालन गरेका हुन्। 

एमालेले स्थानीय तहमा दुई महानगरपालिका, ७ उपमहानगरपालिकासहित १२३ नगरपालिकामा प्रमुख जितेको छ। त्यस्तै, उसले १७१ गाउँपालिकामा अध्यक्ष जितेको छ। एमालेले ७५३ स्थानीय तहमध्ये ३३१ ठाउँमा उपाध्यक्ष जितेको छ। उसले २५६० वडामा अध्यक्ष जितेको छ।

प्रकाशित: १८ भाद्र २०७८ ००:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App